विश्वनै कोरोना भाइरस (कोभिड-१९) को चपेटामा परिरहेको छ । वि स २०७६ को अन्तिमबाट नेपालमा पनि कोरोना भित्रीयो । महामारीको पहिलो लहरमा विश्वका सम्पन्नशाली मुलुकहरु अमेरिका इटली र ब्राजिल लगायतका देशहरु निकै भयावह भए र लाखौ नागरिकले ज्यान गुमाउन बाध्य बने ।
सक्रमणको पहिलो लहरबाट नेपाल कम प्रभावित बन्यो । सक्रमण फैलिएपनी मृत्युदर कम भयो । कोरोना सक्रमण कम हुँदै गएपछी नेपालमा फेरि दोस्रो लहर आउला भन्ने कसैले अनुमान गरेन, सरकार त झनै जिम्मेवार बिहिन जस्तै बन्यो । सक्रमणको पहिलो लहर कम भएसङ्गै सरकार स्वमले ठुला ठुला जमघट सहित उद्घाटन र शिलान्यास गर्नमा तछाडमछाड गर्यो । यतिसम्म कि पहिले उदघाटन भैसकेका र सम्पन्न नभएका आयोजना पनि पुन : उदघाटन गर्ने र बजेटै नभएका योजना पनि शिलान्यास गर्ने चटारोमा सरकार ब्यस्त भयो ।
कोरोना महामारीमा अतालिएको सरकारले कम हुँदै गएपछी फेरि स्वास्थ्यसेवा वा हस्पिटल आबश्यक रहेछ भन्ने र स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर लाग्ने काम भएन । यद्यपि तयारी बिना देशदौडाहा गरेर सबैपालिकामा गएर हस्पिटलको शिलान्यास गर्ने काम सरकारले गर्यो ।
नेपाली जनताले पाँच वर्षको लागि स्थिर सरकारको आशा गरेर बाम गठबन्धनलाई दिएको मतलाई कुल्चिएर ओलि सरकारले जब प्रतिनिधि सभाको विघटन गरिदियो त्यसपछी त नेपालमा जात्रा नै सुरु भो । कम्युनिस्टको त्यो जात्राले कोरोना भाइरसपनी हराइदियो झै भयो । कम्युनिस्ट पार्टी भित्रै बिभाजनको सुरुवात भयो र प्रष्ट दुई खेमामा बिभाजित बनेको पार्टिले आफ्नो पक्षलाई शक्तिशाली देखाउने होडमा फेरि पनि नागरिकलाई प्रयोग गरे । नेताहरुको स्वार्थ भन्दापनी नागरिकलाई पिर थियो ओलि सरकारले निम्ताएको अस्थिरताप्रती, महामारि बाट बल्लतल्ल फेरि बामेसर्न थालेको नेपाली जनताको दिनचर्या सरकारले नै क्षणभरमै निरास बनाइदियो । होला पार्टी भित्रको झगडा बिचार मिलेन या भागबन्डा त्यसको जिम्मेवार स्वम पार्टिले लिनु पर्ने हो र त्यसको अध्यक्ष पनि सरकार प्रमुख ओलि नै थिए । तर उनले पार्टीको झगडा ल्याएर शिङ्गो नेपालिको टाउकोमा बजारीदिए ।
कोरोनाको नयाँ भेरियन्ट सहितको दोस्रो लहर सुरु भैसकेको थियो । तर सरकार जनतालाई कसरी जोगाउने भन्ने होइन उ आफुनै कसरी जोगिने भन्ने चिन्तामा पिरोलिरहेको थियो । राजनितिक दलहरुपनी हिजो आफुलाई जिताउने नागरिकहरुको जिवनरक्षाको चिन्ता भन्दा अहिले आफ्नो जितको बहादुरीको लागि सासदहरुको छती नाप्दै थिए । सासदहरुलाई पनि आफ्नो क्षेत्रका नागरिकको बिचल्ली हारगुहारप्रती कुनै चासो थिएन । उनिहरुलाई चासो थियो त केवल आफू मन्त्री कसरी बन्ने, सुबिधा सम्पन्न आयोग वा बिभाग त्यस्तैको नियुक्ति खाएर झण्डावाल गाडी कसरी गुडाउने । त्यो आशा नभएको र क्षमता पनि नराख्ने सासदहरु आफ्नो मूल्य निर्धारण गर्दै थिए । हाट बजारमा सजाएर राखिएका सेता र काला बोका जुन भोलि बिहानै मन्दिरमा लगेर बलि चढाउन ग्राहकले मोलमोलाई गरेझै उनिहरु आफ्नो मूल्य बढाउदै ब्यस्त थिए । ईमान जमान सकिएका ती सासदरुपी बस्तु दिनमा भन्दा रातमा किनबेचमै लागे आफ्नो मूल्य करोडौ पारे । तर उनिहरुलाई यो हेक्का भएन कि आफू गल्लीमा हिड्ने मान्छेलाई जनताले जिताएर करोडौ मूल्य पर्ने बस्तु बनाइदिएका हुन । आज तिनै जनता अक्सिजन र हस्पिटलको बेड नपाएर छट्पटाइ रहेका छन ।
बनाउनु पर्ने हस्पिटल थियो किन्नु पर्ने अक्सिजन र भेण्टिलेटर थियो पुर्याउनु पर्ने खोप थियो । तर सरकार खोप किन्दा कमिसनको कुरा नमिलेर पछि सर्यो । भेण्टिलेटर किन्न सक्ने बजेट सासद किन्न खर्च गर्नुपर्यो । अक्सिजन ल्याउनु पर्ने पैसाले आफ्नो शक्ति देखाउन कार्यकर्ता किन्नु पर्यो । डाक्टर र स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्नुपर्ने, PCR प्रयोशाला सन्चालन गर्नु पर्नेमा सरकार सासदहरुकै किनबेचमा डियुटी गर्नुपर्यो । त्यसैले महामारीमा सरकार असफल जस्तै निरीह बन्नुपर्यो ।
नागरिकले पैसा जम्मा गरेर सघसस्थाहरुले अभियान सन्चालन गरेर केही मानिसको ज्यान त बच्ला तर सरकार नै हारिसकेपछी कसरी धेरै जनाको ज्यान बच्ला र ? सरकारले महामारी तिब्र रुपमा फैलिएपछी लकडान घोषणा गर्ने यो गर्न मिल्छ र यो गर्न मिल्दैन भन्ने आदेश जारी गर्ने मात्रै आफ्नो मुख्य जिम्मेवारी ठान्योहोला ।
महामारी ससारका अधिकाश देशमा फैलिएको छ । त्यहाँका सरकारले नागरिकको जीवन रक्षा मात्र होइन, आर्थिक चपेटामा परेका ब्यावासायी उध्यमीलाई राहत दिएको छ । आम नागरिकलाई निर्बाहमुखी भत्ता र खाना तथा दैनिक उपभोग्य बस्तुहरु पुर्याइदिएको छ । लागानीकर्ताहरुको लागि ब्याज मिनाहा गरिदियो । घरबहाल सरकारले तिरिदियो । तर नेपाल सरकारले सक्रमितलाई औषधि र अक्सिजन समेत दिन सकिरहेको छैन ।
सक्रमितसग दिनरात भोकनिद्रा नभनेर युद्धस्तरमा खटिएका डाक्टर नर्स तथा अन्य स्वास्थ्यकर्मीहरु सुरक्षा कर्मीहरु एम्बुलेन्स चालकहरुलाई दिने भनेको भत्ता समेत पाइरहेका छैनन । पहिलो लहरमा ल्याब सन्चालनको लागि खटिएका स्वास्थ्यकर्मीले आफ्नो तलब सम्म पाएका छैनन ।
अक्सिजन सकियो भनेर हस्पिटलको निर्देशकले गुहार माग्छन । अक्सिजनको गाडी रोकियो सहजीकरण गरिदिनु पर्यो भनेर हस्पिटल सन्चालकले रातभरी सिडियोको गेट कुर्छन । अक्सिजन सकिएर मृत्यु भएमा कसैलाई दोस दिने छैन भन्ने स्वघोषणा गरेर बिरामी हस्पिटलको बेडमा पल्टिन्छन । ट्रमा सेन्टरले भन्छ बिरामी छट्पटाइरहेका छन, कसैले अक्सिजन सहयोग गरिदिनु पर्यो । सबेरै अनलाइनमा खबर आउँछ अक्सिजनको अभावमा १५ मिनेटमा ८ जनाको ज्यान गयो । उता सरकार पक्ष भन्छन, सबै सरकारले जिम्मा लिएको छ । सरकारलाई असफल बनाउन अनलाइनले झुटा समाचार लेखे । एकछिन पछि सरकार प्रमुख लेख्छ्न, हाम्रो प्रदेशमा अक्सिजनको कुनै कमि छैन । एकैछिन पछि हस्पिटलले बिज्ञपति निकाल्छन हस्पिटलमा अक्सिजन छैन । अक्सिजन सबै सकिएकोले बिरामीले स्वम अन्य हस्पिटलमा जाने ब्याबस्था मिलाउनु होला ।
कति अन्धो हुदो रहेछ सत्ताको चास्नी, घरमा सबै बिरामी छन, एकजना मरेको ३ दिन भै सक्यो लास उठाउन कहाँ सम्पर्क गर्ने हो भन्ने स्टाटस के सरकारमा भएकाहरुले देख्दैनन ? पि पि सेट नपाएर पलास्टिक भित्र बेरिएर बिरामिको उपचार गरेको दृष्य देख्दा सत्तामा भएकाहरुको मन दुख्दैन ? हस्पिटलमा बेड नपाएर बाहिर पेटिमा बसेर छ्टपटाइरहेका सयौ मान्छे देख्दा तिम्रो मन पोल्दैन सरकार ?
सरकारको जिन्दावाद र मुर्दाबाद पछि गरे हुदैन र ? सरकारको भक्तीगान गरेर नथाक्ने समर्थकहरु तिमिले आफन्त गुमाउनु भन्दा पीडा सरकारको हिसाब किताबमा हुन्छर ?
नेपाली नागरिकले केबल भोट दिएर सडकको सामान्य मान्छेलाई सत्तामा पुर्याउने र करोडौंको बनाउने जिम्मेवारी लिएका हुन झै भएको छ । महामारीको बेला जनताको जीवन रक्षा गर्नु पर्ने सरकार आफ्नो सत्ता बचाउनेमा भ्याइ नभ्याई लागेको छ । त्यसैले त नेपाली नागरिक निरास छन, सरकारले हामीलाई बचाउछकी भन्नेहरु निरास हुँदै आखामा डिबिल डिबिल आँसु पार्दै आफन्तको मृत्यु पर्खिरहेका छन, आफन्त र छिमेकीको फोटो सहितको श्रद्धाञ्जली कतिबेला आउने हो भनेर निन्याउरो अनुहार बनाएर बसिरहेका छन । सरकार नागरिकको यो चीत्कार कसले सुन्ने हो ? सरकार तिमी आफू आफैलाई सफल भन्छौ तर तिमिलाई सत्ताको सुनौलो कुर्सीमा पुर्याउने नागरिकहरुले तिमीलाई असफल भयौ भनेका छन ।