बुटवल, २९ जेठ ।

भैरहवास्थित गौतब बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको एक वर्षपछि राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमले पहिलोपटक मलेसिया–भैरहवा–काठमाडौं व्यवसायिक उडान गर्ने निश्चित भएको छ ।

निगमका अध्यक्ष युवराज अधिकारीले भैहरवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार बिहान साढे ७ बजे निगमको १ सय ५८ सिट क्षमताको न्यरोबडी मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवा अवतरण भई काठमाडौं आउने बताए ।

‘सय हाराहारी यात्रु मलेसियाबाट नेपाल आउने अपेक्षा छ,’ अध्यक्ष अधिकारीले भने, ‘तीमध्ये मलेसियाका पर्यटन व्यवसायीहरुसहित ८/१० जना भैरहवामा अवतरण गर्ने यात्रु छन् । बाँकी काठमाडौं ओर्लने छन् ।’ निगमले गरेको पहिलो भैरहवा उडानमा निम्त्याइएका मलेसियाका पर्यटन व्यवसायीहरु भने भैरहवामा अवतरण भएपछि लुम्बिनी भम्रण गरी काठमाडौं आएर मलेसिया फर्किने छन् ।

निगमका सहप्रवक्ता गणेश घिमिरेका अनुसार, निगमले जेठ पहिलो साता मलेसिया–भैरहवा उडानको घोषणा गर्दै सुरुमा मलेसिया–भैरहवाका लागि प्रवर्द्धनात्मक हवाई भाडा ११ हजार रुपैयाँ घोषणा गरेको थियो । ‘शुरुमा प्रवर्द्धनात्मक एकतर्फी भाडा ११ हजार रुपैयाँ थियो । अहिले मलेसिया–भैरहवा ३१ हजार र मलेसिया–काठमाडौं ५६ हजार रुपैयाँ दरमा एकतर्फी टिकट बिक्री गरिरहेका छौं,’ सहप्रवक्ता घिमिरेले भने ।

मलेसियाबाट भैरहवाको उडान समय ४:४५ मिनेट हाराहारी रहनेछ । भैरहवामा यात्रु ओरालेर निगमको जहाज त्यहाँबाट काठमाडौं आउने छ । न्यारोबडी विमानका लागि भैरहवाबाट काठमाडौं उडान समय २५ मिनेट हाराहारी लाग्छ ।

आइतबार राति ९ बजेको उडानमा जाने चालक दलको टोलीले क्वालालम्पुरबाट मंगलबार बिहान भैरहवाका लागि उडान गर्नेछ । नेपाली वायुसेवाको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएकाले यात्रुहरुको स्वागत गर्न पर्यटनमन्त्री सुदन किराती भैरहवा जाँदैछन् । कार्यक्रम तयारीका लागि आइतबारै निगमका उपनिर्देशक रमेश पौडेलसहितको टोली भैरहवा पुगिसकेको छ । ‘पहिलो चरणमा न्यरोबडीबाट सातामा एउटा उडान गर्ने छौं,’ अध्यक्ष अधिकारीले भने, ‘भारतले अनुमति दिईहाले चाँडै मलेसिया–भैरहवा–दिल्ली–काठमाडौं उडान गर्ने योजना छ ।’

०७९ जेठमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको कम्तीमा १० अर्ब रुपैयाँ लगानीमा बनेको मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नेपाल वायुसेवा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि त्यहा व्यवसायिक उडान गर्नेमा कुबेतको जजिरा एयरलायन्स मात्रै थियो । जजिरापछि नेपाली लगानीकर्तासमेत रहेको हिमालय एयरलायन्सले कात्तिकमा मलेसिया चार्टर उडान गरेको थियो । हाल यी दुबै वायुसेवाले नियमित तथा चार्टर उडानलाई निरन्तरता दिएका छैनन् ।

यसैबीच भैरहवामा व्यवसायिक उडान गर्न राष्ट्रिय ध्वजावाहक निगम पुगेको छ । यसले यात्रुको चाप वृद्धि भए नियमित उडानलाई निरन्तरता दिने भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय