२४ बैशाख
राजधानी । वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा बादल र स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाको उम्मदेवारी परेको छ ।
वाग्मती प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा बादल र देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् ।
बादलको प्रस्तावमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेका छन् ।
देवकोटाको प्रस्तावकमा नेकपा माओवादी केन्द्र वाग्मती प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र समर्थक नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक राधा घले रहेकी छन् ।
स्वतन्त्र उम्मेदवार देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधव नोपल समूहको समर्थन रहेको छ ।
राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले पनि उम्म्दवारी दिएका छन् ।
राष्ट्रिय सभाको लागि हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता तोकिएको छ । उम्मेदवारी दर्ताको समय विहान १० बजेदेखि ४ बजेसम्म निर्धारण गरिएको छ ।
२०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट नेता रामबहादुर थापा ‘बादल’ यो क्षेत्रबाट निर्वाचित भएका थिए । पछि नेकपा एमालेमा प्रवेश गरेका थापाको सांसद पद गुमेकाले आगामी जेठ ६ गते उपनिर्वाचन हुन लागेको हो ।
राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि निर्वाचन आयोगले वाग्मती प्रदेशको राजधानी हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।
राष्ट्रियसभा सदस्य पदमा जेठ ६ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।