गुल्मीको धुर्कोट दरबारमा ऐतिहासिक संग्राहलय निर्माण गरिएको छ । पुर्खाहरुले जिवनकोपार्जनका लागि प्रयोग गर्ने सामग्रीसहितको संग्राहलय निर्माण गरिएको हो । संग्राहलयको आइतबार गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले उद्घाटन गरे ।
संग्राहलयमा एक सयभन्दा बढी ऐतिहासिक सामग्रीहरु राखिएको छ । जसमा मदाने, ठेकी, माटाका खुत्रीकी, हलो, जुवाँ, कोदालो, फरुवा, जोतारा लगायतका सामग्रीहरु राखिएका छन् । त्यसैगरी डोको, नाम्लो, विभिन्न मूर्तिहरु, काठ तथा फलामबाट बनेका विभिन्न सामग्रीहरु पनि संग्राहलयमा सुरक्षित गरिएको छ ।
धुर्कोटका साथसाथै विभिन्न ठाउँबाट उक्त सामग्रीहरु संकलन गरि संग्राहलयमा राखिएको हो । धुर्कोट गाउँपालिका ०७६ सालबाट धुर्कोट कोट नजिकैको जग्गा खरिद गरी संग्राहलय र मन्दिर निर्माणको काम अगाडी बढाएको थियो ।
हाल मन्दिर र संग्राहलयको निर्माण सम्पन्न भई अवलोनका लागि खुल्ला गरिएको हो । संग्राहलयमा ऐतिहासिक सामग्रीहरु राखी अवलोकन गर्ने ठाउँ समेत निर्माण गरिएको छ । अहिलेका पुस्ताले पुराना बस्तुहरु, चालचलन एवं रितिरिवाज बिर्सदै गएकोले त्यस्ता बिषयलाई सुरक्षित गर्नको लागि संग्राहलयको निर्माण गरिएको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताए ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष सीता गिरीले संग्राहलयमार्फत पर्यटक आकर्षित गरी स्थानीय जिवनस्तर उकास्ने सम्भावना रहेको बताइन् । संग्राहलय अवलोकनको लागि विद्यार्थी र फरक क्षमता भएका व्यक्तिलाई १० एवं अन्य व्यक्तिहरुलाई २० रुपैँया शुल्क तोकिएको गाउँपालिकाका वास शाखा संयोजक छविलाल विश्वकर्माले जानकारी दिए ।
संग्राहलयभित्र २०७४ र ७९ सालमा निर्वाचित जनप्रतिनिधिहरु, संग्राहलय निर्माण समितिका नामावली उल्लेख गर्नुका साथै धुर्कोट र अन्य ठाउँका मुख्य पर्यटकीय स्थलको भित्तेचित्र गरी संग्राहलयलाई आकर्षित गरिएको छ ।






