१७ जेठ
दाङ । राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशमा आज उपनिर्वाचन हुँदै छ। उपनिर्वाचनमा अर्को पार्टीबाट आएका नेपाली कांग्रेस र नेकपा (एमाले)का उम्मेदवार भिड्दै छन्। उपनिर्वाचनमा दुई जना उम्मेदवार छन्, चन्द्रबहादुर खड्का र दृगनारायण पाण्डे। खड्का एमालेका उम्मेदवार हुन् भने पाण्डे कांग्रेसका उम्मेदवार हुन्।

नेकपा (माओवादी केन्द्र)बाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित खड्का एमालेमा प्रवेश गरेपछि उपनिर्वाचन हुन लागेको हो। एमालेले उनलाई नै उम्मेदवार बनाएको छ। उनलाई जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षको समर्थन रहेको छ।

पाण्डेलाई माओवादी, जसपाको उपेन्द्र यादव पक्ष, एमालेको माधवकुमार नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको छ। लुम्बिनी प्रदेश सभामा अहिले ८३ सदस्य छन्। त्यस्तै, लुम्बिनी प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१७ जना छन्। निर्वाचन आयोगले प्रदेश सभा सदस्यको ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १८ मतभार तोकेको छ।

प्रदेश सभा सदस्यको मतभार तीन हजार ९८४ हुन्छ। त्यस्तै, स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार तीन हजार ९०६ हुन्छ। दुवै गरेर सात हजार ८९० मतभारमा सबैभन्दा बढी मतभार ल्याउने उम्मेदवार विजयी हुनेछन्।

प्रदेश सभामा विपक्षी गठबन्धनमा रहेका कांग्रेकास १९, माओवादीका १८ (सभामुखबाहेक), जसपाका यादव समूहको दुई र जनमोर्चाका एक सदस्य छन्। कांग्रेसको ९१२, माओवादीको ८६४, जसपाको यादव समूहको ९६ र जनामोर्चाको ४८ मतभार रहेको छ। यो सबै गरेर उनीहरूको मतभार एक हजार ९२० हुन्छ।

लुम्बिनीका १०९ स्थानीय तहमा कांग्रेसका ६३, माओवादीका ३६, जसपाका १३ र जनमोर्चाका पाँच प्रतिनिधि छन्। उनीहरूको मतभार दुई हजार १०६ हुन्छ। दुवै गरेर विपक्षी गठबन्धनको मतभार चार हजार २६ रहेको छ। यो बहुमतका लागि पर्याप्त छ। यसमा अझै नेपाल समूहका प्रतिनिधिले पनि मत दिने विश्वास गरिएको छ।

एमालेका भने प्रदेशमा ३८ र जसपाको ठाकुर पक्षका चार सदस्य छन्। दुवैको गरेर दुई हजार १६ मतभार हुन्छ। स्थानीय तहमा एमालेका ९४ प्रमुख तथा उपप्रमुख रहेका छन्। उनीहरूको मतभार एक हजार ६९२ हुन्छ। दुवै गरेर तीन हजार ७१८ मतभार पुग्छ। अझ नेपाल समूहका प्रतिनिधिले पनि मत नदिँदा घट्ने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर