०२,मंसिर खुल्लान्यूज
राजधानी । नेपालको ईतिहासमै शक्तिशाली सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) यतिबेला आन्तरिक किचलोमा फसेको छ । एकातिर १० वर्षे जनयुद्धको नेतृत्व गरेर शान्ती प्रक्रृया मार्फत संसदिय बाटोमा आएका दुई पटकसम्म प्रधानमन्त्री समेत भएका नेता पार्टीको कार्यकारी अध्यक्ष छन । अर्कोतिर १४ वर्षे जेल जिवन बिताएर तत्कालिन एमालेको महाधिवेशनबाट अध्यक्ष भएका साथै भारतिय नाकाबन्दीको बेला भारतसंग कुनै वार्ता नगरि आफ्नो साख जोगाएर पार्टी र आफुलाई राष्ट्रवादी कहलाएका दोस्रो कार्यकालको लागी प्रधानमन्त्री समेत रहेका नेता अध्यक्ष छन ।
नेपाली उखान छ, एउटै जंगलमा दुईवटा सिंह रहन सक्दैन के यस्तै हुन खोजेको हा त ? नेपालको शक्तिशाली कम्युनिष्ट पार्टी ।
नेकपाका दुई अध्यक्ष दुई रणनीति बनाइरहेका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूह चाहन्छ- ३ मंसिरको सचिवालय बैठक बसोस् । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली चाहन्छन्- ३ मंसिरको सचिवालय बैठक स्थगित होस् ।
बैठक बस्ने नै भए ओलीको सर्त छ– अध्यक्ष प्रचण्डबाट सचिवालयमा प्रस्तुत राजनीतिक प्रस्ताव फिर्ता । १९ पेज लामो प्रचण्डको दस्तावेज सुझबुझपूर्ण मात्र होइन, लामो यात्राका लागि सचिवालयमा पेस भएको देखिन्छ । जसमा नाै मध्ये पाँच जना सचिवालय सदस्य सहमत छन् र उनीहरूले प्रधानमन्त्री ओलीलाई प्रष्टै भनिसकेका छन्– ५ जनाको सामूहिक अभिव्यक्ति हो, प्रचण्डको दस्तावेज ।
तर, प्रचण्ड–नेपाल समूह ओलीका सम्भावित कदमको विश्लेषणसहित ३ मंसिरको सचिवालय बैठकलाई निरन्तरता दिने अनि स्थायी समिति र केन्द्रीय समितिको बैठक बसाल्ने रणनीतिमा छन् । त्यहीअनुसार यो समूह सक्रिय भेटघाट र विर्मशमा छ । र बैठक रोक्ने पक्षमा प्रचण्ड–नेपाल समूह छैन । यो समूहका सचिवालय सदस्य झलनाथ खनाल भन्छन् – ‘पूर्वनिर्धारित बैठक हुन्छ, कोही अनुपस्थित हुनसक्छ ।’ यता, २८ कात्तिकको सचिवालय बैठकयता ओलीले दस्तावेज फिर्ता गराउन लामै प्रयास मात्र गरेनन्, आफू निकटका नेता, कार्यकर्तामार्फत फिर्ताका लागि सार्वजनिक दबाब सिर्जना गराए । २९ कात्तिकमा ओलीनिकट सचिवालय सदस्य ईश्वर पोखरेल, नेता शंकर पोखरेल मात्र होइन, प्रेस सल्लाहकार सूर्य थापासमेतले प्रचण्डको दस्तावेज फिर्ता नगरी बैठक बस्न नहुने धारणा सामाजिक सञ्जालमार्फत सम्प्रेषित गरेका थिए । दस्तावेज फिर्ता गराउन ओलीले महासचिव विष्णु पाैडेललाई प्रचण्ड निवास पठाए ।
ओलीले यसबीचमा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि सचिवालय सदस्य माधव नेपाल, वामदेव गौतमसँग विर्मश गरे । नेता नेपाल र गौतमसँगको संवादका लागि सुझाव थियो, राष्ट्रपति भण्डारीको । २९ कात्तिक साँझमा राष्ट्रपति भण्डारीसँग संवादबाट फर्किएपछि ३० कात्तिकमा नेपाल र गौतमसँग विमर्श गरे, नेता नेपालसँग कात्तिक महिना मात्र चार पटक संवाद गरे, जबकि ९ साउनपछि ओलीले नेता नेपालसँग दोहोरो संवाद नै गरेका थिएनन् । दुवै नेतासँगको भेट प्रचण्डको दस्तावेज फिर्ता गराउने प्रयासमा केन्द्रित थियो र दुवै नेतालाई आश्वासन पनि थियो । आखिर, दुवै नेताले ओलीको आश्वासन र आग्रह अस्वीकार गरेपछि ओली थप दबाबमा परेका छन् ।
प्रचण्ड र नेपालपक्षीय नेताहरूको निरन्तरका संवाद, विमर्श र गठजोडले जति ओलीलाई दबाब सिर्जना गरेको छ, ओली समूहभित्रै पनि ओली प्रवृत्तिसँग आजित नेताहरू देखिन थालेका छन् । त्यसैले ओलीमाथिको संकट थपिँदो छ । केही दिनअघि ललितपुरको तुलसीलाल स्मृति भवनमा नेता नेपालसहित नेपालपक्षीय नेताहरूको जमघटले पनि अब ब्याक हुने पालो ओलीको हो भन्ने निष्कर्ष निकालेको थियो । अध्यक्ष प्रचण्ड र नेता नेपाल जसरी पनि ३ मंसिरको बैठक बसाल्ने पक्षमा छन्, प्रधानमन्त्री ओली उपस्थित नभए पनि । पाँच जना सचिवालय सदस्यको यही अडानका कारण प्रधानमन्त्री ओलीले २ मंसिर बिहान महासचिव पौडेललाई खुमलटार पठाएका थिए, बैठक स्थगित गराउने प्रस्तावसहित ।
तर, प्रचण्ड र नेपालसमूह पछाडि हट्ने मुडमा छैन । त्यसैकारण प्रचण्डले २ मंसिरमै पूर्वमाओवादी नेताहरू टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, मणि थापालगायतसँग विमर्श गरे । अर्थात् प्रचण्ड र नेपाल समूह अगाडि बढ्ने मुडमा छन् । नेता खनाल पार्टीले चाहेमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई दुवै पदबाट हटाउन सक्छ भनिरहेका छन् ।
ओलीले भनेझैँ २८ कात्तिकमा पेस भएको राजनीतिक प्रस्ताव फिर्ता लिए प्रचण्डलाई नैतिक संकट पर्नेछ । र पाँच जना सचिवालय सदस्यले पराजित महसुुस गर्नेछन् । त्यो अवस्थामा अहिले यो समूह देखिँदैन । प्रचण्ड समूहले नैतिक संकट टार्न प्रस्ताव सचिवालय छलफलमा लैजाने हो भने ओलीलाई नैतिक संकट पर्नेछ । त्यसैले भिरको छेउमै पुगेको नेकपालाई काँध थाप्न तयार भएर पार्टी बचाउलान वा पदको भुमरीमा चिप्लिएर खस्लान, सधैको लागी समाप्तीको बाटो रोज्लान ।