नेपाली जनताहरुले सामाजिक अग्रगमन कछुवा गतिमा होइन खरायोको चालमा खोजि रहेका छन । हरेक समाजका अभियन्ताहरु समय सापेक्ष होउन, धरातलिय यथार्थवादी बनुन र आबश्यक निर्णय परिपक्क बनेर चालुन भन्ने न्यायप्रेमी जनताको माग र चाहना हुन्छ । तर हाम्रो देशको विडम्वना यसमा कतिपय नेपाली नेताहरु खरो उत्रन सकेनन् । सरकार संचालन र पार्टी एकिकरणको काममा ढिलोढालो गरिनु पार्टी र सरकारको काम आपसि परामर्ष र सहमतिका साथ गर्न आवश्यक हो । तर यो गति र लयमा गरिएन । विगतको समिक्षा निष्पक्ष र सत्यताको आधारमा विनापुर्वाग्रह गरिनु आवश्यक हो । यो काम पनि ठीकसंग हुन सकेन । शासकीय काम , विकास र भौतिक निर्माणका काम पनि फटाफट र ठीक गतिमा लैजान नसक्नु असफलता को अशुुुभ संकेत हो ।
पार्टी एकता गरिए पनि अन्तर घुलन हुन नसक्नु र भित्रि मनले एक–आपसमा स्विकार्न नसक्नु विडम्वना नै हो । दश बर्षे जनयुद्धको जगमा २०६२/०६३ को जन आन्दोलनको जनादेशलाई नेपालका तत्कालिन राजनैतिक शक्तिहरुमध्ये कांग्रेस र एमालेले बाध्यताबस व्यवहारमा सहकार्य गर्नपुगे पनि मुखले खुलेरै प्रचारमा जान नसक्नु सत्यतथ्य वोल्न नसक्नु अति नै पुर्वाग्रही चिन्तन र गलत प्रवृत्ति नै हो ।
त्यतिवेलाका प्रखर प्रतिद्वन्दी एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वनेको अवधि लम्मिदै गएको अवस्थामा पनि कतिपय नेता र कार्यकर्ताहरुले सत्यतत्थ र यथार्थ वोल्न सकेका थिएनन् । यो पुर्वाग्रही मानसिकताको कारण तत्कालिन विद्रोही माओवादीको नेतृत्वमा भएको जनयुद्धलाई नेकपाभित्र कतिपय व्यक्ति र प्रवृत्तिले विरोध गर्नु र स्विकार्न नसक्नु यो जायज र उपयुक्त हुदैन ।
वास्तवमा यो इतिहासको महत्वपुर्ण परिघटनालाई अहिलेसम्म पनि सहज र सरस ढंगले स्विकार्न नसकिरहेको अवस्थाको कारण देश अग्रगमनको यात्रामा कसरी अगाडि बढन सक्छ यो विषयलाई सतहि होइन गहिरो गरि समिक्षा गरौ । तर किमार्थ जे महत्वपुर्ण कारणले गणतन्त्र आयो त्यो परिघटनालाई कहिकतै ओझेलमा पार्ने प्रयत्न नगरौ ।
नेपालमा गणतन्त्र ल्याउनमा समग्रतामा जनता नै निर्णायक हुन तथापि राजनैतिक शक्ति र पार्टीहरुको भुमिका र नेतृत्वको भुमिकाको महत्वलाई पनि निर्णायक र प्रमुख मान्नु पर्दछ । राजनैतिक पार्टीहरुको नेतृत्वमा समुचित व्यवस्थापन र जनताको वास्तविक विद्रोहले मात्र कसैले यति छिटो नै नेपालमा परिवर्तन हुन्छ भनेर नसोचेको विषय हो । निरंकुश सामन्ति राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाका लागि संयुक्त रुपमा आन्दोलन सुरु गरेको छिटै अवधिमा गणतन्त्र आउन संभव भएको हो ।
यो ऐतिहासिक र युगिन परिवर्तनको पछाडि मात्रात्मक परिवर्तनका अनेकौ कडिहरु जोडिएका छन, लामो अवधिमा गरिएका विविध राजनैतिक शक्ति र दलहरुको सचेतन प्रयत्न र संघर्षका अनेकौ श्रृङ्खलाहरु रहेका छन । कुनै पनि परिवर्तन हठात र वलपूर्वक मात्र संभव हुदैन । त्यसको पछाडि धेरै आधारहरु विस्तारै वनिरहेको हुनु पर्दछ ।
नेपालको परिवर्तनमा विविध खाले विद्रोहका गाथाहरु जीवन्त इतिहासका पानाहरु वनिरहेका छन । सात सालबाट शुरु भएको विद्रोह र क्रान्ति हरेक जोड कोणबाट हेर्दा करीब छ दशकको लामो यात्रा छिचोल्दै मात्र पूर्ण क्रान्तिमा रुपान्तरित हुन सफल भएको छ ।
लामै संघर्षको इतिहासमा परिवर्तन ल्याउने धेरै पात्रहरु छन र उनीहरुको आ–आफ्नो ठाउमा महत्वपूर्ण योगदान छ भने गणतन्त्र नेपालको स्थापनामा विद्रोही माओवादी पार्टिका अध्यक्ष क. प्रचण्ड तथा सात राजनैतिक दलहरुको तर्फबाट स्व. गिरिजा प्रसाद कोइराला शुशिल कोइरालाको र तत्कालिन नेकपा एमालेका क. माधव नेपाल झलनाथ खनाल र केपी ओली लगायतको ठूलो योगदान रहेको छ । यो ऐतिहासिकतालाई विर्सन हुदैन र क्रान्तिको निम्ति वलिदान दिएकाहरुको समोचित सम्मान गरिनु नै पर्दछ । किनकी उनीहरुले कैयौ खतरा मोलेर देशलाई एउटा महत्वपूर्ण मोडमा पु¥याएकै हुन ।
तर अहिले पछिल्लो घटनाक्रममा यीनै खास नेताहरुका अधिनायकवादी सोच र चिन्तन प्रबृृत्तिका कारण देशलाई दुर्घटनातर्फ लगिएको छ । यिनै राजनीतिक पार्टीहरु र कतिपय दिवंगत शिर्ष नेताहरु र अहिले पनि क्रियाशील शिर्ष नेताहरुको भुमिका कतिपय कमिका बीच महत्वपुर्ण छ । सधै सम्वैधानिक राजतन्त्रलाई वकालत गरि रहेको कांग्रेस विद्रोही माओवादी संग हातेमालो गर्न तम्सिनु यो कुनै गिरिजा कोइरालाको चानचुने निर्णय थिएन यो उनको महत्वपूर्ण वोल्ड डिसिजन नै थियो ।
यस्तै प्रचण्डले शान्ति प्रक्रियामा विद्रोही माओवादी शक्तिलाई ल्याउने डिसिजन पनि वोल्ड डिसिजन नै थियो , यदि त्यतिवेला यी दुइ नेता र थप शिर्ष नेताहरु अर्थात तात्कालिक शिर्ष नेतृत्वले यी महत्वपूर्ण निर्णय गर्दैनथे भने नेपालमा यति छिट्टै संघीय लोकतान्त्रिक गणतन्त्र संभव थिएन ।
संविधान निर्माण भै सकेपछिको पहिलो निर्वाचन भै सकेको र हाल विद्यमान अवस्थामा पनि अहिलेका नेताहरुबाट यस्तै महत्वपूर्ण निर्णय जनताले चाहेका हुन । तर परिवर्तनकारी शक्तिकोे रुपमा नेकपाले र यसको नेतृत्वको सरकारले जनताले दिएको जनादेश अनुरुप काम गर्न सकिरहेको अवस्था बनेन । पार्टी एकताको प्रकृया ठीकसंग जान सकेन कमिटी प्रणाली व्यवस्थित र संगठनात्मक विधि र प्रक्रिया अनुरुप जान सकेन यी सव विषय वस्तुका कारण यो पछिल्लो .संकटापन्न स्थिति आएको छ ।
वर्तमानमा नेकपाभित्र देखापरेको अन्तर्विरोध र पार्टी एकताको काम पनि ठीकसंग जान नसक्नु राजावादीहरु सकृय पारिनु र हुनु यो कुनै राम्रो शुभ संकेत हुन सक्तैन । यसर्थ जन– अपेक्षा विपरित अहिलेको सरकारको काम वर्तमान परिस्थितिमा हेर्दा ठीकसंग जान सकिरहेको छैन । पार्टी गुमराहमा रहनु संगठनात्मक काम अस्तव्यस्त हुनु दुर्भाग्यपुर्ण वन्न गयो ।
राजतन्त्र फाल्नु गणतन्त्र स्थापना गर्नु ठूलो फड्को त हो नै, समाज परिवर्तको महत्वपूर्ण पक्ष पनि हो । तर जनताले र राष्ट्रले खोजेको परिवर्तन रुपको मात्र गणतन्त्र थिएन सारमा पनि परिवर्तनकामी गणतन्त्र खोजेका थिए । यो सवालमा अहिलेका राजनीतिक परिघटनाहरुले लक्ष्यमा पुग्न समाजवादी कार्यदिशा अनुरुप देशलाई अघि बढाउन नसक्ने अवस्था भयो जनस्तरमा चर्चा चलिरहेको विषय हो । गणतन्त्र ल्याउने सबालमा जसरी नेताहरुले विगतमा युगिन ऐतिहासिक भुमिका अदा गरेका छन र सामग्रिक समिक्षा र भुमिकाको वारेमा समिक्षा गर्न जरुरी छ तर यो पछिल्लो घटनाक्रमले धेरै नै नकारात्मक पाठ देखाएको छ ।
अहिले यसबीचमा राष्ट्र चलाउने सुविधाजनक वहुमत पाएको नेकपा यसको नेतृत्वमा बनिरहेको वर्तमान सरकार बेरोकतोक अविरल निर्मल गंगा वनिरहनु पर्नेमा कार्यशैली कार्यपद्धति मिलाउन नसकेको , नेताहरुबीचको आपसि इगो तथा स्वार्थपरक दम्भ घमण्डका कारण असमय मै नेकपाको नेतृत्वमा झण्डै दुइ तिहाइ नजिकको संसद विघठन गरिएको छ ।
संसद विघठन भएपछि नेकपा विभाजित भएको छ र जनता तथा एकतामा बल देख्ने कार्यकर्ता निराश वनेको अवस्था छ । नेपालका कम्युनिष्टहरु आन्दोलन र संघर्ष गर्न सिपालु तर सत्ता चलाउन असफल छन भन्ने कुरा पछिल्लो घटनाक्रमले झन् छर्लङ्ग भएको छ । अन्यौल अस्थिरता तर्फ देशलाई लैजाने अवस्था सिर्जना भएको छ । संसद विघठनको पक्ष विपक्षमा गतिविधिहरु भै रहेका छन ।
नेकपा एकातर्फ केपी ओलीको नेतृत्वमा र अर्काे तर्फ प्रचण्ड माधव नेपालको नेतृत्वमा विभाजित भएको छ । अव सबैको ध्यान अदालत र निर्वाचन आयोग तर्फ हेरिएको छ । कुन पार्टी आधिकारिक मान्ने पार्टीको नाम र चुनाव चिन्ह कसको पक्षमा हुने ? विधि पद्धति अनुरुप निष्पक्ष ढंगले हुन्छ वा हुदैन ? अदालतबाट असम्वैधानिक संसद विघठनमा परेका मुद्दा को फैसला कसरी हुन्छ विधि र संविधानको अक्षरस व्याख्या सर्वाेच्च अदालतबाट कसरी गरिन्छ यो आगामी दिनमा हेर्नु पर्ने विषय बनिरहेको छ ।
समय घर्कि सकेको छ विगत फर्कनेवाला छैन यसकारण नेपाली जनताबाट वर्तमानका गलत हर्कत र घटित घटनाक्रमहरु हेर्दा संसय मानिएको विषय प्रमुख वनेको छ । अरु केही समय राजनैतिक गत्यावरोध सिर्जना गरेर बिकृति विसंगतिको र अस्थिरताको जंजिरतामा कैद हुन पर्ने वाध्यतामा देशलाई पु¥याउने हुन कि ? कतै यो देश कुनै न कुनै रुपको निरंकुश शासन तर्फ अर्थात प्रतिगमन तर्फ जाने होकि ? अहिलेका उत्ताउला हर्कत हेर्दा आगामी दिनमा देश ठीक संग जान नसक्ने देखिएको छ र त्यतिवेला झन चरम दुर्घटनामा देश जानेछ । दमन घमण्ड इगो र व्यक्तिगत स्वार्थको अतिको परिणाम देशले कतिन्जेल सम्म, यो नियति भोग्नु पर्ने हो । हामी नेपालीको निम्ति आगामी दिनहरु निराशा अन्योलता र संकटबाट कसरी अगाडि बढने हुन् सबैको ध्यान गएको छ । लेखक : बाबुराम खरेल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाग्मती प्रदेश सदस्य हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय