काठमाडौं : आइतबार बिहानै गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बुढीगण्डकी नदीमा आएको ठूलो बाढी र नदीको बहाव निरन्तर बढिरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचइओसी) सक्रिय बनाएको छ।

मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा, आकस्मिक उपचार तथा स्वास्थ्यसम्बन्धी सहायता उपलब्ध गराउने तयारी र समन्वयका लागि केन्द्र सक्रिय गरिएको जनाएको हो।

मन्त्रालयले बुढीगण्डकी नदीसहित जोखिममा रहेका नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन, जोखिमयुक्त स्थानबाट सुरक्षित स्थानमा जान तथा सम्भावित विपद्बाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, आकस्मिक उपचार वा अन्य स्वास्थ्यसम्बन्धी सहयोग आवश्यक परेमा १११५ मा सम्पर्क गर्न सकिने समेत जनाएको छ। हालसम्म बुढीगण्डकी बाढीले छ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्। बाढीले दुई वटा मोटरेबल र चारवटा झोलुङ्गे पुल बगाएको छ।

यस्तै, आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगेका हुन्। बाढीले धार्चे गाउँपालिका १ र ३ जोड्ने बेलिब्रिज पनि बगाएको छ।

यसैगरी, माछाखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन्।

बाढीले चुमनुब्रीगाउँपालिका– ३ पैयुँ र बगरका करिब ३५ घर पनि बगाएको छ। बाढीबाट जगत्, सल्लेरी, दोभान र घट्टेखोलागाउँमा पनि क्षति भएको भए को छ। यस्तै सम्भावित स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले एचइओसीलाई सक्रिय गराएको हो।

स्रोत थाहा खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय