पश्चिम व्यूराे, खुल्लान्यूज
गुल्मी, २१ कात्तिक । गुल्मीको मदाने गाउँपालिकामा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरिएको छ । बृद्धभत्ता, एकल महिला लगायतको सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण सुरु गरिएको हो । सरकारले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न निर्देशन जारी गरेसँगै मदाने गाउँपालिका र कृषि विकास बैंकबीच सम्झौता भयो । त्यसपछि बैंकले सबै लाभग्राहीको अनलाइनमार्फत खाता खुलाइदियो । पहिलो चरणमा बैंकले गाउँपालिकाको वडा नम्बर ३ सिर्सेनीबाहेक अन्य सबै ६ वटा वडामा भत्ता वितरण गरेको छ । सिर्सेनीमा भने मालिका गाउँपालिका ८ सिमलटारीमा रहेको शाइन रेसुङ्गा बैंकले भत्ता वितरण गर्नेछ । एक करोड पाचँ लाख भन्दा बढी रकम बैंकले वितरण गरेको छ ।
कृषि विकास बैंक, बैंकिक कार्यालय, पुर्कोट दहका प्रबन्धक इश्वरी प्रसाद नेपालका अनुसार मदानेका सम्बन्धित वडा कार्यालयबाट बैंकले सेवा प्रवाह गरेको छ । लाभग्राहीको रकम बैंकले नगदी लगेर आवश्यक कर्मचारीको व्यवस्थापनबाट वडा कार्यालयबाट सेवा प्रवाह गरिएको नेपालले बताए । मदानेमा सामाजिक सुरक्षा भत्ताका लागि २ हजार छ सय भन्दा बढी लाभग्राही छन् । भनभनेका वडाध्यक्ष काशिँबहादुर बोहोराले नागरिक झण्डै दुईघण्टासम्मको बाटो हिडेर भत्ताको लागि वडा कार्यालय आएको बताए । तर त्यसरी वडावडामै आउनुपर्दा बृद्धबृद्धाहरुलाई भने सास्ती भएको उनको भनाई छ । अन्य तरिकाभन्दा बैंकिङ्ग प्रणालीबाट भत्ता बुझ्ने तरिका बढी भरपर्दो र विश्वसनिय भएको उनले बताए ।