२३ कार्तिक, जिल्ला ब्यूरो
जिल्लामै पहिलो पटक फुटबल खेलाडीहरुलाई राष्ट्रियस्तरका प्रशिक्षकद्वारा प्रशिक्षण दिईएको छ । सदरमुकाम तम्घासमा रहेको स्थानीय इन्डोर फुटशल एकेडेमीले जिल्लामा रहेका खेल प्रतिभाहरुको प्रोत्साहन र उत्थानका लागि एक हप्ता प्रशिक्षण दिईएको हो ।
स्थानीयस्तरका खेलाडीहरुलाई प्रोत्साहन तथा खेलकुद क्षेत्रमा अगाडी बढाउने उद्देश्यले एक हप्ता प्रशिक्षण दिईएको एकेडेमीका अध्यक्ष सागर थापाले बताए । जिल्लामा लुकेर रहेका खेल प्रतिभाहरुलाई उजागर गरि राष्ट्रिय रुपमा अग्रसर बनाउन आफुहरु लागि परेको उनको भनाई छ । आर्थिक अवस्था कमजोर भई खेल क्षेत्रमा बञ्चित भएकाहरुलाई समेत एकेडेमीले सहयोग गर्ने अध्यक्ष थापाले प्रतिवद्धता व्यक्त गरे ।
काठमाडौँबाट राष्ट्रियस्तरका प्रशिक्षकहरु ल्याई रेसुङ्गा नगरपालिका–१ मा अवस्थित अर्जुन आवासीय माध्यमिक बिद्यालय नजिकै रहेको खेल मैदानमा–३५ जना खेलाडीहरुलाई प्रशिक्षण दिईएको थियो । राष्ट्रिय खेलाडी तथा प्रशिक्षक निशान श्रेष्ठ र प्रविन श्रेष्ठले यहाँका खेलाडीहरुलाई एक हप्ता सम्म प्रशिक्षण दिएका थिए ।
शनिबार सदरमुकाममा रहेको होटल सौर्य इनमा एक औपचारिक कार्यक्रमको आयोजना गरि एक हप्ते फुटबल टे«निङको समापन गरिएको हो । त्यस अवसरमा राष्ट्रियस्तरका प्रशिक्षक निशान श्रेष्ठले यस जिल्लामा पनि फुटबल खेलमा धेरै सम्भावंना रहेको बताए । यहाँका अर्गानिक खेलाडीहरुलाई राष्ट्रिय खेलमैदानमा दौडाउन सके फुटबल क्षेत्रले छिटो फड्को मार्ने श्रेष्ठले बताए । उनले यस जिल्लामा राष्ट्रिय फुटबल संघको स्थापना गर्न आवश्यक रहेको उल्लेख गरे ।
संयोजक रमेश कुँवरले राज्यको ध्यान केबल बाटो र भौतिक संरचना निर्माणमा मात्र गएको बताए । समग्र क्षेत्रको विकासका लागि बहुआयामिक रुपमा योजना बनाउनुपर्ने उल्लेख गर्दै कुँवरले यस जिल्लाका खेलाडीहरुको प्रोत्साहनका लागि राज्यले अहिलेसम्म पर्याप्त ध्यान पुर्याउन नसकेको बताए ।
वीरभद्रजङ्ग गुल्म गुल्मीका गुल्मपती मेजर भुपेन्द्रजंग गुरुङले जिल्लामै राष्ट्रिय खेलाडीहरुबाट यहाका स्थानीय नयाँ प्रतिभाहरुलाई प्रशिक्षण दिएको भन्दै आयोजकलाई धन्यवाद ज्ञापन गरे ।त्यस अवसरमा प्रशिक्षकद्वोय श्रेष्ठले खेलाडीहरुलाई खेलसँगै अध्ययनलाई पनि निरन्तरता दिन सुझाउँदै शैक्षिक सामग्री समेत उपहार प्रदान गरेका थिए ।