१४ चैत्र
माधव ज्ञवाली । नौलो बिहानी युवा क्लब रुरुक्षेत्र २ ग्वादी गुल्मीको आयोजनामा खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ। भगेर स्थान मन्दिरको प्राङ्गणमा सम्पन्न उक्त प्रतिस्पर्धामा २० भन्दा धेरै क्लबको सहभागिता रहेको थियो,प्रतिस्पर्धाको उपाधी परिवर्तनशिल युवा क्लब रुरुक्षेत्र ३ ले जितेको छ। उपाधी जितेसङ्गै क्लबले नगद रु. दस हजार ,मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ। प्रतियोगितामा मिर्मिरे युवा क्लब रुरुक्षेत्र ६ रिमुवाले उपबिजेतामै चित्त बुझायो। उपबिजेता ले नगद रु. सात हजार ,मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ।
यता कडा प्रतिस्पर्धामा आफुलाई उभ्याएको प्रवासी युवा क्लब रुरुक्षेत्र ६ रिमुवाले तृतीय स्थान भेटाउन सफल भयो,तृतीय भएसङ्गै उक्त क्लबले नगद रु. पाँच हजार,मेडल सङ्गै प्रमाणपत्र प्राप्त गर्यो। टिटि सिस्टमबाट खेलाईएको प्रतियोगितामा क्षेत्रीय खेलाडीहरु दिपेन्द्र श्रेष्ठ र मौसम कुंवरले प्रतियोगिता अवधिभर रेफ्रीको भुमिका निर्वाह गरे।कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गराउन सहयोग गर्ने सहयोगीहरुलाई क्लबले प्रशंसापत्र र दोसल्ला ओडाएर सम्मान गरेको थियो।
खेल चैत्र १२ देखि १४ गतेसम्म सम्पन्न भएको थियो। क्लबका अध्यक्ष दिपा भण्डारी सभाध्यक्ष्य रहनुभएको समापन कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका वडा न.२ का वडा अध्यक्ष घनश्याम अर्यालको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा वडा सदस्य भुवनेश्वर बराल, जिल्ला भलिबल संघ गुल्मीका उपाध्यक्ष देवबहादुर विक लगायतको आतिथ्यता रहेको थियो। समापन कार्यक्रमको संचालन श्रीधर बरालले गरेका थिए।