
हुमाकान्त पोखरेल
१० फागुन । परराष्ट्रमन्त्री एवम् नेकपा ओली पक्षका नेता प्रदिप कुमार ज्ञवालीले आफुहरुले सरकारको स्थिरता खोजेको बताएका छन् । सोमबार ओली पक्षको नेकपा जिल्ला कमिटी गुल्मीले आयोजना गरेको अगुवा कार्यक्रता प्रशिक्षण कार्यक्रममा बोल्दै नेता ज्ञवालीले संसद रहने तर सरकार अस्थिर भए ठिक नहुने बताए । ‘हामीले सरकारको स्थिरता खोजेका हौँ, तर पार्टीभित्र धेरै जालहरु रचिए ।’ नेता ज्ञवालीले भने, ‘तीन बर्षसम्म बन्धक भएको पार्टीलाई फुकुवा गर्न प्रधानमन्त्रीले बाध्यकारी निर्णय गर्नुभयो ।’ भुकम्पको बेला ५० हजार स्वयमसेवक खटाउने पार्टीले कोभिड महामारीका बेला कुनै सिर्जनशिल काम गर्न नसकेको भन्दै घुमाउरो भाषामा कार्यकारी अध्यक्ष प्रचण्डको आलोचना गरे । पार्टी एकता भएदेखि ७५ वटा सचिवालयका बैठकमा जनताका पक्षमा भन्दा नेताहरुको व्यवस्थापनका लागि एजेण्डाहरु भएको उनले सुनाए । संसद विघटनको अघिल्लो दिन पौष ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड निवासमा पुगेर पार्टी एकता र संसद विघटनबाट जोगाउनको लागि धेरै प्रयास गरेपनि सफल नभएपछि ससद विघटन गर्न बाध्य भएको बताए । केही नेताहरुले जनतालाई भन्दा आफुलाई केन्द्रमा राखेपनि प्रधानमन्त्रीले जनतालाई केन्द्रमा राखेर जनता जनादेशमा जाने निर्णय गरेको उनले सुनाए ।