हुमाकान्त पोखरेल
गुल्मी, २८ असार । धुर्कोट गाउँपालिका खरका छानामुक्त गाउँपालिका घोषणा भएको छ । आइतबार गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लक्षमण पराजुलीले गाउँपालिकालाई खरका छानामुक्त गाउँपालिका घोषणा गरे ।
स्थानीय तहको निर्वाचनपश्चात निर्वाचित जनप्रतिनिधिहरुले चार बर्ष पहिले अर्थात ०७४ असार २८ गते गाउँपालिकालाई खरका छानामुक्त बनाउने पहिलो निर्णय गरेका थिए । सोही निर्णयको कार्यान्वयन गर्दै त्यसको चारबर्षपछि शपथ ग्रहणकै दिन पारेर पालिकालाई खरका छानामुक्त गाउँपालिका घोषणा गरिएको गाउँपालिका उपाध्यक्ष शिव बहादुर खत्रीले जानकारी दिए । गाउँपालिकामा हालसम्म जस्तापाता कार्यक्रमअनुसार ५०४ जनाले जस्ता पाएका छन् । जसका लागि एक करोड ८१ लाख ९२ हजार २८७ रकम खर्च भएको छ । वडा नम्बर १ नयाँगाउँमा २१, वडा नम्बर २ पिपलधारामा १७, वडा नम्बर ३ हाडहाडेमा ११०, वडा नम्बर ४ जैसिथोकमा ४० जनाले निःशुल्क जस्तापाता पाएका छन् । वडा नम्बर ५ वस्तुमा ६७, वडा नम्बर ६ रजस्थलमा १०६, वडा नम्बर ७ वाग्लामा १४३ जनाले गाउँपालिकाबाट जस्ता पाएका छन् । त्यसैगरी नागरिक सुरक्षित आवासअन्तरगत १५७ घर बनेका छन् । जसका लागि ७८ लाख ५० हजार रकम खर्च भएको प्रमुख प्रशासकीय अधिकृत काँशिराम पन्थीले जानकारी दिए । जनता आवासअन्तरगत ३७ घर बनेका छन् । यसका लागि एक करोड २४ लाख ५१ जार ८३२ खर्च भएको छ । एकीकृत नमुना बस्तीअन्तरगत एक करोड ६२ लाखमा १८ घर तथा १३ करोड ८३ लाखमा ५२९ घर भूकम्पपछि पुन निर्माण भएको पन्थीले जानकारी दिए । यसरी विगत चार बर्षमा सुरक्षित आवासका लागि गाउँपालिकामा कुल १९ करोड २९ लाख ९४ हजार ११९ लगानी भएको छ । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले आफुहरुको पहिलो निर्णय पुरा भएकोमा खुसि भएको प्रतिक्रिया दिए । विकसित देशहरुमा विकासले तिब्र रुप लिएपनि नेपालमा टिनका छाना लगाउँदा पनि खुसि मनाउनुपर्ने अवस्था रहेको उनले प्रतिक्रिया दिए । समग्र देशमा भएको विकासको सन्तुलनको तुलनामा धुर्कोटको विकास उच्च रहेको पनि उनले दाबी गरे । पानी पर्दा चुहिने डर र घाम लाग्दा आगलागिको डर भएको भन्दै गाउँपालिकाले जस्तापाता दिने कार्यक्रम ल्याएको पोखरेलले बताए । जिल्ला समन्वय समिति प्रमुख पराजुलीले जिल्लामै पहिलो पटक खरका छानामुक्त गाउँपालिका घोषणा गरेकोमा धुर्कोटलाई बधाई दिए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs