२४ कार्तिक, जिल्ला ब्यूरो

गुल्मीको रेसुङ्गा नगरपालिका–१ साहुटोलका मादल व्यवसायी डिल बहादुर नेपालीलाई विगतका वर्षमा मादल बनाउन भ्याई–नभ्याई हुन्थ्यो । उनी बाग्लुङ्गको गल्कोट हटियाबाट सदरमुकाम तम्घासमा आई विगत ८ वर्ष देखि मादल व्यवसाय सञ्चालन गर्दै आएका छन् । यस समयमा उनको पसलमा मादल बनाउने, मर्मत गर्ने लगायतका कामहरुको भ्याई–नभ्याई हुने गर्थाे ।

यतिबेला हिन्दू नेपालीहरुको दोश्रो महान् पर्व तिहार नजिकएको छ । तर विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण रौनकता भने देखिएको छैन् । तिहारमा बिशेष गरि युवा–युवतीहरु समुहमा जम्मा भई गाउँनै देउसी,भैलो बिशेष हुन्छ । यसका लागि स्थानीय क्लब, समुह तथा युवायुवतीहरु जम्मा भई एक हप्ता अगाडिबाटै तयारीमा लाग्ने गर्छन् । देउसी र भैलोमा प्रयोग हुने सामाग्रीमध्ये प्रमुख बाध्यबाधन सामाग्रीको रुपमा मादललाई लिने गरिन्छ ।

बिशेष गरि नेपालीहरुको चाडपर्व तीज र तिहारमा मादलको बिक्रिवितरण धेरै हुने गर्छ । तर यस वर्ष विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण मादल व्यवसायीले मादल बिक्रि नभएको मादल व्यवसायी नेपालीले उल्लेख गरे । विगतका वर्षहरुमा चाडपर्वकै समयमा ४ लाख भन्दा धेरैको मादल बिक्रि वितरण गरेको नेपालीको अनुभव छ ।

१३ वर्षको उमेर देखि मादल बनाउँदै आएका नेपालीले जीवनको ४० वर्ष भारतमा बिताए । आफुसँग भएको सीपलाई स्वदेशमै प्रयोग गर्ने उद्देश्यले स्वदेशमै फर्किएर नेपाली विगत आठ वर्ष देखि व्यवसायिक रुपमा मादल व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनले ख्याली, देउसी, भैलो खेल्न बजाइने मादल, नेवारी मृदुङ्ग, पञ्चे बाजा, तवला बनाउने गरेको बताए ।

उनको पसलबाट गुल्मीसँगै छिमेकी जिल्ला अर्घाखाँची, बाग्लुङ्ग लगायत देशभरका विभिन्न स्थानबाट समेत मादलको माग हुने गरेको छ । नेपालीले यहाँमात्र नभई मादल, सारङ्गी लगायतका बाध्यबाधनका सामाग्री भारतमा समेत जाने गरेको जानकारी दिए ।

तर यस वर्ष भने कोभिड–१९ का कारण बेच्नलाई ठिक्क पारिएका मादल समेत बिक्रि वितरण भएका छैनन् । ‘गत वर्ष यो समयमा ७०÷८० वटा मादल बिक्रि गरिन्थ्यो ।’ नेपालीले भने ‘अहिले चार वटा मादल पनि जान सकेको छैन् ।’ यस वर्ष कोरोना भाइरसका कारणले मादलको व्यापार हुन नसकेको उनको भनाई छ ।

आधुनिकि रुपमा प्रयोग हुने गीतारको तार समेत फेर्ने गरेको नेपालीले बताए । तर पछिल्लो पुस्ताले यो पेशालाई अगाँल्न नसकेको प्रति दुःख व्यक्त गरे । ‘विदेशमा कठोर श्रम गर्न पनि तयार हुने । तर आफ्नै देशमा पसिना बनाउन लाज मान्ने गर्छन् ।’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय