०१ चैत्र, खुल्लान्यूज
Mission to Build A Free, Strong and Prosperous Nepal
-मुलुकका दुई ठुला दल नेकपा र नेपाली कांग्रेसले आफ्नो यात्राको सात दशक पुरा गरेका छन् ।
-दुवैले विभिन्न कालखण्डमा ठुल्ठुला राजनैतिक परिवर्तनका लागि भएका संघर्षहरुको नेतृत्व गरेका छन् ।
-राजपा विगतमा नेकपा र कांग्रेसबाटै चोइटिएर बनेको र राप्रपा ३० वर्ष पञ्चायत शासनको नेतृत्व गरेकाले ती दलहरुको चर्चा यहाँ गरिएको छैन ।
-नेकपा र कांग्रेस विगत लगभग तीन दशकदेखि सत्ताको शीर्षमा पनि रहेका छन् ।
-नेपाली कांग्रेसको लक्ष्य प्रजातान्त्रिक समाजवाद हो भने कम्युनिष्टहरुको लक्ष्य वैज्ञानिक समाजवाद हो ।
-तर यी लक्ष्यहरु नेपालजस्तो मुलुकमा कसरी हासिल हुन सक्छन् र त्यहाँ पुग्ने बाटो कुन हो भन्ने बारेमा दुवै दल मौन छन् ।
-एउटा चुनावबाट अर्को चुनावसम्म जानु, चुनाव जित्नु र सरकार बनाउनु नै दुवै दलको एकमात्र राजनीतिक मिशन देखिन्छ । संसदबाट फेरि संसदसम्म पुग्नु नै उनीहरुको गन्तव्य हुन गएको छ । नैतिक र अनैतिक सबै माध्यमबाट सत्तामा पुग्नु र त्यहाँ पुगिसकेपछि आफ्ना नातागोता वा आफु निकटका मानिसहरुलाई सरकारी पदहरु बांड्नुमा नै उनीहरुको मुख्य ध्यान रहने गरेको छ ।
-कांग्रेस र कम्युनिष्टहरु राजनैतिक परिवर्तनको संघर्षमा एकहदसम्म सफल भएको मान्न सकिन्छ तर उनीहरु सत्ता सञ्चालनमा पुरै असफल साबित भए । स्थिरता र सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र विकास, रोजगार, शिक्षा, स्वास्थ्य जस्ता ज्वलन्त मुद्दाहरु समाधान गर्नमा दलहरु पूर्णत: असफल भए ।
-देश कसरी निर्माण गर्न सकिन्छ ? कसरी मुलुकलाई सबल, स्वाधीन र समुन्नत बनाउन सकिन्छ ? भन्ने विषयमा केन्द्रित रहेर ठोस मुद्दाहरुमा दलहरुमा कहिल्यै पनि विमर्श हुने गरेको पाइँदैन ।
-कम्युनिष्ट पार्टीभित्र कहिलेकाहीं केही मुद्दाहरुमा विमर्श भए पनि ती जनता र राष्ट्रको जीवनसित सीधै जोडिएका मुद्दामा बहस हुदैन । माक्स्रवादी दर्शन, द्वन्दात्मक भौतिकवाद, राजनैतिक अर्थशास्त्र वा वैज्ञानिक समाजवाद जस्ता आम नेपालीहरुको जनजीवनसित प्रत्यक्ष सरोकार नराख्ने भारीभरकम वैचारिक सैद्धान्तिक मुद्दाहरुमा मात्र बहस हुने गर्दछ । जनताको जीवनलाई नछुने अमुर्त परिवर्तन र क्रान्तिका विषयहरुमा लामा–लामा प्रवचनहरु हुन्छन् ।
-त्यसैगरी नेपाली कांग्रेसमा जेफरसन देखि जर्ज वाशिङ्टनसम्म महात्मा गान्धीदेखि नेहरु र बीपीसम्मका नाम उल्लेख गर्दै प्रजातन्त्रका ठुल्ठुला कुराहरु हुन्छन्, भाषणहरु दिइन्छ । तर मुलुकका मुख्य एजेण्डाहरु के हुन् भन्ने विषयमा कांग्रेस पार्टीमा पनि छलफल जाँदैन ।
-गणतन्त्रको महिमामण्डन गरेर दलहरु थाक्दैनन् । तर दलहरुको नेतृत्वमा आएको गणतन्त्र नेपालका नागरिकहरु भने राजतन्त्र भएका मलेशिया, कतार दुवई जापान आदि देशहरुमा लाखौंको संख्यामा मजदुरीका लागि किन गईरहेका छन् भन्ने जवाफ दलहरुसित छैन ।
-धर्मनिरपेक्षताको ठुलो दुहाई दिइन्छ मानौं यो नै सर्वोत्तम उपलब्धि हो तर धर्मनिरपेक्ष नेपालका हजारौं हजार महिलाहरु मुस्लिम मुलुकहरुमा बुर्का लगाउन बाध्य हुदा पनि त्यहां जान किन छाडेका छैनन् भन्ने जवाफ दलहरुसित छैन ।
-गणतन्त्र, संघीयता आदि जे जस्ता उपलब्धि भनेर गणना गरेपनि मुलुकको दुई तिहाई जनशक्ति विदेश पलायन भएको छ । राणाकालमा त केवल विदेशी सेनामा मात्र नेपाली युवाहरु जाने गरेका थिए । पञ्चायतमा विदेशी सेना र भारतमा मात्र नेपालीहरु जाने गरेका थिए । आज गणतन्त्रमा ५० लाखको हाराहारीमा नेपालीहरु संसारका झण्डै डेढ सय भन्दा बढी मुलुकहरुमा जाने गरेका छन् ।
-एउटै परिवारका श्रीमान श्रीमती लाई ठुलो लाभको पदमा पुरयाएर दलहरुले व्यवस्था समावेशी भएको बखान गर्न पनि छाडेका छैनन् ।
-मुलुकको संविधान उत्कृष्ट रहेको बताइदै गर्दा त्यर्सै संविधानबाट चलेको मुलुकका नागरिकहरु विश्वका डेढ सय मुलुकहरुमा रोजगारीका लागि किन गईरहेका छन् भन्ने जवाफ दलहरुसित छैन ।
-मुलुकको राष्ट्रिय एकता कसरी अक्षुण्य राख्ने, वैदेशिक हस्तक्षेप थिचोमिचोको अन्त गरेर राष्ट्रिय स्वधीनतालाई पूर्णता कसरी दिने, देशको जनशक्ति, पूँजी आदि स्वदेशमै लगानी गरी मुलुकलाई आत्मनिर्भर बनाउन विकासको मोडेल कस्तो अवलम्बन गर्ने भन्ने विषयमा दलहरुमा छलफलसम्म पनि हुँदैन ।
-किसानले उत्पादन गरेका वस्तुहरुको लागि बजार व्यवस्था कसरी गर्ने, मजदुर र कामदारहरुलाई राम्रो ज्याला कसरी सुनिश्चित गर्ने आदि विषयहरुमा विमर्श हुँदैन । कृषिप्रधान मुलुकमा मल कारखाना कसरी स्थापना गनेर्, सिंचाई कुलो नहर कसरी बनाउने भन्ने विषयहरु छलफलमा पर्दैनन् । त्यो सबै कर्मचारीहरुको जिम्मामा छ ।
-मजदुरहरुको पलायन कसरी रोक्ने, उद्योग–धन्धाहरुको विकास कसरी गर्ने आदि विषयहरु दलहरुका एजेण्डा बन्दैनन् । शिक्षा, स्वास्थ्य र यातायातलाई राज्यले कसरी सर्वसुलभ गराउन भन्ने विषयमा दलहरु मौन छन् ।
त्यसैले अब निम्न तीन बुंदाहरुमा बहस केन्द्रित गरौं :
(१) सबल राष्ट्र निर्माण :
एउटा जाति, धर्म, भाषा संस्कृति र क्षेत्रमा बसोबास गर्ने समुदायलाई अर्का विरुद्ध उक्साउने राजनीति बन्द गर्राै, सबैखाले विभेदहरुको अन्त गर्दै जाऔं । जाति, क्षेत्र, भाषा, धर्म आदिका आधारमा गरिने भोटको राजनीति बन्द गरौं । हिमाल, तराई र पहाडमा बसोबास गर्ने १०० भन्दा बढी जात–जाति भाषा–भाषीहरुको बीचमा सुदृढ एकता कायम गरौं । यसबाट मात्र राष्ट्रिय एकता सुदृढ हुन्छ र मुलुक सबल बन्छ ।
(२)स्वाधीन राष्ट्र निर्माण
नेपाल कहिल्यै पनि गुलाम भएन यो कुरा प्राविधिक हिसाबले सही हो । तर यो कुरा पनि त्यत्तिकै सत्य हो कि नेपाल कहिल्यै पनि स्वतन्त्र हुन सकेन । विगतमा भएका नाकाबन्दीहरु, संविधान निर्माण, नागरिकतालगायतका मुद्दाहरुमा हुने वैदेशिक हस्तक्षेपबाट यसको पुष्टि हुन्छ । त्यसैले नेपाललाई स्वाधीन र स्वतन्त्र बनाउने अधुरो कार्यभारलाई पूर्णता दिनु सबै दल सामुरहेको दोस्रो ठुलो कार्यभार हो । यो नै मुलुकलाई स्वाधीन बनाउने एकमात्र बाटो हो ।
(३)विकासको पश्चिमा मोडेलको कारणले हाम्रो जनशक्ति, जलशक्ति, कच्चामाल, पूँजी, प्रतिभा आदि सबै विदेशको सेवामा खर्च भएको छ । पहिलो र दोस्रो विश्वयुद्धमा लाखौं नेपाली युवाहरुले बेलायती साम्राज्यलाई हराभरा बनाए । हालका केही वर्षहरुदेखि दुबई, कतार, मलेशिया आदि देशलाई बनाउन लाखौं नेपालीहरुको श्रम खर्च भएको छ । तर हाम्रो मुलुक भने झन पछि झन् गरीबी र पछौटेपनको शिकार बनेको छ । नेपाललाई आवश्यक पर्ने ९० प्रतिशत वस्तुहरुको आवश्यकता हामीले भारतलगायत विदेशबाट परिपूर्ति गर्ने गरेका छौं । मुलुकलाई पश्चिमा नवउदार पूँजीवादी विकासे मोडेलबाट मुक्त गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्नका लागि तदनुकुलको आर्थिक विकासको मोडेल अपनाएर मात्र नेपाललाई गरीबी र पछौटेपनको दुष्चक्रबाट मुक्त भएको एउटा समुन्नत मुलुक बनाउन सकिन्छ ।
आउनुस् सबल, स्वाधीन र समुन्नत नेपाल निर्माणको अभियानमा जुटौं ।
लेखक, तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बिदेश बिभाग सह-ईन्चार्ज तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य, लेखक तथा बिश्लेषक हुन ।
०००




