२३ जेठ
राजधानी । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीलाई २०७५ जेठ २ अघिकै अवस्थामा फर्काउन तयार भएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले एमाले एकताका लागि पार्टीलाई पूर्ववतः अवस्थाबाट सञ्चालन गर्न तयार रहेको बताएका हुन् ।
उनले जारी गरेको विज्ञप्तिमा पार्टी एकताको पक्षमा रहेकाहरुको आधारमा केन्द्रीय कमिटी र स्थायी कमिटी सक्रिय रहने, मातहतका कमिटी र जनसंगठनहरु पनि जेठ ३ पूर्वको अवस्थामा सक्रिय हुने बताइएको छ । साथै यस बीचमा पार्टीका कुनै नेताबाट भएका गल्ती कमजोरीलाई लिएर कुनै कारबाही नगरिने, पूर्वाग्रह नराखिने र भेदभाव नगरिने पनि उल्लेख गरिएको छ ।
ओलीले जारी गरेको विज्ञप्तिमा विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्चमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको एमालेका निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुने पनि उल्लेख गरिएको छ ।
एमालेको माधव नेपाल झलनाथ खनाल समूहले पार्टी एकताका लागि जेठ ३ पूर्वको अवस्थाबाट पार्टी संगठन अघि बढाउनु पर्ने र कारबाहीहरु फुकुवा हुनुपर्ने माग गरिरहेको थियो ।





