हुमाकान्त पोखरेल, गुल्मी ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाका चार सहकारीको एकीकरण गरिएको छ । गाउँपालिकाका श्रृङ्गेश्वर, मिलिजुली, रुरुकन्या र ग्वादी महिला उद्यमी बहुउदेश्यीय सहकारी सहकारी संस्थालाई एकीकरण गरिएको हो । नयाँ सहकारीको नाम ‘एकता महिला उद्यमी हुउदेश्यीय सहकारी संस्था लिमिटेड’ राखिएको छ । साना सहकारीमा कम शेयर सदस्य र थोरै पुजीँ हुने भएकोले सहकारीको एकीकरण गरिएको हो । सहकारी एकीकरण गर्नको लागि रुरुक्षेत्र गाउँपालिकाले गत माघमा कार्यविधि नै बनाएको थियो ।
एकीकरण भएकामध्ये श्रृङ्गेश्वर सहकारीका २४ जना शेयर सदस्यको २४ हजार र मिलिजुली सहकारका एक सय ५६ जना शेयर सदस्यको एक लाख ५५ हजार शेयर पुजीँ रहेको थियो । त्यसैगरी रुरुकन्या सहकारीका ५२ शेयर सदस्यको ५२ हजार र ग्वादी सहकारीका ५१ शेयर सदस्यको ५१ हजार गरी चारै सहकारीका दुई सय ८३ जना शेयर सदस्यको दुई लाख ८२ हजार शेयर पुजीँ रहेको थियो । मिलिजुली सहकारीमा एक लाख ८२ हजार चार सय बचत रहेको थियो भने दुई लाख ८१ हजार पाँच सय ऋण परिचालन भएको थियो ।
चार सहकारी एकीकरण गरी नयाँ सहकारी बनाएसँगै शेयर सदस्य थपिएका छन् भने शेयर पुँजी, बचत, ऋण परिचालन र आम्दानीमा बृद्धि भएको छ । पुराना चारवटा सहकारी अर्थात हालको एकता सहकारीमा अहिले एक हजार चार सय ४८ शेयर सदस्यको आठ लाख ६६ हजार पाँच सय रुपैँया शेयर पुँजी भएको छ । त्यसैगरी बचत ११ लाख ५९ हजार आठ सय, ऋण परिचालन २१ लाख ५३ हजार तथा आम्दानी एक लाख ४४ हजार आठ सय रहेको सहकारीका अध्यक्ष मञ्जु ज्ञवालीले जानकारी दिइन् ।
सहकारीको एकीकरणपश्चात पनि नयाँ सहकारीका पाँचवटा बैठक सम्पन्न भएका छन् । त्यसैगरी सोमबार सहकारीको प्रथम साधारण सभा सम्पन्न भएको छ । रुरुक्षेत्रमा हेफरसँगको साझेदारीमा नवप्रभावत युवा संघको सहजिकरणमा रुरु कृषि परियोजना संचालन भएको छ ।
गत बर्षको माघबाट सुरु भएको परियोजनाले पालिकामा कृषि तथा पशुको क्षेत्रमा काम गर्छ । परियोजनाले महिलाहरुलाई समुहमा आवद्ध गराई क्षमता विकाससम्बन्धि विभिन्न तालिमहरु संचालन ग¥यो । त्यसैगरी कृषि र पशुपालनसम्बन्धि विभिन्न तालिमको संचालन, तरकारी तथा घाँसका बीउ-बिरुवा, बाख्रा, बोका लगायतका कृषिजन्य सामग्री पनि परियोजनाले सहयोग गर्यो । परियोजनाले सहकारीहरुको लागि एकीकरणको अभियान सुरु गर्र्यो । जसको परिणामस्वरुप अहिले चार सहकारी एकीकरण भई महिलाहरु एकै सहकारीमा आवद्ध भएको परियोजनाका प्राविधिक संयोजक शशी भुसालले जानकारी दिए ।
साधारण सभामा बोल्दै गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले पालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउनको लागि रुरु कृषि परियोजना संचालन गरेको बताए । ‘परियोजनाले महिलाहरुको आय–आर्जन बृद्धि गर्न काम गरेको छ ।’ ज्ञवालीले भने, ‘तपाइहरु काम गर्नुस्, आवश्यक सहयोग पालिकाले गर्छ ।’ अध्यक्ष ज्ञवालीले महिलाहरुलाई उत्पादनमा लाग्न पनि अनुरोध गरे । उपाध्यक्ष मीनादेवी गौतमले पहिले उठेर परिचय दिन नसक्ने महिलाहरु अहिले ठुला–ठुला कार्यक्रम संचालन गर्न सक्ने भएकोमा खुसि लागेको बताइन् । प्रमुख प्रशासकीय अधिृकत लक्ष्मण पाण्डेले सहकारीलाई प्रोत्साहन हुनेगरी आगामी नीति तथा कार्यक्रम ल्याउने बताए ।




