२९, कार्तिक खुल्ला न्यूज
राजधानी । सरकारले अबदेखि कोरोना संक्रमितसँग नजिक रहेका व्यक्तिहरूलाई कोरोना संक्रमण भए/नभएको पत्ता लगाउने परीक्षण एन्टीजेन विधिबाट गर्ने भएको छ। काठमाडौं उपत्यका लगायत मानव बसोबास घना भएको क्षेत्रमा कोरोना संक्रमण फैलँदै जाँदा सरकारले अबदेखि यो विधिबाट परीक्षण गर्ने भएको हो।

धेरै जनघनत्व भएको क्षेत्रमा देखिएका संक्रमितहरूको नजिक रहेकालाई संक्रमण भए/नभएको पत्ता लगाउन कन्ट्याक्ट ट्रेसिङलाई व्यापक बनाउनेदेखि परीक्षणमा एन्टीजेन विधि अपनाइने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार मन्त्रालयले सो परीक्षण विधिमा पीसीआरसँगै एन्टीजेन समेत थप गर्न लागेको हो।

‘छिटो र सरल छ, रिपोर्ट आउन धेरै समय नलाग्ने हुँदा एकैपटक ठूलो जनसंख्या भएका क्षेत्रमा गएर परीक्षण गर्न सकिन्छ, अब धेरै जनघनत्व भएको र संक्रमण बढ्दै गएको क्षेत्रमा कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूको परीक्षण हामीले एन्टिजेन परीक्षणबाट गर्ने तयारी गरेका हौँ, सम्भवत: तिहारलगत्तै शुरू गर्छौं,’ डा गौतमले भने।

कोरोना परीक्षणमा पीसीआर ७५ प्रतिशत प्रभावकारी हुन्छ भने एन्टीजेनको प्रभावकारिता ८० प्रतिशत बढी रहन्छ। स्वाब दिएर रिपोर्ट नआउँदासम्म छुट्टै बस्न भनिए पनि नबस्ने गरेको पाइएको हुँदा त्यसका लागि पनि यो विधि बढी प्रभावकारी हुने देखिएपछि काठमाडौं लगायत धेरै संक्रमण देखिएको ठाउँमा एन्टिजेन परीक्षण गर्न लागिएको हो।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार तिहार लगत्तै सरकाले एक लाख थान एन्टीजेन कीट ल्याउनेछ। त्यसपछि परीक्षण थाल्नेछ। एक लाख थान कीट युनिसेफको सहयोगमा आउन लागेको हो।

यसअघि असोजको दोस्रो सातामै सरकारले कोभिड-१९ को परीक्षण सम्बन्धि मापदण्डमा संसोधन गरी एन्टीजेनमा आधारित परीक्षण विधिलाई पनि मान्यता दिई सञ्चालनमा ल्याउने बताएको थियो।

नेशनल टेस्टिङ गाइडलाइन फर कोभिड मा चौथो संसोधन गर्दै सरकारले यो नयाँ विधिबाट समेत कोरोना परीक्षण गर्न लागेको जनाएको थियो। संसोधन गरिएको मापदण्ड अनुसार एन्टीजेनको कीट तथा रिएजेन्टहरू एफडीए र ईयुले मान्यता दिएको वा स्वास्थ्य सेवा विभागबाट स्वीकृतिप्राप्त हुनुपर्नेछ।

यस विधिमा पोजेटिभ आएकाहरूलाई पोजेटिभ र नेगेटिभ आएकाहरूको हकमा नेगेटिभ नै मान्ने, यदी लक्षण भएर पनि रिपोर्ट नेगेटिभ आएमा पीसीआर गर्ने र त्यसमा पनि नेगेटिभ आएमा लक्षण अनुसार अरू उपचारका लागि सिफारिस गरिनेछ।

के हो एन्टिजेन परीक्षण ?

एन्टीजेन विधिलाई पोइन्ट अफ केस भन्ने गरिएको छ। यो निश्चित प्रयोगशालामा नगई स्वाब परीक्षण गरिने माध्यम पनि हो। अस्पतालको सानो कुनामा बसेर वा क्लिनिकमा पनि परीक्षण गर्न सकिन्छ।

सरकारले यसअघि विवादित रुपमा शुरू गरेको आरडिटी परीक्षण जस्तै धेरैले यसलाई पनि शंकास्पद ठानेका छन्‌। तर, आरडिटी र एन्टिजेन परीक्षणमा फरक रहेको डा. गौतमले बताए।

परीक्षण नतिजाको हिसाबमा आरडिटी परीक्षण र एन्टिजेन परीक्षणको रिजल्ट छिटो रिजल्ट प्राप्त गर्ने माध्यम हो। तर, आरडिटी परीक्षण शरीरको एन्टिबडी परीक्षण गर्ने विधिजस्तै थियो। यसमा रगत निकालेर भाइरसविरुद्ध एन्टीबडी छ कि छैन भनेर परीक्षण गरिएको थियो। त्यसको विश्वसनीयता अझ धेरै कम अर्थात ५० देखि ७० प्रतिशतसम्म मात्र थियो।

तर एन्टीजेन परीक्षणमा शरीरको एन्टिबडी हेर्नुभन्दा शरीरमा कोरोना भाइरस प्रवेश गरेको छ कि छैन भनेर हेरिन्छ। एकप्रकारको एन्टीजेन पैदा हुने हुँदा यसबाट शरिरमा भाइरस संक्रमण छ छैन भनेर तत्काल पत्ता लगाउन सकिन्छ।

भाइरसको प्रवेश हुनासाथ एन्टीबडीको सक्रियता बढ्ने हुँदा संक्रमण व्यापक रुपमा फैलिएको अवस्थामा छिटो संक्रमित पत्ता लगाउन एन्टीजेन परीक्षण उपयुक्त देखिएको डा.गौतमले बताए। स्बाव र रगतबाट एन्टीजेन परीक्षण गर्न सकिने उनले जानकारी दिए।

एकै पटक धेरै जनामा परीक्षण गर्नुपरेमा मास स्क्रिनिङ, अस्पतालमा उपचारका क्रममा तुरुन्तै कोरोना रिपोर्ट चाहिएमा र धेरै व्यक्तिहरू बस्ने ठाउँमा यो विधिबाट परीक्षण हुनेछ। सेना र प्रहरीका ब्यारेक, जेल, वृद्धाश्रम आदिमा ठाउँमा एन्टिजेनमा आधारित परीक्षण गरिनेछ।

एन्टिजेनमा आधारित परीक्षण गर्दा पोजिटिभ आएमा उक्त रिपोर्टलाई पोजिटिभ नै मान्ने र नेगेटिभ आएमा त्यो व्यक्तिमा लक्षण छ कि छैन निर्क्योल गरी लक्षण पाइएमा आइसोलेसनमा राखी पीसीआर जाँच गरिनेछ।

तर, त्यहाँ एन्टिजेन बेस्ड टेस्ट पुनः नगरिने भएमा मात्र पीसीआर जाँच हुनेछ। उक्त समयमा पोजिटिभ रिपोर्ट आएमा संक्रमितलाई आइसोलेसनमा राख्ने र उपचार थालिनेछ भने नेगेटिभ आएमा अन्य कारणहरू खोजी गर्ने उपचार गर्ने निर्देशिकामा उल्लेख छ। नेगेटिभ आएको व्यक्तिलाई कोभिड भएको व्यक्तिको सम्पर्कमा नआएको भए पीसीआर परीक्षण गरिने छैन।Thaha Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय