हुमाकान्त पोखरेल
गुल्मी, १८ साउन । गुल्मीको मुसिकोट नगरपालिकामा बीउ स्रोत केन्द्रको स्थापना भएको छ । मुसिकोट नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई र साना किसान कृषि सहकारीको त्रिपक्षिय साझेदारीमा बीउ स्रोत केन्द्रको स्थापना भएको हो । मकै, कोदो, धान, गहुँ, केराउ, मुला लगायतका खाद्यान्न बालीको बीउको प्रशोधन र ग्रेडिङ गरी बजारीकरण गर्ने उदेश्यले केन्द्रको स्थापना भएको सहकारीका अध्यक्ष हरी छन्त्यालले जानकारी दिए । केन्द्रमा मुसिकोट नगरपालिका वडा नम्बर २, ३ र ४ मा उत्पादन भएका खाद्य बालीको प्रशोधन गरी बीउ तयार गरिनेछ । त्यसका साथै बलिथुम, मजुवा फाँट लगायतका स्थानमा उत्पादन भएको खाद्य बालिको बीउ पनि सहकारीले खरिद गरी बजारीकरण गर्ने छन्त्यालले बताए । बीउ उत्पादनको लागि मुसिकोट नगरपालिका –३ मा ६९ लाखको लागतमा भण्डारण तथा प्रशोधन केन्द्रको स्थापना गरिएको छ । यसै बर्ष उत्पादन हुने मकै भदौ महिनादेखि भण्डारण गरी बीउ उत्पादन गर्न सुरु गरिने छन्त्यालले बताए ।
मुसिकोटमा बीउ स्रोत केन्द्रको स्थापना भएसँगै गुल्मीमा बीउ प्रशोधन तथा उत्पादन गर्ने केन्द्रको सङ्ख्या ६ पुगेको छ । यसभन्दा पहिले मालिका गाउँपालिको वडा नम्बर ६ अर्जै र वडा नम्बर ८ सिमलटारीमा २०/२० मेक्ट्रिन टनका दुईवटा प्रशोधन केन्द्र स्थापना भएका छन् । मदाने गाउँपालिकाको पुर्कोट दहमा ३० मेक्ट्रिन टन, इस्मा गाउँपालिका –६ चौरासी र रेसुङ्गा नगरपालिका –१० मा २०/२० मेक्ट्रिक टनको प्रशोधन केन्द्र रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाईका प्रमुख नारायण काफ्लेले जानकारी दिए । मालिका, मदाने, इस्मा र रेसुङ्गामा आर्थिक बर्ष ०७३/७४ देखि ७६/७७ को अवधिमा स्रोत केन्द्रको निर्माण सम्पन्न भएको हो भने मुसिकोटको स्रोत केन्द्र आ.व. ०७७/७८ मा निर्माण सम्पन्न भएको काफ्लेले जानकारी दिए । जिल्लाका सबै बीउ प्रशोधन केन्द्रबाट एक पटकमा १५० मेक्ट्रिक टन बीउ उत्पादन गर्न सकिने कार्यालय प्रमुख काफ्लेको दाबी छ । गुल्मीमा मनकामना ३, अरुण २, रामपुर कम्पोजिट लगायतका मकैको बीउको उत्पादन हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर