
९ फाल्गुन
जिल्ला ब्यूरो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल निकट विद्यार्थीहरुको संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) गुल्मीको अध्यक्षमा नविन अर्याल निर्वाचित भएका छन् । शनिबार जिल्लाको सदरमुकाम तम्घासमा आयोजित प्रचण्ड–नेपाल पक्षको विद्यार्थीहरुको भेलाले अर्यालको अध्यक्षतामा ९९ सदस्यिय अनेरास्ववियूको जिल्ला कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा लक्ष्मी अर्याल, सन्तोष कुँवर, बल बहादुर श्रेष्ठ, रमेश पाण्डे र विष्णु विक रहेका छन् । त्यस्तै सचिवमा किसन पाण्डे र कोषाध्यक्षमा हुमाकान्त पोखरेल लगायत अन्य सदस्यहरु चयन भएका छन् । सबैजसो शैक्षिक संस्था तथा भूगोलको आधारमा अनेरास्ववियूको जिल्ला सदस्यहरु चयन गरिएको छ । भने केही सदस्यहरु जिल्ला कमिटीको बैठकले मनोनयन गर्ने जिल्ला कोषाध्यक्ष हुमाकान्त पोखरेलले जानकारी दिए । अध्यक्षमा चयन भएका अर्याल रेसुङ्गा बहुमुखी क्यापसका स्ववियु सचिव हुन् भने यसभन्दा अगाडी अनेरास्ववियूको जिल्ला सचिवालय सदस्य थिए । सचिवमा चयन भएका पाण्डे श्रृङ्गेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति हुन भने यसभन्दा पहिले अनेरास्ववियूको जिल्ला सचिवालय सदस्य थिए । कोषाध्यक्षमा निर्वाचित पोखरेल अनेरास्ववियू रेसुङ्गा बहुमुखी क्याम्पस कमिटी अध्यक्ष हुन भने अनेरास्ववियू गुल्मीका प्रचार विभाग प्रमुख थिए । तत्कालिन एमाले र माओवादी केन्द्र एकतापश्चात विद्यार्थी संगठनको नयाँ नेतृत्व चयन हुन सकेको थिएन् । जसमा पूर्व अनेरास्ववियूबाट राजेन्द्र विक्रम कुँवर संयोजक तथा पूर्व अनेरास्ववियू (क्रान्तिकारी) बाट भरत चन्द सह–संयोजकको भूमिकामा थिए । कार्यक्रममा बोल्दै अध्यक्ष अर्यालले शसक्त ढङ्गले विद्यार्थी आन्दोलनलाई अगाडी बढाउने तथा वर्तमान सरकारले चालेको प्रतिगमनका विरुद्धमा दरिलो रुपमा उभिने बताए ।