स्थानीय भन्छन् ‘बल्ल स्थानीय सरकार आएको अनुभूति भएको छ ।’
२३ कार्तिक, जिल्ला ब्यूरो
गुल्मीको मालिका गाउँपालिका घमिरकी चेत कुमारी मुखियाको अहिले दिनचर्या फेरिएको छ । विगतमा लामो समय देखि कुवा, पधेँरा र खोल्साको दूषित पानी प्रयोग गर्न बाध्य उनि अहिले भने घरमै खानेपानी आएपछि निक्कै खुशी छिन् । मुखियाले आफ्नै घर अगाडि स्थानीय सरकारले धारा निर्माण गरि बिहान बेलुका पानी आउने बनाईदिएपछि खुसी व्यक्त गरिन् ।
सोही स्थानकी झुपी कुमालले पनि घरमै खानेपानीको सुविधा पुगेपछि दैनिकिनै सहज भएको बताईन् । बिहान उज्यालो हुन नपाउँदै झिस्मीसेमा डोकोमा गाग्री बोकी घण्टौँ समय लगाएर खानेपानी खोजेर जीविका चलाउँदै आएकी कुमाल अहिले घरमै खानेपानीको सुविधा पुगेपछि दङ्ग छिन् ।
त्यहाँका स्थानीयले पुस्तैनी समस्याको रुपमा खानेपानीको अभाव झेल्दै आएका थिए । बिहान सबेरै ग्रागी बोकर पानीको पालो कुर्न जानुपर्ने झन्झट समेत हटेको छ । वषौँ देखि खानेपानीको अभाव झेलिरहेका त्यहाँका स्थानीयवासीले अहिले लिफ्टिङ प्रणालीबाट सहजरुपमा खानेपानीको उपभोग गर्न पाएपछि दिनचर्या नै फेरिएको हो ।
खानेपानी तथा सरसफाइ कार्यालय गुल्मीको आर्थिक तथा प्राविधिक सहयोगमा लिफ्टिङ खानेपानी आयोजना मार्फत गाउँका सबै घरघरमा खानेपानीको सुविधा पुगेको छ । घरघरमा पानीको धारा आएपछि गाउँमा साँच्चिकै स्थानीयस्तरमै सरकार आएको अनुभुति स्थानीयले गरेका छन् ।
मालिका गाउँपालिका आठ वटा वडामा करिब १५ सय धारा निर्माण भएकोे मालिका गाउँपालिका अध्यक्ष रित बहादुर थापाले जानकारी दिए । एक घरमा एक धारा निर्माणको लागि प्रति धारा ११ हजार ५ सय लागत रहेको छ । मालिका गाउँपालिका–७ घमिरको कुमालगाउँ, काहाले बाँसखोला, चोरकाटे, सिजाँली, टुलिखोला र साविकको ३ नम्बरको वडा कोट वरिपरीका बस्तिमा गरि करिब ४ सय धारा निर्माण भएका छन् ।
मालिका गाउँपालिकाले गत वर्ष खानेपानीको लागि संघ, प्रदेश र गाउँपालिकाबाट ३ करोड विनियोजन गरेको थियो । वडा न २ ह्वाङ्ग्दीको ८० लाख मध्ये कोरोनाका कारण १५ लाखको काम भएको थियो । ६५ लाख फ्रिज भएको थियो । आर्थिक बर्ष ०७७÷०७८ मा वडा नम्बर ५ छापहिलेमा १० लाख, ६ अर्जैमा ४० लाख, वडा नम्बर ७ घमिरमा ४० लाख प्रदेश सरकारबाट वडा नम्बर १ मा लिफ्टिङ्गको लागि ४० लाख बजेट बिनियोजन भएको मालिका गाउँपालिकाले बताएको छ । गाउँपालिकाले अर्जै, घमिर, मर्भुङ्ग, अर्खावाङ्ग, छापहिले, ह्वाङदी, दर्लिङ्ग, नेटा लगाएतका वडामा एक घर एक धाराको कार्यक्रमलाई अगाडि सारेको छ ।