महिलाले आफ्नो पहिचान र अधिकारको खोजी गर्न पाउनु नैसर्गिक अधिकार हो । आफ्नो अधिकारसँगै गाँसिएको मौलिकता र मौलिकताको खोजी गर्ने अधिकारको सदुपयोग गर्न पाउने अर्को महत्त्वपूर्ण पक्ष हो । नेपाली महिलाले पनि आफ्नो नामका अगाडि वीर, वीरङ्गाना र विदुषी विशेषण अङ्कित गराउन सफलता प्राप्त गरेको प्रसङ्ग महिला आन्दोलनबाट भएको इतिहासमा गौरवमय अध्यायको रूपमा अङ्कित रहेको छ ।
महिला आन्दोलनको इतिहासले राष्ट्रले, राष्ट्रियता, सामाजिक, आर्थिक, सांस्कृतिक आदि क्षेत्रमा पुर्याएको योगदान महत्वपूर्ण मानिन्छ । खहरेको भेलमा एकै छिन उर्लिएर सुक्नुभन्दा विशाल सागरमा आफूलाई समाहित गर्नुको सार्थकता, औचित्य एवम् महत्त्व बेग्लै बन्दैछ । आशाका मधुरदीप जलाउदै सम्भावनाका कठिन यात्रामा अगााडि हिँड्ने दमन र कुचेष्टाको जन्जिरलाई चुँडाल्दै अनन्त अधिकार र स्वतन्त्र विचार पोख्न कसैको आदेश लिइरहनु पर्दैन भन्ने अनुकरणीय उदाहरण बन्न सफल भएको छ ।
नेपालको महिला आन्दोलन स्वतन्त्रता र समानता कुनै पनि मुलुकको उन्मुक्त यौवन हो र यसलाई विसङ्गगतिको पाङ्ग्रा बनाएर गुडाउने हो भने कहिल्यै उम्कन नसक्ने दलदलमा भासिन्छ । नेपाली महिला आन्दोलन वर्तमान युगको जीवित उदाहरण हो । समय बदलिए पनि, राजनैतिक परिवर्तन भइरहे पनि वा सामाजिक मूल्य र मान्यता फेरिइरहे पनि नेपाली महिलाहरूको यो आन्दोलन उल्लेख्य सहभागितामा चलि नै रहेको छ । यी सबैमा महिलाहरूकै उल्लेख्य सहभागिता देखिन्छ।
यसबाट सिङ्गो नेपाली जनजीवनलाई विस्तारपूर्वक चियाउन सकिन्छ । विश्वको यस भूखण्डमा नेपाली महिलाको योगदान गर्वको विषय बनेको छ । नेपालको पुरुषप्रधान समाजमा महिलाका हक–अधिकार घरभित्रै सीमित जस्तै पारिएका छन् । विभिन्न आरोप लगाएर नारी अस्मितालाई धमिलो पार्ने दुस्साहस शिक्षित वर्गमा पनि प्रवृत्तिका रूपमा दिनप्रतिदिन बढ्दो छ । हिंसा र विभेद अन्त्यका लागि शताब्दीयौँ अगाडिदेखि महिलाले कुनै न कुनै माध्यमबाट आन्दोलन गर्दै आएका छन् ।
नेपालको महिला आन्दोलन, महिलाको रूपान्तरण, हक–अधिकार स्वतन्त्रता र सार्वभौमिकताको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिबाट प्रभावित तथा संस्थागत रूपमा आबद्ध छ । बौद्धिककालमा नारी–पुरुष समान रहेको कुरा र पछिका परिस्थितिमा पुरुषको बाह्य महत्त्व बढ्दै गएको छ । त्यसको स्थानीय प्रभावस्वरूप हेर्दा नेपालको पुरुषप्रधानवादी परम्पराले महिलालाई व्यावहारिक रूपमा विभेद गरिरहेको आभास भइरहेको छ ।
धर्मशास्त्रले महिला र पुरुषबीच विभेद नगरे तापनि धर्मका व्याख्याकारहरूले शास्त्रका नीतिहरूको गलत अर्थ लगाएर विभेदको बीउ छरिदिएको परिचर्चा गरिंदै छ । नारी–पुरुष एकै रथका दुई पाङ्ग्रा भएको इतिहास मानव सभ्यताको नारी पुरुषको समान भूमिकाको सजीव चित्रण हो । इतिहास निर्माणमा महिला–पुरुषको समान स्थान रहे तापनि व्यवहारमा भने- पक्षपात भएको मूल्याङ्कन गरिएको छ । किनकि महिलाको सार्वजनिक रूपमा सामाजिक निर्णायक भूमिका प्रायः न्यून देखाइएको छ ।
मानव अधिकारको दृष्टिले महिला–पुरुष समान हुन्छन्, तर पितृसत्तात्मक संरचनाबाट हालसम्म जकडिएको नेपालको आर्थिक, सामाजिक तथा राजनैतिक अवस्थाले महिला र पुरुषलाई दिइने फरक मान्यता र व्यावहारका कारण महिलाहरू पुरुषभन्दा पछाडि पारिएको स्थिति छ । त्यसरी समानताको बाह्य परिभाषाबाट हेर्दा महिलाहरूको मानव अधिकार हनन भएको प्रतीत हुन्छ ।
जनसंख्याको अनुपातमा महिलको समानुपातिक समावेशसम्म पनि कार्यान्वयन हुनसकेको छैन । महिलाको वंशका आधिकारहरू, हिंसामुक्त भई सामाजिक सुरक्षासहित बाँच्न पाउने अधिकार, शरीर, बुद्धि र निर्णयमाथिको आफ्नो अधिकारजस्ता आधारभूत अधिकारहरूले आवश्यक चर्चा एवम् स्थान पाउन सकेका छैनन् । छाउपडी, देउकी, हलिया, कमैया, बोक्सी, कुमारीप्रथा, पर्दाप्रथा, आनी बन्ने आदिजस्ता कुसंस्कारबाट महिलाहरू पीडितै छन् ।
राजनैतिक, सामाजिक र आर्थिक शोषणको शिकार भएका महिलाले आफ्नो घर, समाज, राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रलाई स्वस्थ, शान्त, सुखमय र उत्तातर प्रगतिशील बनाउने काममा पुर्याएको योगदानको व्याख्या गरिरहनु पर्दैन । कुल जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाहरू राज्यको हरेक सुविधा र अवसरहरूबाट टाढा छन् । चलअचल सम्पत्तिमा उनीहरूले हकदावी गर्न सक्ने कानुनी रूपको सुरक्षा प्राप्त भएको छैन ।
समाजमा परम्परादेखि चलिरहेको बोक्सीजस्ता कुप्रथाबाट महिलाहरू प्रताडित हुने क्रम अझै रोकिएको छैन । एकल एवम् विधवा महिलाहरू व्यावहारिक झमेला र मानसिक तनावबाट झन् ग्रस्त हुँदै गएका छन् । त्यसैगरी कुनै धर्म, सम्प्रदायको प्रचारको माध्यम युवती रूपवती नारीलाई बनाएर आकर्षण गर्ने परम्परा पनि बढ्दो गतिमा छ, साथै विज्ञापन गर्ने संस्थाबाट पनि नारी शरीरको नग्न चित्र प्रस्तुत गर्ने परम्परा वढ्दो छ ।
नेपालमा महिलाहरूलाई विशेष अधिकार प्रदान गरिएको छ । सन् १९९० को संविधान अनुसार कुनैपनि पुरुषले महिलालाई कुनैपनि प्रकारको भेदभाव गर्न पाउदैनन । त्यस्तै सन् १९९७ मा कुनै पनि महिला यदि ३५ वर्ष सम्म अविवाहित रहिन भने उनलाई पनि छोरासरह अंशको उत्तिनै हिस्सा मिल्छ भन्ने नियम बनाईएको छ ।
बि. स. २०६३ को संविधानले महिलाहरूको स्थिति सुधारमा विशेष ध्यान दिएको छ जसअनुसार छोरीलाई पनि छोरा जतिनै अंश मिल्छ र यदी कुनै महिलाले सम्बन्धविच्छेद गर्छिन भने उनले उनको श्रीमानको सम्पत्तिको ५०% सम्पत्ति उनले प्राप्त गर्छिन भनेर स्पस्ट रुपमा लेखिएको छ ।
यसका साथै २०७४ को निर्वाचनपछि संघीय र प्रादेशिक संसदमा महिलाको ३३ प्रतिशत सहभागिता छ भने स्थानीय तहमा ४१ प्रतिशत सहभागिता रहेको छ । स्थानीय तहको सन्दर्भमा प्रत्येक वडामा कम्तीमा दुई महिला सदस्य हुनुपर्ने तथा प्रमुख र उपप्रमुख मध्ये एक महिला उम्मेदवार हुनुपर्ने कानुनी व्यवस्था गरिएको छ जसको कारण महिला सहभागितामा बृद्धि भएको छ । पितृसतात्मक सोचमा आधारित सामाजिक मूल्य मान्यता तथा सदियौंदेखि चली आएको महिला प्रतिको भेदभाबपूर्ण व्यबहार नेपाली समाजको यथार्थ हो ।
लैंगिक विभेदले शोषण र हिंशाका घटनालाई मलजल गर्न मद्दत गरेको हुन सक्छ भन्ने महिलाको अवस्थालाई दूरगामी असर पुर्याएको देखिन्छ यसले महिलाहरूको आर्थिक, सामाजिक तथा राजनीतिक अवस्थालाई समेत कमजोर बनाउदछ । समतामूलक दिगो राष्ट्रिय विकासका लागि पुरुष सरह महिलाहरूको सक्रिय र अर्थपूर्ण सहभागिता अपरिहार्य रहन्छ ।
यिनै असमाताहरूलाई मध्यनजर गरी आज भन्दा ठिक १०६ वर्ष अगाडि समानता, न्याय, शान्ति र विकासको लागि प्रारम्भ गरिएको अभियानको स्मरण गर्दै ८ मार्चमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउदै आइएको छ ।
लामो समयदेखि महिलाहरुले संघर्ष गरे भने नेपालमा पनि ठूला ठूला राजनीतिक संघर्ष र परिवर्तनहरु पनि भए तर आजसम्म नेपालमा महिला उत्पीडिन भयावह अवस्था मै रहेको छ । महिला र पुरुष बराबरी भनिए पनि धेरै प्रकारका भेदभाव र असमानताहरु कायमै छन् । नेपालमै जन्म लिएर विभिन्न महिलाहरुले विश्वमा आफ्नो नाम चिनाए ।
माईति नेपाल नामक संस्थाको स्थापना गरि वेचिएका तथा वेचिन लागेका हजारौं चेलीहरुको उद्दार गरि अनुराधा कोईरालाले आफ्नो नाम विश्वमा परिचित गराउन सफल भईन त्यस्तै पासाङ ल्यामु शेर्पाले नेपाली महिलाले पनि सगरमाथा चढ्न सक्छिन- भन्ने प्रमाणित गरिन उनले नेपाली महिलामध्यो सबैभन्दा पहिले सगरमाथाको शिखरमा पुग्ने विश्व किर्तिमान राख्न सफल भईन ।
त्यस्तै नेपाली साहित्यकार झमक कुमारी घिमिरेले आफ्नो खुट्टाका ३ वटा औंलाको सहायताले विभिन्न रचनाहरु प्रकाशित गरिन सबैलाई चकित पारिन भने पछिल्लो समय काठमाडौंका विभिन्न ठाउमा भेटिने वेवारिसे सवलाई व्यवस्थापन गरेर सपना रोका मगर विश्वका १०० महिलाभित्र आफुलाई पार्न सफल भईन यस्तै नेपालमै तथा विश्व जगतमै विभिन्न महिलाहरुले उदाहरणीय काम गरेर आफ्नो नाम चिनाएका छन ।
महिलाहरुको अधिकारका लागि संघर्ष थालनी गरेको १०५ वर्ष पुगिसक्दा आज पनि महिलाहरु अपहेलित भएर बाँच्नु परिरहेको अवस्था छ । घर, टोल, समाज हुँदै राज्य तहमै महिलालाई दोस्रो दर्जाको रुपमा हेर्ने काम भइरहेको छ । उनीहरु बलात्कार र घरेलु हिंसाका शिकार भइरहेका छन् । घाँस, दाउरा र चुल्हो चौकामा सीमित गरिनुका साथै महिलाहरु माथी अपमानित ढंगले गरिएको थिचोमिचो हटेको छैन ।
महिलाहरुमाथि असमानता मात्र होइन, सामाजिक असुरक्षा पनि उस्तै छ । आज पनि महिलाहरुमाथि बलात्कारका घट्नाहरु दिनप्रतिदिन बढिरहेका छन् । महिलालाई बोक्सीको आरोमा दुब्र्यवहार गर्ने कामहरु पनि भइ नै रहेका छन् । राजधानीमै किशोरीहरुमाथि तेजाव हाल्ने जस्ता जघन्य अपराधका घटना भएका छन् ।
महिलाहरुले संगठित रुपमा नै आवाज उठाउन थालेको वर्षौ वर्ष भए पनि अधिकार पाउन नसकेको अवस्थाकै बीच अन्तर्राष्ष्ट्रिय नारी दिवस मनाइरहेका छन् । नारी दिवसलाई दिवसको रुपमा मात्रै नभएर महिलाहरुले समान अधिकार प्राप्त गर्ने तहसम्म आजको दिनलाई लिन जरुरी देखिन्छ।नेपालको संबिधान दक्षिण एशिया कै उत्कृष्ट मध्यको एक महिला मैत्री मानिन्छ । तुलना गर्ने हो भने अन्य मुलुकका महिला भन्दा नेपाली महिला धेरै अघी छन, जागरुक छन । महिलाका लागी ३३ प्रतिशत आरक्षण गरेको छ भने उत्पिडित, दलित, आदिबासी जनजाती आदीको नाममा अझै आरक्षण बढाईएको छ । नेपालको संविधान को धारा ३८ ले महिला अधिकार को सुब्यबस्था गरेको छ । तीन तहको संरचना अन्तर्गत झाण्डै ४२ प्रतिशत महिला निर्बाचित छन, अझ भन्दा शाषनमा आसिन छन ।
नारीलाई दुर्बल बनाउने र उपभोग्य वस्तु ठान्ने डरलाग्दो विभेदकारी संस्कारबाट संसारको कुनै पनि ठाउँ अछुतो छैन । समाजले छोरी जन्मिनेबित्तिकै ऊमाथि विभेदपूर्ण व्यवहार सुरु गर्छ, जानेर–नजानेर वा चाहेर—नचाहेर । यसरी हुने विभेदका अनेक रूप छन् । नारी आफैँले त्यो विभेद थाहा पाउँदैनन् र स्वतः स्वीकार गर्छन् वा उनीहरू यसमा अभ्यस्त छन् । उनीहरू अवला र कमजोर हुने अनि कोमल हृदयी, सहयोगी र सुन्दरी देखिनुपर्ने बाध्यता चेतना खुलेदेखि मृत्युपर्यन्त रहेकै हुन्छ । गज्जबको कुरा के छ भने नारीलाई समाजले अत्यन्त संवेदनशील अवस्थामा राखेको छ, जो पुरुषको इच्छाअनुकूल चल्नुपर्ने बाध्यता छ ।
किशोरावस्थादेखि नारीमाथिका बन्धनहरू कसिला हुँदै जान्छन् । पुरुषले नारीको अस्तित्वलाई उपभोग्य वस्तु मान्ने परम्परा तोडिन सकेको छैन । विश्वव्यापीरूपमा विद्यमान छ, ठाउँ अनुसार मात्रात्मक फरक मात्रै हो । विश्वभरि नै नारी शरीरको मोलतोल भइराखेको छ । हाम्रा छोरी एक्लै हिँड्न सक्ने अवस्था संसारमै सृजना भएको छैन । यसो हुनुमा पुरुष र नारी दुवै जिम्मेवार छन् ।
आज नारीलाई केवल सन्तान उत्पादन गर्ने मेसिनको रुपमा मात्रै लिने गरिएको छ त्यसो त नारी अधिकारको लागि कानुन नबनेको भन्ने त होइन कार्यान्वयन पक्ष कमजोर हो । देशको सर्वोच्च निकाय राष्ट्रपतिमा अहिले नारी नै हुनुहुन्छ तर निर्मला पन्त जस्ता हजारौं बालिका बलात्कृत हुदा पनि सरकारले न्याय दिन सकेको छैन । देशको प्रमुख पदमा नारी हुदाहुदै पनि नारीमाथि अमानवीय व्यवहार हुनुले प्रमुख पदमाथि नै प्रश्न चिह्न खडा भएको छ।
बर्तमान समयमा हाम्रो समाजमा कुनै नारीको विहेपछि उसको श्रीमान् वित्यो भने उसलाई अल्छिनाको उपनाम दिईन्छ तर ती आरोप लगाउनेहरुले कहिलेपनि सोच्दैनन् कि के कारणले मृत्यु भएको हो भनेर आज अरुलाई अलछिनाको संज्ञा दिने समाजले भोलि अरुलाई के संज्ञा देला ? नारी भनेको एउटा यस्तो चिज हो जो विना धर्तीको सृष्टि त रोकिन्छ रोकिन्छ अधिकासको घरमा त चुलो पनि रोकिन्छ ।
नारी यति साहसिक हुन्छिन कि जसले आफुले जन्म पाएको ठाउलाई मात्रै होइन आफुलाई जन्मदिने कर्मदिने, हुर्काउने, बढाउने आमा-बुबालाई समेत त्यागेर अपरिचित मानिससग सम्बन्ध गास्छिन । उनलाई जन्म घर जन्मदिने आमाबुबा छाडेर आउदा कस्तो हुन्छ होला । त्यो असयिह प्रसव पिडा,बच्चा जन्माउने समय मरेर बाचेको कस्ले नै देख्छ र देख्छ त केवल उसको सानो कमजोरीलाई ठूलो बनाईदिनि कसरी हुन्छ राम्रोलाई नराम्रो भन्ने त्यसैले आजबाटै प्रतिज्ञा गरौ नारीमाथि म पनि अन्याय गर्दिन र गर्नपनि दिन्न भनेर ।
(यो निबन्ध २०७८/०२/१६ गते सामाजिक विकास डिभिजन कार्यलय पाल्पाले आयोजना गरेको निबन्ध प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको थियो)
लेखक : मधुसूदन पाण्डे