६ मंसिर,खुल्लान्यूज
राजधानी ब्यूरो । शाहवंशिय राजाहरुको बासस्थान नारायणहिटी दरबार, नेपालका राजाहरुले १३५ वर्षसम्म निवासस्थानको रुपमा प्रयोग गरे । दोस्रो जनआन्दोल २०६२|०६३ भैसके पछि नेपाल राजतन्त्रबाट गणतन्त्रमा रुपान्तरण भयो ।
नेपाल गणतन्त्रात्मक राज्य घोषणा भए लगत्तै वि.स.२०६५ असार १ गते राजदरबारबाट राष्ट्रिय संग्राहलय बनाउने घोषणाका साथ तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले झण्डोत्तोलन गरि संग्राहलयको घोषणा गरेका थिए । त्यसको आठ महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संग्राहलय सर्वसाधारणको लागी खुल्ला गराएका थिए । नारायणहिटी संग्राहलय ७५३ रोपनी क्षेत्रफलमा फैलिएको छ, दरबारले मात्र ३१८ रोपनी क्षेत्रफल ओगटेको छ ।
दरबारलाई संग्रहालयको रुपमा विकास गरि सर्वसाधारणको लागी खुल्ला गरिएपनि अझै केही मुख्य भागहरु बन्द गराएर राखिएको छ । पछिल्लो पटक तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्रीसदन’ आइतबारबाट सर्वसाधनका लागि खुला हुने भएको छ । आज दिउसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नारायणहिटी दरबारभित्रको श्रीसदनको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।
आइतबारदेखि नारायणहिटी दरबार सङ्ग्रहालयमा आएका अवलोकनकर्ताले श्रीसदनका साथै ग्यारेज र गणतन्त्र स्मारकसमेत अवलोकन गर्न पाउने व्यवस्था मिलाइएको छ ।
कोरोनाका कारण नारायणहिटी दरबार संग्रहालय अवलोकनका लागि बन्द गरिएको थियो । आइतबारबाटै संग्राहालय पुनः खुला गरिँदै छ ।
सन् १९३९ मा तत्कालीन राजा त्रिभुवनलाई हिटलरले उपहारस्वरूप दिएको गाडी पनि सर्वसाधारणका लागि खुला गरिने भएको छ ।