नेकपा भित्रको अन्तरसंघर्ष र बहस निकै उत्कर्षमा पुगेको छ । मुख्य नेतृत्वदेखि आम नेता र कार्यकर्ताहरु चर्काचर्की बहस र छलफलमा ध्रुबीकृत मात्रै भइरहेका छैनन् । सामाजिक सञ्जालमा एकअर्काप्रति तुच्छ प्रकारको टिकाटिप्पणीमा समेत उत्रेका छन् । नेकपा भित्रको यो बहस र संघर्षलाई सजिलोसँग बुझ्न नेकपा र नेकपाको नेतृत्व निर्माणको ऐतिहासिक पृष्ठभूमी र कार्यशैलीको अध्ययन जरुरी बन्न गएको छ ।
एकातिर टुटफुट र विभाजनको लामो श्रृंखलाबाट वामपन्थी जनसमुदाय र समर्थकहरुबाट नेपालको कम्युनिष्ट आन्दोलन सर्वथा आलोचित भइरहेको थियो । अर्काेतर्फ महान जनयुद्ध, संयुक्त जनआन्दोलन लगायतका राजनीतिक क्रान्तिको क्रममा जनताको अभुतपूर्व त्याग, समर्पण र वलिदानसँग साटिएका राजनीतिक उपलब्धीहरु गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी समानुपातिक प्रणाली जस्ता एजेण्डाहरुलाई रक्षा गर्दै आर्थिक समृद्धि र समाजिक न्यायसहितको समाजवाद निर्माण गर्नु मुलुकको वस्तुसंगत आवश्यकता बन्न गयो ।
उपरोक्त वस्तुगत र आत्मगत धरातलको पृष्ठभूमीमा नेपालका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) एकताको सन्देशसहित वाम गठबन्धन बनाएर गत निर्वाचनमा होमिए । जनताले विगतको कमजोरीबाट सच्चिएको र समाजवाद निर्माण गर्ने प्रतिबद्धता सहितको नेकपा हो भन्ठानेर नै झण्डै दुईतिहाइको जनमत दिए । टुटफुटको वामपन्थीे इतिहासबाट एकताको सन्देश प्रवाह गरेको नेकपाले आर्थिक समृद्धि र सामाजिक न्यायसहितको समाजवाद निर्माण गर्ने छ भन्ने जनताको अपेक्षा थियो ।
समाजवाद निर्माणको उद्घोष गरेको (नेकपा) नेतृत्वको सरकारले संविधान प्रदत्त मौलिक हकहरु शिक्षा, स्वास्थ्य, आवास, खाद्य सम्प्रभुता र रोजगारीको ग्यारेण्टी गर्नेछ, कम्तिमा शिक्षा र स्वास्थ्यमा राष्ट्रियकरणको अभियान चल्नेछ । आर्थिक विकास र राष्ट्रिय उत्पादनमा तिव्रता आउने छ । राष्ट्रमा उद्योग र कल कारखानाहरुको अभुतपूर्व विकास हुनेछ र रोजगारीको अवसर श्रृजना हुनेछ । अब विदेशमा मजदूरी गर्न जानु पर्दैन । नेपालमा नै योग्यता अनुसारको काम र काम अनुसारको दाम पाइने छ । शुसासन र स्थायित्वको नेतृत्व पनि नेकपाले गर्ने छ । अब कहीँ कतै भ्रष्टाचार र अनियमितता हुनेछैन । वर्षेनी सरकार परिवर्तनको खिचातानी हुनेछैन र स्थायी सरकारले दिगो विकासको रणनीतिमा काम गर्नेछ ।
भौतिक पूर्वाधारमा अभुतपूर्व क्रान्ति आउने छ । बाटोघाटो, पुलपुलेसा, विद्युत, खानेपानी, सिचाई, लगायतका कार्यहरु निश्चित विधिमा विकास हुनेछन् । जनताले यस्तै यस्तै सपना देखेर नेकपालाई आफ्नो अमूल्य मतदान गरेका थिए । हो, जनताले बढी नै अपेक्षा गर्छन् जति राजनीतिक पार्टी र नेताहरुले निर्वाचनको बेला घोषणा गर्ने गर्छन हो, त्यति नै बढी ।
नेकपाका इमान्दार नेता, कार्यकर्ताहरु पनि निकै मख्ख थिए । दुईठूला कम्युनिष्ट पार्टीको एकताले अब हाम्रो समाजवादको यात्रा सफल हुन्छ ।
शसस्त्र विद्रोहमार्फत जनताका राजनीतिक एजेण्डा र आवाजहरुलाई राज्यसत्ताको बागडोरसम्म पुर्याउन सफल नेकपा (माओवादी केन्द्र) र शान्तिपूर्ण प्रतिस्पर्धामा श्रेष्ठता हासिल गरेको नेकपा (एमाले)को एकताले नेपाली कम्युनिष्ट आन्दोलनका दुबै धाराको समायोजन भएको छ । अब साँच्चिकै शहिदका सपनाहरु र जनताका चाहानाहरु पूरा हुन्छन् । उनीहरु रुस, चीन, कोरिया, क्युवा जस्ता मुलुकहरुको सपना देख्न थालिसकेका थिए । यद्यपी दुई भिन्न विचारधारात्मक प्रशिक्षणको पृष्ठभूमीबाट आएका नेता कार्यकर्ताहरुमा धेरै छलफल र बहसबिना नै पार्टीको एकता भएको थियो ।
जसका कारणले उत्पन्न अन्यौलता र सन्देहका बाबजुद पनि नेतृत्वको प्राधिकारपूर्ण निर्णय र जनताको जनमतका अगाडि ती नेता र कार्यकर्ताहरु एकताको पक्षमा दृढतापूर्वक उभिए । हो, इमान्दार नेता कार्यकर्ताहरुले विचार र नेतृत्वप्रति बढी नै विश्वास गर्छन् जति नेतृत्वहरुले आगामी कार्यदिशा र भविश्यप्रति उनीहरुलाई विश्वस्त पार्न सक्छन् त्यति नै बढी । तर विडम्वना, त्यो भन्दा बिल्कुल फरक देखियो आजको नेकपा । दुई भिन्न पृष्ठभूमीबाट आएका मध्ये धेरै नेता, कार्यकर्ता र झुण्डहरुलाइ आ–आफ्नै अवसरवाद र व्यक्तिवादी महत्वाकाङ्क्षाले सिकार गरिसकेको रहेछ ।
ती मध्ये माओवादी मार्काका केही झुण्डहरुलाई लागेको रहेछ की एकतापछि सरकारमा लामो समय टिक्न सकिन्छ र आफ्नो वैयक्तिक झुण्डहरुको व्यवस्थापन गरेर पार्टीभित्र आफूलाई बलियो बनाउनु पर्छ अनि सत्ता साझेदारीको शान्तिपूर्ण प्रतिस्पर्धामा रमाउनु पदर्छ । त्यसैगरी एमाले मार्काका केही झुण्डहरुलाई लागेको रहेछ की माओवादीको समूहलाई साथमा लिएर पार्टीभित्रको विरोधी झुण्डलाई डण्डा लागउनु पर्छ र माओवादीलाई सत्तादोहनको बारेमा धेरै अनुभव छैन, हामीले दुइतिहाई नेकपाको काँधमा चढेर ओहदाको तजबिजमा सत्ताको मनपरी दोहन गर्नुपर्दछ ।
बिरोध गर्नेहरुलाई राज्यसत्ताका सम्पूर्ण शक्ति प्रयोग गरेर तह लगाउनु पर्छ । पाँचर्षमा त पुस्तौंसम्मका लागि राजनीतिक र आर्थिक झुण्ड बनाइ सक्नुपर्दछ । खासगरी नेतृत्वको उच्चतहमा पनि बैचारिक र राजनीतिक दाउपेच नै रहेछ एकता । एकातर्फ एकपछि अर्काे विभाजन र जनमतले कमजोर देखिएको माओवादी नेतृत्वलाई आफ्नो नेतृत्वमा स्थापित भएका राजनीतिक परिवर्तनका एजेण्डाहरु गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक तथा समावेशी प्रणाली जस्ता उपलब्धीहरुको रक्षा गर्दै समाजवादी राज्य व्यवस्थाको मार्ग प्रशस्त गर्नु र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न एमालेसँगको एकता उपयोगी हुने माओवादी नेतृत्वको निस्कर्ष ।
अर्काेतर्फ आफूले अवलम्बन गर्दै आइरहेको शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोमा हिँड्न माओवादी तयार भएपछि माओवादीको निर्णायक जनमत र राजनीतिक एजेण्डामा सत्ताको दोहन गरेर माओवादीलाई नै लक्षित गन्तव्यबाट विमुख गर्ने एमालेभित्रको एउटा झुण्ड र नेतृत्वको कुटिलता । यी सबै दाउपेच र कुटिलता आजसम्म आइपुग्दा एक अर्काले बुझ्नेगरी छताछुल्ल हुन थालेका छन् ।
नेतृत्वले अपनाएको दाउपेच र कुटिलता छताछुल्ला हुनुमा पनि यी दुई पूर्वसमूहका चारित्रहरुले निर्धारण गरेको छ । एकातर्फ माओवादी पृष्ठभूमीबाट आएका नेता कार्यकर्ताहरुलाई सत्ता सञ्चालन र सत्तादोहनको प्रयाप्त अनुभव छैन, त्यसैले यो अवसर र जिम्मेवारी हामीले पूरा गर्नुपर्छ भन्ने केपी मार्काको मानसिकता । अर्काेतर्फ खराव र असत्यको विरुद्धमा विद्रोह गर्नबाट र सामाजिक मुल्यमान्यता तथा पार्टी संगठनको नेतृत्व तथा तत्कालिन राज्यको कानून समेतले रोक्न नसकेको माओवादी प्रशिक्षणबाट पैदा भएको आलोचनात्मक चेत ।
परिणामस्वरुप सत्ता सञ्चालन र अवसरहरुमा भइरहेको एकलौटी प्रवृत्तिका विरुद्ध खवरदारी र लघुताभास मिसिएको आवाज तथा सत्ता दोहनमा आफूखशी गर्न अफ्ठेरो परिरहेको झोंकमा कहिलेकाहीँ निस्चतापूर्वक अभिव्यक्त हुने अपशव्द र आरोप प्रयारोपको श्रृंखला बढदै गएको छ । यसरी नेकपामा नेताहरुको राजनितिक दाउपेचको महत्वाकाङ्क्षाबाट निर्देशित एकता, पार्टीभित्रका केही अवसरवादी झुण्डहरुले सत्तादोहनको साधनका रुपमा प्रयोग गर्न खोजेको एकता र इमान्दार नेताकार्यकर्ता तथा जनताले बुझेको आदर्श र निष्ठाको एकताको बिचमा तालमेल हुन सकेन ।
एकताको समझदारी अनुसार नेतृत्वको कार्यविभाजन भएन । एकातर्फ एकता जोगाउने नाममा प्रचण्डले एकपछि अर्काे लचकता एवं उदारता प्रस्तुत गर्दै आलोपालो प्रधानमन्त्रीदेखि, समान हैसियतमा आलोपालो अध्यक्षता गर्ने लगायतका सहमति छोड्दै जाने र अर्काेतर्फ केपी ओलीले एकपछि अर्काेगरी पार्टी र सरकारको शक्ति आफूमा केन्द्रित गरेर पार्टीभित्र र बाहिर आफ्नो गुट विरोधी शक्तिलाई निस्तेज पार्दै जाने चरम व्यक्तिवादी महत्वाकाक्षा र अहंकार पलाउँदै जान थाल्यो ।
यसरी क्रमशः प्रचण्डको लचकता र उदारताबाट शक्तिशाली ठहरिएका र एकताको कार्यविभाजनमा माधव समूहलाई पेल्न सफल भएका केपी ओली समूहमा चरम अहंकार र दम्भ पलायो । यता केपी ओलीको षड्यन्त्रमुलक र अहंकार कार्यशैलीको मनपरितन्त्रबाट आजित भएका माधव, झलनाथ, लगायतका नेताहरुको संघर्ष गर्ने मनोविज्ञानमा प्रचण्डको नेतृत्वदायी भूमिका स्थापित हुन पुग्यो । परिणामस्वरुप आजको बहस र संघर्षको अवस्था सिर्जना भएको छ ।
आजको नेकपा कम्युनिष्ट सिद्धान्त, मूल्यमान्यता, विचार र आचरणबाट चुकेको छ । पार्टीभित्र व्यवस्थित तथा विधिवध छलफल र बहसबाट निर्णय गर्ने र उक्त निर्णयबाट सरकार र सम्पूर्ण जनवर्गीय संगठनहरु परिचालन गर्ने संगठनात्मक पद्धतिबाट चिप्लिएको छ । पार्टीको आधिकारिक राजनीतिक लाईन, विधान र पार्टीका बैठक र निर्णयहरुलाई बेवास्था गर्दै अराजकता र मनपरितन्त्र चलेको छ आजको नेकपामा ।
सत्तास्वार्थबाट अभिप्रेरित झुण्डहरुको उक्साहटमा पार्टीका नेताहरु नराम्रोसँग विभाजित भएका छन् । तलसम्म एकता नै पूरा नभइसकेको यो पार्टीभित्रको अन्तरसंघर्ष र समीकरण रचनात्मक भन्दा ध्वंशात्मक बन्दै गइरहेको छ । विद्यमान नेकपाभित्रको बहसलाई व्यवस्थित गरेर आम जनता र कार्यकर्ताहरुको भावना अनुरुप कम्युनिष्ट विधि र पद्धतिमा सञ्चालन गर्न सकिएन भने नेकपा इतिहासको सन्दर्भ बन्ने खतराबाट कसैले रोक्न सक्ने स्थिति छैन ।
‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा लगाउने नेकपा नेतृत्वको सरकार एकपछि अर्काे मनोगत र विवादित निर्णयको चक्रव्यूहमा फसेको छ । भ्रष्टाचारको शून्य सहनशिलता घोषणा गरेको यो सरकार पारदर्षिता र सुशासनको शुन्यतामा पुगेको छ । भ्रष्टाचार, स्वेच्छाचारी, अनियमितता र गैरकानुनी क्रियाकलापले नेकपाको कार्यकर्ता हुँ भनेर हिँड्न सकिने अवस्था छैन । पदीय मर्यादा र नैतिकताको स्तर हेर्ने हो भने सार्वजनिक पदमा बस्न सक्ने स्थिति छैन ।
के इमान्दार नेता कार्यकर्ता र आम जनताले अपेक्षा गरेको नेकपा यही हो ? के जनता र कार्यकर्ताहरुले अपेक्षा गरेजस्तै वर्गीय पक्षधरता, सिद्धान्तप्रतिको निष्ठा, बैचारिक दृढता, संगठनात्मक पद्धति र नैतिक आचरणमा परिचालित बलशाली कम्युनिस्ट पार्टी र नेतृत्व निर्माण गर्न सकिन्छ ? आज नेकपाको बहस र संघर्ष यसकै वरिपरी केन्द्रित भइरहेको छ ।
लेखक : तिलकराज भण्डारी, अनेरास्ववियूका केन्द्रिय नेता हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय