३० माघ, खुल्लान्यूज
प्रेम सुनार । गुल्मी जिल्लाका दुई बेग्ला बेग्लै वित्तीय संस्थामा करोडौं रकम हिनाबिना भएको खुलासा भएको छ ।
जिल्लाको मालिका गाउँपालिका वडा नम्वर ७ घमिर भानुपोखरामा रहेको मेघा बैंक नेपाल लिमिटेड शाखारहित बैंकिङ कार्यक्रममा र रूरूक्षेत्र गाउँपालिका वडा नम्बर ४ रानीबासमा रहेको नेपाल राष्ट्रिय बचत तथा ऋण सहकारी संस्थामा गरी करोडौं रकम हिनाविना भएको हो ।
ठगी गर्ने एजेन्ट फरार
बैंकिङ कारोबारका नाममा दर्जनौ मा निसहरूलाई ठगी गरेका मेगा बैंक नेपाल लिमिटेडको शाखारहित बैंकिङ्ग कार्यक्रम घमिर भानुपोखराका एजेन्ट हरिनारायण लम्साल माघ १७ गते शनिबारदेखि फरार भएका छन् ।
विभिन्न मानिसहरूले त्यस बैंकमा खातामा पैसा राख्न आउने तर उनले किर्ते भौचर दिएर खातामा पैसा राखी दिएँ भन्ने तर खातामा रकम नचढाई आफैले हिनामिना गर्ने गरेको पाइएको छ ।
गत वर्षको माघ महिनामा घमिरका पूर्णबहादुर बुढा मगरले ५ लाख रुपैयाँ मेगा बैकको खातामा राख्न उनै एजेन्ट लम्साललाई दिए । उनले खातामा राखी दिएँ भनेर भौचर पनि दिए तर पछि बुझ्दा खाता रकम देखिएन ।
ठगीमा परेका बुढा मगरका छोरा खिमबहादुर बुढा मगर भन्छन्–‘हाम्रो बुबाले खातामा राख्न दिएको पाँच लाखको भौचरको फोटो कपी लम्सालले दिएका छन् तर खातामा पैसा चढाएको देखिएन, खै त्यो भौचर पनि सक्कली हो कि नक्कली हो थाह छैन ।’
आफ्नो बुबासहित अरू धेरै जना कसैले ४ लाख, कसैले २० लाख रुपैयाँ लम्सालले हिनाबिना गरेको भन्दै फोन गर्ने गरेको बुढामगरले बताए ।
मालिका गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष वेदप्रसाद पन्थी, घमिर कै भोटबहादुर दमाईले लम्साललाई राख्न दिएकोे ५० हजार रुपैयाँ पनि नक्कली भौचर बनाएर आफैले हिनाबिना गरेको पाइएको छ ।
त्यस्तै घमिर कै कालिका क्षेत्रको तीन लाख, तुल्सा घर्तीको ३० हजार, नातामा बुहारी पर्ने जमुना लम्सालको ११ लाख ६० हजार लम्सालले मेघा बैंक खातामा नराखी आफैले हिनाबिना गरेको पीडितहरुले बताएका छन् । उनीसहित दर्जनौंको लाखौं रकम हिनाबिना गरेको जानकारी आए पछि मेगा बैक तम्घास ब्रान्चको टोली घमिर भानुपोखरामा सर्वे गर्न गई बैंकिङ कारोबार बन्द गराएर आएको ब्रान्च म्यानेजर तेजेन्द्र कार्कीले जानकारी दिए ।
के कति जनालाई के कति रकम ठगी गरेको पाईयो भन्ने प्रश्नमा आफूहरुले प्रतिवेदन प्रधान कार्यालयमा पठाएकोले आफुले बोल्न नमिल्ने कार्कीले बताए । प्रधान कार्यालयले माघ २० गतेका दिन एक पत्रिकामा सूचना प्रकाशित गरी निज हरिनारायण लम्सालसंग घमिर भानुपोखरामा शाखा रहित बैंकिङ कार्याक्रमको सम्झौता गर्दै आएकोमा सोही दिनदेखि उक्त सम्झौता रद्द गरेको र निजसंग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ ।
स्थानीयबासीले झण्डै एक करोड बढी रकम लम्सालले हिनाविना पारेको हुन सक्ने आशंका गरेका छन । हाल मालिका गाउँपालिका ७ , साविक घमिर गाविस वडा नम्बर ३ पुरुङकोट घर भएका लम्सालले मेडिकल पसल, मनिट्रान्सफर र कम्युनिकेशन कारोबार समेत गर्दै आएका थिए ।
उनले भानुपोखरामै ३ तले पक्की घर बनाउन सुरु गरेका थिए । उनी सम्पर्कविहीन बनेपछि केही दिन अघि परिवारजनले जिल्ला प्रहरी कार्यालयमा खोजतलास गरी पाउँ भनि उजुरी दिएका थिए । तर बुधबार गाउँबासीलाई थाहै नदिई उनकी आमा, श्रीमति र उनका दुई सन्तानसहित ढोका बन्द गरेर परिवार नै घर छाडेर हिंडेको स्थानीयबासीले बताएका छन् ।
ठगी गरेको गाउँबासीले थाह पाउन साथ फरार रहेका लम्साल गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट त्यस वडामा वडाध्यक्षको उम्मेदवार भई तत्कालिन नेकपा एमालेका वेदप्रसाद पन्थीबाट झिनो मतले पराजित भएका थिए । उनले गाउँमा धेरैको रकम हिनाबिना गरेको खबरले नेपाली कांग्रेस घमिरलाई धेरै धक्का लागेको त्यस पार्टीका वडा कार्य समिति सचिव डेम्बरहादुर खत्रीले बताए ।
त्यस्तै प्रकृतिको ठगी रानीवासमा
यता गुल्मीकै रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ४ रानीवासमा रहेको नेपाल राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा पनि त्यसका व्यवस्थापक द्रोर्णचाय ज्ञवालीले त्यस्तै प्रकृतिको ठगी गरेको खुलासा भएको छ ।
उनले ऋणीहरुले बुझाउनु पर्ने रकम आफ्नै खातामा मगाउने र सहकारी संस्थाको खातामा नबुझाई आफैले रकम हिनामिना गर्ने गरेको संञ्चालक समितिले गठन गरेको छानविन समितिले माघ ७ गते बुुझाएको प्रतिवेदनमा उल्लेख छ । सञ्चालक समितिका उपाध्यक्ष नारायण पौंड्यालको संयोजकत्वमा असोज २७ गते गठन गरेको छानविन समितिले माघ ७ गते कै दिनदेखि सञ्चालक समितिले व्यवस्थापकको जिम्मेवारीबाट निलम्बीत गरेका ज्ञवालीले हालसम्म १ करोड ५६ लाख, ७० हजार ३ सय १६ रुपैयाँ हिनाबिना गरेको प्रतिबेदन बुझाएको छ । छानविन समितिका संयोजक तथा सञ्चालक समिति उपाध्यक्ष नारायण पौड्यालले आर्थिक वर्ष २०६३÷०६४ देखि आर्थिक वर्ष २०७५÷०७६ सम्मको श्रेस्ता पुनः रुजु गरेर छानविन गर्दा निलम्वीत व्यवस्थापक ज्ञवालीले उक्त रकम दर्जनौ ऋणीहरुबाट ठगी गरेको पाईएको बताए ।
यसरी ठग्दै आएको पाईयो
छिमेकी भएकोले ऋणी र सञ्चालक समिति पनि विश्वासमा परेको सञ्चालक समितिका कोषाध्यक्ष नेत्रप्रसाद ज्ञवाली बताउँछन् । ‘ऋणीले ऋण लिए पछि बुझाउन पर्ने रकम व्यवस्थापक ज्ञवालीको हातमा दिने, कतिपयले खातामार्फत रकम पठाउनका लागि खाता नम्बर माग्ने तर व्यवस्थापक ज्ञवालीले सहकारीको खाता नदिई आफ्नो खाता नम्वर पठाउने र आएको रकम सहकारीको खातामा नराखेर आफैले हिनामिना गरेको पाईयो ।’– कोषाध्यक्ष ज्ञवालीले भने । सह–सचिव मिनप्रसाद ज्ञवालीलले गत वर्ष देखि सफ्टवैर सिस्टमबाट कारोबार गर्न सुरु गरे पछि व्यवस्थापक ज्ञवालीको कर्तुत खुलासा हुन थालेको बताए ।
सञ्चालक समितिका अध्यक्ष तोयनारायण ज्ञवालीले व्यवस्थापक ज्ञवालीको ठगी धन्दाको उदाहरण दिदै भने– ‘बलेटक्सारकी सरस्वती श्रेष्ठले दुई बर्ष अघि दुई लाख रुपैयाँ ऋण लिनु भएको थियो । उहाँले तीन महिना मै रकम ब्यवस्थापक ज्ञवालीलाई बुझाउनु भयो तर उनले सहकारीको खातामा ऋण चुक्ताको प्रमाण नदिई आफ्नै खातामा राखेको पाईयो ।’ ऋण चुक्ता नभएको श्रेष्ठले थाह पाए पछि केहि दिन अघि श्रेष्ठका देवर कृष्ण श्रेष्ठ सहकारी मै आएर धम्काए पछि बल्ल दुई बर्ष पछि ऋण चुक्ता गरेको भर्पाई लिएर गएको बताइन्छ । त्यस्तै रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ५ टाटिम गाउँका चेतनारायण श्रेष्ठले २ वर्ष अघि ३ लाख ऋण लिएर गए । एक वर्षपछि दुई लाख रुपैयाँ श्रेष्ठले बुझाए । बाँकी १ लाख र ब्याज २० हजारसहित उनका जेठा छोरा मणिक श्रेष्ठले काठमाडौंबाट पठाए । तर त्यो रकम व्यवस्थापक ज्ञवालीले आफ्नै खातामा मगाए यता सहकारीको बुझाउनु पर्ने एक लाख घटाएनन । यसरी नै दर्जनौको रकम उनले हिनाविना गरेको पाईएको अध्यक्ष ज्ञवालीले बताए ।
अहिले प्रारम्भिक छानविनमा डेढ करोड बढि रकम उनले हिनाविना गरेको देखिएको छ । हामीले गाडी खरिदका लागि पनि ऋण प्रवाह गर्ने गरेका थियौं अध्यक्ष ज्ञवालीले भने गाडीको किस्ता बुझाउनेहरुको रकम पनि त्यसरी नै हिनाबिना गरेका छन कि भन्ने आशंका बढेकोले थप छानविन गर्दै छौं । उनका अनुसार ज्ञवालीले उक्त हिनाविना भएको रकम तिर्ने मञ्जुरीनामाको कागज गरेका छन् । त्यस मध्ये ७ लाख नगद बुझाएका छन् भने दुई जना ऋणीको हिनाविना भएको २० लाख रकमको तमसुक गराइसकेका छन् । उनले माघ ७ गते एक हप्ताको भाखा मागेका थिए । फेर अर्को भाखा मागे पछि आबश्यक कार्वाहीका लागि सञ्चालक समितिको टोली प्रमुख जिल्ला अधिकारीसमक्ष पुगेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले आबश्यक छानविनका लागि सहकारी विभागमा पठाएको जानकारी दिईन । सहकारी विभागले आफ्नै ऐन नियम अनुसार कार्बाही गरोस भनेर आफूले पठाएको शर्माले बताईन । उक्त सहकारी संस्थामा १८ सय ४६ जना शेयर सदस्यहरु रहेको र ८ सय जना ऋणीहरु रहेको अध्यक्ष ज्ञवालीले बताए । ब्यवस्थापक ज्ञवालीले नक्कली कागज पत्र बनाई मन परेका मानिसहरुलाई ऋण दिने गरेको समेत छानविन समितिले फेला पारेको जनाइएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs