२६, जेठ
बुटवल । जनप्रतिनिधिले मापदण्ड विपरीत आफ्ना मान्छेलाई खोप लगाउन दिएपछि रुपन्देहीमा कोरोना भाइरस विरुद्धको खोप अभियान केही ठाउँमा स्थगित भएको छ ।
जनप्रतिनिधिका आफन्त, पार्टीका कार्यकर्तालाई खोप लगाउन दबाब दिएपछि विवाद हुँदा जिल्लाको तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका, ओमसतिया र मर्चवारी गाउँपालिकामा विवाद भएपछि खोप कार्यक्रम स्थगित भएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिनुभयो ।
चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको भेरोसेल खोप जिल्लामा ६२–६४ वर्ष उमेर समूहका १४ हजार ५ सय ५५ जना नागरिकलाई मंगलबारदेखि लगाउन शुरु भएको हो ।
यो उमेर समूहका नागरिकको संख्या जिल्लामा १८ हजार छ । लक्षित उमेर समूहलाई नै पुग्ने खोप नआएका बेला जनप्रतिनिधिले आफ्नो मान्छेलाई खोप लगाउन दबाब दिएको स्वास्थ्यकर्मीहरुको भनाई छ ।
‘तोकिएको उमेर समूहभन्दा बाहिर गएर एक जना वडाअध्यक्षले आफ्ना छिमेकी, आफन्त र कार्यकर्तालाई खोप लगाउन दिएपछि विवाद भयो’ एक स्वास्थ्यकर्मीले भन्नुभयो ।
प्रजिअ तामाङले विवादका विषयमा केन्द्र र प्रदेश सरकारलाई जानकारी गराइएको र सहजीकरण प्रयास भइरहेको बाउनुभएको छ । मंगलबार जिल्लामा ६९ खोप केन्द्रबाट ८ हजार ९९८ जनालाई खोप लगाइएको थियो । यसमध्ये अधिकांश पालिकामा जनप्रतिनिधिले नै आफन्त र कार्यकर्तालाई प्राथमिकता राखेपछि विवाद उत्पन्न भएको हो ।palika news