माधव ज्ञवाली,गुल्मी
१३ फाल्गुन १३
गुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाजले पहिलोपल्ट शैक्षिक कार्यक्रम को आयोजना गर्ने भएको छ।करिब पाँच बर्ष पहिले स्थापित सो सम्पर्क समाजले आफ्नो स्थापना कालदेखि नै निशुल्क स्वास्थ्य शिविर ,वृक्षरोपण , सरसफाइ ,रक्तदान , लगायत अन्य सामाजिक एवम् मनोरञ्जनात्मक कार्यहरू गर्दै आइरहेको छ। समाजलाई सकारात्मक दिशातर्फ उन्मुख गराउने मुख्य तत्व शिक्षा रहेकोले सम्पर्क समाजको ध्यान अब शैक्षिक पाटोमा पनि पुगेको सम्पर्क समाजका सचीव कपिल ज्ञवालीले बताउनुभयो ।
सम्पर्क समाजले यस् बर्षबाट लागू हुनेगरी प्रत्येक बर्ष रनिङ शिल्ड गर्ने भएको छ। जस् अन्तर्गत अहिले रुरुक्षेत्र गाउँपालिका भित्रका अन्तर मा.वि स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न हुने भएको हो। प्रतियोगिता यहीँ फाल्गुन १५ गते शनिबार रुरुक्षेत्र गाउँपालिका ४ बलेटक्सारमा हुने पनि सम्पर्क समाजले जानकारी गराएको छ। प्रतियोगितामा सहभागी विद्यालयको एक टिममा ३ जना विद्यार्थीले भाग लिन पाउनेछन् जसमा कम्तीमा एकजना छात्रा अनिवार्य गरिएको छ। प्रतियोगितामा उत्कृष्ट हुनेले कप,प्रमाणपत्र र मायाको चिनो पाउनेछन् भने सहभागी सबैलाई मायाको चिनोको ब्यवस्था गरिएको पनि सम्पर्क समाजले बताएको छ।




