
काठमाडौं : हङकङमा जारी चार देशीय टी–२० सिरिजको दोस्रो खेलमा कुवेतले नेपाललाई १ सय ८६ रनको बलियो लक्ष्य दिएको छ।
टस जितेर पहिलो बलिङ रोजेको नेपालविरुद्ध कुवेतले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनायो।
ओपनर रविजा सान्दारुवानले १५ बलमा २ चौका र १ छक्कासहित २६ रन जोड्दै आक्रामक सुरुवात दिलाए। उनी पाँचौ ओभरको पहिलो बलमा ललित नारायण राजवंशीबाट क्याच आउट भए। सुरुवाती विकेटका लागि ४३ रनको साझेदारी भएको थियो।
अर्का ओपनर क्लिन्टो एन्टोले ३० बलमा ४ चौका र २ छक्कासहित ४१ रन जोडे। उनी दशौं ओभरमा आउट हुँदा कुवेत ९७–२ को सुदृढ अवस्थामा रहेको थियो। क्लिन्टोले मित भावसरसँग ५४ रनको साझेदारी गरे। मित १४ औं ओभरमा सोमपालको बलमा बोल्ड भए। उनले २८ बलमा ३५ रन जोडे । सोमपालले त्यसको २ बलपछि नै उस्मान पटेललाई १३ रनमा आफैं क्याच गर्दै पेभेलियन फर्काए।
त्यसपछि क्रिजमा आएका बिलाल ताहिरले १३ बलमा १ चौका र ४ छक्कासहित ३२ रन जोड्दै कुवेतले खेलमा फर्काए। उनी १८ औं ओभरमा नन्दन यादवको शिकार बने। एक समय २ सय रनको आँकडा छुने देखिएको कुवेतले डेथ ओभरमा नेपाली बलरविरुद्ध आक्रमण गर्न नसक्दा त्यसमा सफल भएन।
नेपालका लागि सोमपालले ३, नन्दनले २ तथा ललित र कुशल भुर्तेलले १(१ विकेट लिए।
सिरिजको पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गरेको थियो। कुवेतले हङकङविरुद्ध ४ विकेटको जित निकालेको छ।