हुमाकान्त पोखरेल
१३ साउन, गुल्मी । जिल्लाको इस्मा गाउँपालिकाका ३० जना युवा उद्यमिलाई व्यवसाय प्रवर्द्धन गर्न निर्व्याजि कर्जा प्रदान गरिएको छ ।
गाउँपालिकाको आर्थिक सहयोग तथा उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाको बित्तिय सहजिकरणमा कर्जा प्रदान गरिएको हो । प्रति उद्यमि ५० हजारदेखि दुई लाखसम्म गरि कुल ३० लाख रुपियाँ कर्जा प्रदान गरिएको सहकारीका अनुगमन समिति सदस्य भरत चन्दले जानकारी दिए । कृषि र पसुपालनका विभिन्न शिर्षकहरु
बाख्रापालन, कुखुरा पालन, बंगुर पालन, लसुन खेती, माछापालन, तथा अन्य व्यवसायहरु मोटरसाइकल मर्मत, मुडा बुन्ने व्यवसाय, फेन्सि व्यवसाय लगायतका शिर्षकमा युवा उद्यमिहरुलाई कर्जा प्रदान गरिएको चन्दले जानकारी दिए ।
युवाहरूलाई उद्यमी बनाउन इस्मा गाउँपालिकाले ‘उद्यम विकास कोष संचालन निर्देशिका २०७७’ पारित गरी ‘उद्यम विकास कोष’ कार्यन्वयनमा ल्याएको छ ।
कोषको रकम परिचालन गर्नको लागि गाउँपालिकाले गत बर्षको माघ १० गते वित्तीय सेवा प्रदायक संस्था छनोटका गर्न सुचना जारी गर्यो । त्यस क्रममा उज्यालो बहुउदेश्यीय सहकारीले आवेदन दिइ छनोट भएको थियो ।
फागुन १३ गते गाउँपालिकाले नै उद्यम विकास कोषमार्फत सहुलियत कर्जा लिन चाहाने युवा उद्यमीहरु छनोटका लागि प्रस्ताव आह्वान गर्यो । आवेदन दिएकामध्ये प्रत्येक वडाबाट पाँच-पाँच जना छनोट गरी ६ वटा वडाका ३० जनालाई कर्जा वितरण गरिएको सहकारीका सल्लाहकार समिति संयोजक हिरा एसीले जानकारी दिए ।
गाउँपालिकाले बिना धितो र बिना व्याज कर्जा प्रदान गरेको छ । उद्यमीले दुई बर्षमा उक्त रकम फिर्ता गर्नुपर्नेछ । कर्जा लिएको एक बर्षको अन्त्यमा ५० प्रतिशत र दोश्रो बर्षको अन्त्यमा ५० प्रतिशत रकम फिर्ता गर्नुपर्नेछ । उद्यमीबाट फिर्ता भएको रकम गाउँपालिकाको उद्यम विकास कोषमा जम्मा हुनेछ । कोषमा जम्मा भएको रकमबाट पुन: अन्य उद्यमीलाई कर्जा प्रदान गरिने र यो क्रम निरन्तर चलिरहने गाउँपालिका अध्यक्ष लक्ष्मण विष्टले जानकारी दिए ।
निर्व्याजी कर्जा लिएका इस्मा ५ का व्यवसायिक बाख्रापालक गुञ्ज बहादुर विष्ट(कृष्ण)ले गाउँपालिका र सहकारीलाई धन्यवाद दिए । सो क्रममा उनले कृसि औजार, प्रविधी, सीप, उत्पादनको बजारिकरणमा सहयोग पुग्ने कार्यक्रम बनाउन गाउँपालिका र सहकारिलाइ अनुरोध गरे ।
साथै आफुले लिएको रकम सही ठाउँमा प्रयोग गर्ने उनले बताए । ‘तर्पाइहरु नयाँ युगको जिम्मेवारिमा हुनुहुन्छ, कृषिमा पनि नयाँ युग ल्याउनु पर्नेछ, त्यसैलाइ मध्यनजर गरेर गाउँपालिकाबाट कार्यक्रम बनाउनुहोला ।’ उनले भने, ‘सानो–सानो सहयोग मिल्दा पनि कृषकहरुलाई ठूलो हौसला मिल्छ ।’
गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले लिएको रकमको सही सदुपयोग गरि उत्पादन र आम्दानी वृद्धि गर्न आग्रह गरिन् । युवा उद्यम कार्यक्रमलाई निरन्तरता दिने भन्दै उनले बाध्यताले विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्न केन्द्रित हुनुपर्ने धारणा राखिन् । सहकारीका अध्यक्ष राजेन्द्र विक्रम कुँवरले उद्यमशिलताको बिकासका लागि सहकारीको स्थापना गरेको भन्दै उत्साहका साथ काम गर्न उद्यमीलाई आग्रह गरे ।
सहकारीले छल्दीमा ‘कृषि उपज संकलन तथा प्रशोधन केन्द्र’को स्थापना गर्न लागेको भन्दै कुँवरले अब इस्मामा उत्पादित कृषिजन्य उत्पादनहरुलाई बजारिकरणमा सहयोग हुने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर