भुवन भुसाल
गुल्मी। गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले खानेपानीको मुहान संरक्षण गर्न र पर्यावरण जोगाउन १ सय ८ वटा पोखरी खन्ने भएको छ । त्यस्तै पालिकाले १ हजार ८ वटा पिपलका वृक्ष रोप्ने भएको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले जानकारी गराउनुभएको छ ।
रुरुक्षेत्र गाउँपालिकाको गाउँ सभाको १४ औं अधिवेसनमा आगामी आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष ज्ञवालीले सो कुरा उल्लेख गर्नुभएको हो । ज्ञवालीले रुरुक्षेत्र गाउँपालिकाको धार्मिक महत्व झल्काउन र धार्मिक पर्यटक भित्र्याउन बिधालय, टोल बिकास समिती आमासमुह, युवा क्लब, सहकारी,बैंकिङ क्षेत्र तथा निजि संघ सस्था संगको सहकार्यमा आगामी ४ बर्ष भित्र गाउँपालिका भित्रका सार्वजनिक स्थानमा १ सय ८ पोखरी र १ हजार ८ पिपलका बिरुवाहरु लगाईने उल्लेख गर्नुभयो । वहाँले आगामी आर्थिक बर्षमा कम्तीमा ३० वटा पोखरी, र २ सय ५० पिपलका रुखहरु रोप्ने उल्लेख गर्नुभयो ।
पुर्खाहरुले खनेका पोखरी पुर्ने र ठुलाठुला पिपलका बोटहरु बिकास निर्माणका क्रममा काटिरहेको सन्दर्भमा गाउँपालिकाले पानीको मुहान संरक्षण गर्दै पर्यावरण जोगाउन यस्तो नीति ल्याईएको अध्यक्ष ज्ञवालीले बताउनुभयो ।
गाउँपालिकाले आगामी आर्थिक बर्षमा कालोपत्रे भैसकेका सडकको दायाँ बायाँ किनारमा हरियाली प्रवर्द्धन गर्न आवस्यकता अनुसार फलफुल र अन्य सौन्दर्य बढाउने रुखबिरुवाहरु समेत रोप्ने भएको छ ।