२१ बैशाख
राजधानी । २७ वैशाखमा प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने निर्णय गरेसँगै एमालेको माधव नेपाल पक्षका सांसद सामूहिक राजीनामा गर्ने छलफलमा जुटेका छन् । प्रधानमन्त्री ओलीलाई सत्ताच्यूत गर्न नेपाल पक्षले यस्तो निर्णय लिने गरी छलफल अगाडि बढाएको हो । नेपालनिकट स्रोतका अनुसार सांसदबाट राजीनामा गर्ने राजनीतिक निर्णयबारेमा छलफल भइरहेको छ । तर, यसबारेमा टुंगो लागिसकेको छैन ।
नेपाल पक्षका सांसदमध्ये कम्तीमा २० जनाले राजीनामा दिएको अवस्थामा विपक्षी गठबन्धनलाई सरकार बनाउन सहज हुनेछ । त्यो अवस्थामा संसदमा २ सय ५१ जना सांसद हुनेछन् । र, कायम रहेको सांसद संख्याको बहुमतले सरकार बनाउने हुन्छ । त्यसअनुसार १ सय २८ जना भए बहुमत पुग्छ । त्यसका लागि कांग्रेस–माओवादी गठबन्धनसँग रहेको १ सय ९ सिटमा १९ जना सांसद भए पुग्छ ।
जसपाको उपेन्द्र–बाबुराम भट्टराई पक्षका १८ सांसद र जनमोर्चाको १ सांसद जोड्दा बहुमत संख्या पुग्न सक्छ । सरकार बन्ने अवस्था आउँदा उपेन्द्र यादव पक्षका सांसदको संख्या २२ सम्म पुग्न सक्ने विश्लेषण छ ।
२७ वैशाखमा विश्वासको मत लिनु ठीकअघि अर्थात् त्यसै दिन बिहान नेपाल समूहका ३० जना सांसदहरूले राजीनामा दिएको अवस्थामा ओलीलाई थप समस्या पर्नेछ । ३० जनामध्ये ९ जना समानुपातिक सांसद छन् । त्यसैले २७ वैशाखकै बिहान राजीनामा दिएको अवस्थामा ओलीले समानुपातिक सांसदका पूर्ति गर्न सम्भव हुँदैन । त्यसले ओलीलाई झन् समस्या पार्नेछ । यसरी ओलीको सत्ताच्युत गर्न माधब नेपाल पक्षका लगभग ३० सांसदको सामुहिक राजिनामा तयारी भएको हो ।
प्रतिनिधिसभामा सभामुखसहित २६७ सांसदको बहुमतका लागि १३४ चाहिन्छ । कांग्रेसको ६१, माओवादीको छक्कवहादुर लामासहित ५० र उपेन्द्र बाबुराम पक्षको कम्तीमा १८ सांसद हुने अनुमान छ । त्यस्तै राष्ट्रिय जनमोर्चाको एक भोट पनि विपक्षी गठबन्धनमा जानेछ ।
कर्णालीका ४ सांसदको फ्लोर क्रस र लुम्बिनीका एक सांसदको राजीनामाले एमालेको दिशा तय गरिसकेको छ । अब प्रतिनिधिसभाका माधव पक्षका सांसदहरूले सामूहिक राजीनामा दिए भने त्यो सिलसिला सबै प्रदेशमा चल्नेछ । एकैसाथ केन्द्रदेखि प्रदेशसम्मका सबै सरकार ढाल्नका लागि सामूहिक राजीनामाको विकल्पमा छलफल भएको नेताहरूले बताएका छन् ।
माधव पक्षका प्रत्यक्ष निर्वाचित सांसदहरु निम्न छन् :
१. योगेश भट्टराई
२. झलनाथ खनाल
३. पवित्रा निरौला खरेल
४. भवानी खापुङ
५. जयकुमार राई
६ . यज्ञराज सुनुवार
७. गणेश पहाडी
८. विरोध खतिवडा
९. कृष्णलाल महर्जन
१०. माधवकुमार नेपाल
११. जीवनराम श्रेष्ठ
१२. नारायण खतिवडा
१३. घनश्याम भुसाल
१४. गोकर्ण विष्ट
१५. सोमप्रसाद पाण्डे
१६. मेटमणी चौधरी
१७. हिराचन्द्र केसी
१८. झपट रावल
१९. भीमवहादुर रावल
२०. दिपकप्रकाश भट्ट
२१. राजबहादुर बुढा
२२. सुरेन्द्र पाण्डे




