२४ कात्तिक, पश्चिम ब्यूरो
गुल्मीको रेसुङ्गा नगरपालिकामा गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषण तथा सरसफाई सामाग्री वितरणको शुभारम्भ गरिएको छ । आइतबार रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले सुत्केरी महिलाहरुलाई पोषण तथा सरसफाई सामाग्री वितरण गरि यो कार्यक्रमको शुभारम्भ गरे । स्वस्थ आमा-स्वस्थ शिशु कार्यक्रम अन्तर्गत रेसुङ्गा नगरपालिकाका १४ वटै वडामा यो कार्यक्रमको शुभारम्भ गरिएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य शाखा संयोजक बोम अर्यालले जानकारी दिए ।
नियमित रुपमा गर्भ जाँच गर्ने महिलाहरुलाई पाँच पटक पोषण तथा सरसफाई सामाग्री वितरण गरिने अर्यालले बताए ।यस कार्यक्रमबाट यस आर्थिक वर्षमा करिब १५० जना लाभांवित हुने छन् । उनीहरुले प्रत्येक पटक जाँच गराउँदा गर्भ जाँच गराएकै स्वास्थ्य चौकीबाट पोषण तथा सरसफाईका सामाग्री प्राप्त गर्नेछन् । एक जना गर्भवती महिलालाई एक क्यारेट अण्डा, एक किलो भट्टमास, १ किलो अयोडिन नुन, नङकट, मास्क, साबुन लगायतका सामाग्री वितरण गरिएको हो ।
सदरमुकाम तम्घासमा रेसुङ्गा नगरपालिका १, २ र ८ नम्बर वडाका प्रतिनिधिमूलक रुपमा उपस्थित भएका १९ जना गर्भवती महिलाहरुलाई पोषण तथा सरसफाईका सामाग्री वितरण गरिएको थियो । वितरण कार्यक्रममा रेसुङ्गा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक थम्मन के.सीको अध्यक्षता, रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालको प्रमुख आतिथ्यता, वडा नम्बर १ का वडाअध्यक्ष अखिलेश्वर प्रसाद पाण्डे, गुल्मी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.उत्तम पच्या लगायतको आतिथ्यता रहेको थियो ।