१० फाल्गुन,खुल्लान्यूज
जिल्लाब्यूरो । प्रचण्ड –नेपाल पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थीहरुको संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) गुल्मीको अध्यक्षमा नविन अर्याल चयन भएका छन् । शनिबार जिल्लाको सदरमुकाम तम्घासमा आयोजित प्रचण्ड–नेपाल पक्षको विद्यार्थीहरुको भेलाले अर्यालको अध्यक्षतामा ९९ सदस्यिय अनेरास्ववियूको जिल्ला कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा लक्ष्मी अर्याल, सन्तोष कुँवर, बल बहादुर श्रेष्ठ, रमेश पाण्डे र विष्णु विक रहेका छन् । त्यस्तै सचिवमा किशान पाण्डे, सह–सचिवमा रमेश भण्डारी तथा कोषाध्यक्षमा हुमाकान्त पोखरेल लगायत अन्य सदस्यहरु चयन भएका छन् । सबैजसो शैक्षिक संस्था तथा भूगोलको आधारमा अनेरास्ववियूको जिल्ला सदस्यहरु चयन गरिएको छ । भने केही सदस्यहरु जिल्ला कमिटीको बैठकले मनोनयन गर्ने जिल्ला कोषाध्यक्ष हुमाकान्त पोखरेलले जानकारी दिए । अध्यक्षमा चयन भएका अर्याल रेसुङ्गा बहुमुखी क्यापसका स्ववियु सचिव हुन् भने यसभन्दा अगाडी अनेरास्ववियूको जिल्ला सचिवालय सदस्य थिए । सचिवमा चयन भएका पाण्डे श्रृङ्गेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति हुन भने यसभन्दा पहिले अनेरास्ववियूको जिल्ला सचिवालय सदस्य थिए । कोषाध्यक्षमा निर्वाचित पोखरेल अनेरास्ववियू रेसुङ्गा बहुमुखी क्याम्पस कमिटी अध्यक्ष हुन भने अनेरास्ववियू गुल्मीका प्रचार विभाग प्रमुख थिए । तत्कालिन एमाले र माओवादी केन्द्र एकतापश्चात विद्यार्थी संगठनको नयाँ नेतृत्व चयन हुन सकेको थिएन् । जसमा पूर्व अनेरास्ववियूबाट राजेन्द्र विक्रम कुँवर संयोजक तथा पूर्व अनेरास्ववियू (क्रान्तिकारी) बाट भरत चन्द सह–संयोजकको भूमिकामा थिए । कार्यक्रममा बोल्दै अध्यक्ष अर्यालले शसक्त ढङ्गले विद्यार्थी आन्दोलनलाई अगाडी बढाउने तथा वर्तमान सरकारले चालेको प्रतिगमनका विरुद्धमा दरिलो रुपमा उभिने बताए ।

राष्ट्रिय युवा संघ नेपाल, गुल्मीको संयोजकमा महत
प्रचण्ड –नेपाल पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवाहरुको संंगठन राष्ट्रिय युवा संघ गुल्मीको भेला सम्पन्न भएको छ । भेलाले श्रीराम महत संयोजक तथा अशोक श्रेष्ठ सह–संयोजक रहने गरी राष्ट्रिय युवा संघ नेपाल, गुल्मीको सम्मेलन आयोजक कमिटी गठन गरेको हो । युवा संघ नेपाल, गुल्मीका संयोजक ओली पक्षमा देखिएपछि नेकपा प्रचण्ड–नेपाल पक्षले महतको नेतृत्वमा सम्मेलन आयोजक कमिटी गठन गरेको हो । भने प्रचण्ड नेपाल पक्षमै रहेका संगठनका सह–संयोजक नारायण चन्दले नेतृत्व श्रेष्टलाई हस्तान्तरण गरेका थिए । कार्यक्रमा बोल्दै संयोजक महतले वर्तमान प्रधानमन्त्री केपी ओलीले गरेको असैंवधानिक कु विरुद्ध युवाहरु एकजुट भएर लाग्ने बताए । जिल्लाका सबै पालिकाहरु तथा जिल्लास्तरिय समेतको युवा संगठन पुर्नगठन गर्दै संगठनलाई गति दिने महतको भनाई छ ।

प्रतिगमनका विरुद्ध उत्रिए गुल्मीका युवा विद्यार्थी
खचाखच भरिएको पार्टी प्यालेसको हल । प्रतिगमनको विरुद्धमा व्यानर र झण्डा समाएका युवा विद्यार्थी । शनिबार गुल्मी सदरमुकाम तम्घासस्थित इन्द्रेणी पार्टी प्यालेसको हल युवा र विद्यार्थीहरुले भरिएको थियो । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गत पौष ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा जिल्लाका युवा तथा विद्यार्थी विरोधमा सदरमुकाम आएका हुन् । कार्यक्रममा नेकपा प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्य गोकर्ण विष्ट, लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल, विद्यार्थी नेता सुदेश पराजुली, राष्ट्रिय युवा संघ, गुल्मीका इन्चार्ज हिमाल थापा लगायतका नेताहरु मञ्चमा आशिन थिए । मञ्चमाबाट बोल्ने अतिथि तथा उपस्थित सहभागि सबैले प्रधानमन्त्रीको कदम गलत भएको भन्दै आफुहरु अग्रगमनको पक्षमा उभिएको दाबी गरे । अहिले प्रतिबन्धमा रहेको नेकपा विप्लप समुहका केही विद्यार्थीहरु समेत नेकपा प्रचण्ड–नेपाल पक्षको अनेरास्ववियूमा प्रवेश गरे । यसले कार्यक्रम थप रोचक र उत्साहपूर्ण भयो । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि गोकर्ण विष्टले प्रधानमन्त्री केपी ओलीले संघियता विरोधी काम गरेको आरोप लगाए । हुँदाहुँदैको संसद विघटन गरेर फेरी चुनाव गराउने कुरा संविधान एवम् जनभावनाविपरित हुने उनको बुझाई छ । जनताले कम्युनिष्ट पार्टीलाई विश्वास गरेर गत निर्वाचनमा दुई तिहाई मत दिएपनि केही खराब मानिसहरुले त्यसको दुरुपयोग गरेको आरोप लगाए । सामाजिक विकास मन्त्री बरालले आफुहरु निरन्तर देश र जनताको पक्षमा काम गर्ने बताए । उनले जनमत कुल्चेका वर्तमान प्रधानमन्त्रीलाई राजनीति छोडेर अब पुजापाठतिर लाग्न सुझाए । विद्यार्थी नेता सुदेश पराजुलीले संविधानको रक्षाका लागि फेरी एकपटक युवा तथा विद्यार्थीहरुले सङ्घर्ष गर्नुपर्ने बेला आएको बताए । इतिहासमा जहिल्लै पनि विद्यार्थीहरुको आन्दोलन सफल भएको भन्दै पराजुलीले यो आन्दोलन पनि सफल हुने विश्वास व्यक्त गरे । राष्ट्रिय युवा संघ गुल्मीका इन्चार्ज हिमाल थापाले अबको केही दिनमै केपी ओली बालुवाटारबाट निस्केर सडकमा आउने बताए । यो युवाहरुको अन्तिम सङ्घर्ष भएकोले लडाई आफुहरुले जितिसकेको तर घोषणा हुनमात्र बाँकी रहेको बताए ।
कार्यक्रममा सहभागिहरुले पनि वर्तमान प्रधानमन्त्रीकोे गलत कदमका विरुद्ध खरो रुपमा उत्रिने प्रतिक्रिया दिए । कार्यक्रममा सहभागि धुर्कोट गाउँपालिका जैसिथोकका अजय पोखरेलले आफुहरुको संविधानको रक्षार्थ नेकपाको संस्थापन पक्षमा आवद्ध हुने बताए । छत्रकोट गाउँपालिकाबाट कार्यक्रममा सहभागि अनिल सुनारले प्रधानमन्त्रीले संसद विघटन गरेर आम युवा तथा विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरेको प्रतिक्रिया दिए । सत्ता र शक्तिको आडमा रुमल्लिएका प्रधानमन्त्रीको गलत कदमको विरुद्ध गाउँका सबैजसो युवा तथा विद्यार्थीहरु सदरमुकाम आएको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर