कुनैपनि नयाँ विषयवस्तुमा ज्ञान लिने वा सोही विषयबारे अरुलाई ज्ञान दिने कार्यलाई शिक्षा भन्ने गरिन्छ । मानव जिवनका लागि शिक्षाको अहम् भुमिका रहन्छ । शिक्षाको विकास विना अरु क्षेत्रको विकासको कल्पना समेत गर्न सकिदैन । नेपाली भाषामा भन्ने गरिन्छ, शिक्षा मानिसको आखाँको ज्योति हो । शिक्षाले देशको समग्र विकासमा समेत भुमिका खेल्दछ । शैक्षिक जनशक्ति भएका देशहरुको विकासको गति तुलनात्मक रुपमा अन्य मुलुकहरुको तुलनामा धेरै हुन्छ । शिक्षाले आर्थिक क्षेत्रमा मात्र होईन देशमा कस्तो नागरिकहरु उत्पादन गर्ने, देशलाई कुन दिशामा लैजाने जस्ता महत्वपूर्ण विषयहरुमा समेत दिशा प्रदान गर्ने गर्दछ । विश्वभरका सम्पन्न देशहरुले शिक्षालाई विकासको आधारका रुपमा प्राथमिकताका साथ लगानी गरेका छन् । नेपालमा भने बल्ल अन्तरिम संविधान २०६३ ले मौलिक हकको रुपमा शिक्षालाई प्रत्याभूत गरेको हो । तत्पश्चात बल्ल नेपालमा सबै नागरिकहरुलाई आधारभूत शिक्षामा पहुँचको प्रत्याभूत भएको छ । त्यसो त नेपालमा अहिलेपनि विभिन्न ठाउँहरुमा शिक्षाको उचित पहुँच नपुगेको र सरकारले सहज पहुँच पुर्याउन विभिन्न कार्यक्रमहरु मार्फत् शिक्षामा लगानी बढाईरहेको छ । 

नेपालको परिपेक्षमा शिक्षा क्षेत्रको विकास अन्य मुलुकहरुको भन्दा निकै कमजोर र सुस्त छ । यद्यपी शिक्षा क्षेत्र नेपाल सरकारको मुख्य प्राथमिकतामा परेको छ । सरकारले आधारभुत तहदेखी माध्यमिक तहसम्म शिक्षा निशुल्क पाउने व्यवस्था समेत नगरेको होईन । तर अपेक्षाअनुसार शिक्षण सिकाई स्तर बृद्धि गर्न र शैक्षिक विकास गर्न सकिरहेको छैन । तर विगतका शैक्षिक नतिजाको तुलनामा भने धेरै सुधार भएको छ । 

सुचना प्रविधि एउटा यस्तो क्षेत्र हो जसले हरेक क्षेत्रमा विशेष भूमिका राख्दछ, चाहे त्यो शिक्षा, स्वास्थ्य, व्यापार, सञ्चार, मनोरञ्जन ईत्यादी होस् । नेपालको शिक्षा प्रणाली अन्य मुलुकको भन्दा कमजोर हुनु वा गुणात्मक शैक्षिक प्रतिफल नआउनुमा मुख्य कारण भनेकै शिक्षामा प्रयोग हुनुपर्ने एथेष्ठ सुचना तथा सञ्चार प्रविधिको प्रयोग नहुनु हो । शैक्षिक गुणस्तर र शिक्षण सिकाई फलदायी गराउन शिक्षामा सुचना तथा सञ्चार प्रविधिको प्रयोग उच्चतम हुनुपर्ने हुन्छ । नेपालमा प्रभावकारी प्रविधियुक्त शिक्षण कला र सिपमा आधारित शिक्षण सिकाईको अभावले नेपाली शिक्षा प्रणाली विभिन्न समयमा आलोचित र प्रतिफलमुखी नभएको पाईन्छ । नेपालमा प्राथमिक तहबाटै प्रविधिमा आधारित शिक्षा प्रदान गर्न सुरुवात गर्नेहो भने नेपालको शैक्षिक गुणस्तरमा समेत उल्लेख्य प्रगति हुने देखिन्छ ।

शिक्षकको क्षमता विकास गर्न र समयानुकुल शिक्षण सिकाईका लागि आधुनिक प्रविधिमैत्री शैक्षिक कृयाकलापहरु सञ्चालन गर्न जरुरी देखिन्छ । कक्षाकोठामा विद्यार्थीहरुलाई मात्र होईन शिक्षकहरुलाई समेत प्रविधिले सहज र समयानुकुल बनाउँदछ । भविश्यमा आफुले गर्ने पेशा तथा व्यवसायका लागि पनि विद्यार्थीलाई विद्यालय स्तरबाटै प्रविधियुक्त शिक्षाको आवश्यकता देखिन्छ ।  शिक्षण सिकाई सामाग्रीको रुपमा अब हरेक कक्षाकोठामा सुचना तथा सञ्चार प्रविधिको प्रयोग उपरिहार्य देखिन्छ ।

कक्षाकोठामा अडियो(भिडियो माध्यमबाट अन्तरक्रियात्मक शिक्षण सिकाईका गर्ने कुरा होस् या ई लर्निगँ होस् परम्परागत शिक्षण सिकाई भन्दा प्रविधियुक्त शिक्षण सिकाई धेरै लाभदायक र नतिजामुखी देखिन्छ । कक्षामा अनुपस्थित विधार्थीको दर कम गर्न समेत शिक्षामा सुचना प्रविधिको प्रयोग अपरिहार्य देखिन्छ । विद्यालयमा अवलम्बन गरिने सुचना तथा सञ्चार प्रविधिले विद्यार्थीहरुलाई मात्र होईन, शैक्षिक संस्था संञ्चालक, व्यवस्थापक र शिक्षकहरु समेतलाई व्यवस्थित हुन र उतिच कार्यसम्पदान गर्न सघाऊ पुर्याउदछ । शैक्षिक संस्थालाई व्यवस्थित तवरले दीर्घकालसम्म सञ्चालनमा ल्याउन, व्यवसायीक तथा सामाजिक विकास गर्न,  पारदर्शितासाथै शैक्षिक वफादरीता कायम राख्न समेत सुचना प्रविधिले सहयोग गर्दछ ।

विद्यार्थीलाई प्रारम्भिक चरणबाटै प्रविधिमा आधारित शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरुमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक र वैयक्तिक विकास तुलनात्मक रुपमा अत्यधिक धेरै भएको पार्ईन्छ साथै शिक्षकले समेत जहिलेपनि विद्यार्थीको शैक्षिक सिकाई वृद्धि गर्ने र उसको गुणस्तर बृद्धि गर्न चाहिराखेको हुन्छ तर कतिपय अवस्थामा शैक्षिक सामाग्री वा प्रविधिको अभावका कारणले उक्त लक्ष्य हासिल भएको देखिदैन । शिक्षामा प्रविधिले जानाकारी मुलक र  रमाईलो तरिकाले सिकाई उपलब्धि हासिल गर्न र सिकेका कुराहरुलाई लामो समयसम्म सम्झन सहयोग गर्दछ । 

नेपालको परिवेशमा अहिले पनि ICT भन्नाले विद्यालयमा केही थान कम्प्युटर हुनुलाई मात्र  बुझ्दछन् तर ICT in Education भन्नाले विद्यालय व्यवस्थापन देखि प्रभावकारी शिक्षण सिकाइमा उपयोगी सबै प्राविधिजन्य उपकरणहरु, सफ्टवेयरहरु, ईन्टरनेट, सम्पूर्ण नेटवर्कहरु, सेलफोन, भिडियो कन्फ्रेसिंग प्रविधि, सामाजिक सञ्जाल, अनलाईन कक्षा,  ई लाईव्रेरी आदी सबै सुचना तथा सञ्चार प्रविधि लाई बुझिन्छ ।   
विद्यालयमा सुचना तथा सञ्चार प्रविधियुक्त कक्षा कोठा हुनका लागि कम्तिमा हुनुपर्ने उपकरण र प्रविधिहरु निम्नानुसार छन् । 

    १) हरेक कक्षाकोठामा कम्तिमा एउटा कम्प्युटर वा ल्यापटप हुनुपर्दछ जसले गर्दा अनलाईन तथा अफलाईनमा भएका Resources हरु पढ्न पढाउन तथा विद्याथीहरुलाई उत्प्रेरणा श्रृजना गर्ने खालका सामाग्रीहरु देखाउँन सकियोस् ।
    २) सम्भव भएसम्म हरेक कक्षा कोठामा Interactive White Board हुनुपर्दछ जसका कारण शिक्षण सिकाई आकर्षक तथा प्रस्तुतिकरण लाई सहज र बुझाउन सकिने हुन्छ । 
    ३) शिक्षकले तयार पारेका सामाग्रीहरु भिडियो वा स्लाईड मार्फत् ठुलो पर्दामा देखाउन एउटा प्रोजेक्टर पनि हुनु त्यत्तिकै महत्न्वपूर्ण हुन्छ । जसले गर्दा बोलेर र लेखेर सिकाएको कुराभन्दा देखेर सिकेको कुराहरु विद्यार्थीका लामो समयसम्म स्मरणीय रहन्छ ।
    ४) Internet Connectivity पनि अहिलेको युगमा अत्यावश्यक जस्तै बनेको छ । शिक्षकले आफुले तयार नगरेपनि वेवसाईटमा लाखौंको संख्यामा वेवमा भएका शैक्षिक सामाग्रीहरु खोजेर अनलाईन मार्फत् प्रस्तुत गर्न अहिले ईन्टरनेट पनि हरेक कक्षाकोठामा अत्यावश्यक प्राय बनेको छ । 
    ५) सुविधासम्पन्न विद्यालयहरुले अब Bookless कक्षाहरु पनि सञ्चालन गर्न थालेका छन् जसका लागि हरेक विद्यार्थीहरुले विद्यालयमा जादा किताब र कपि बोक्दैनन् प्रत्येकले एक एक थान ट्यावलेट वा ल्यापटप बोकेर जान्छन् र सबै पढ्नुपर्ने सामाग्रीहरु ट्यावलेट वा ल्यापटपमार्फत् नै अध्ययन र अभ्यास समेत त्यसबाटै गर्ने गर्दछन् साथै शिक्षकहरुले समेत ल्यापटप वा ट्यावमार्फत नै अध्यापन गराउने गर्दछन् । 
    ६) विद्यालयमा कक्षाकोठामा विद्यार्थीका गतिविधिहरु अवलोकन गर्न र पढाईरहेको कक्षाहरुको रेकर्ड राखी अनुपस्थित विद्यार्थीहरुलाई कक्षा सकेपछि पनि सामाग्री उपलब्ध गराउन विभिन्न क्यामेराहरु र रेकर्डींग उपकरणहरु समेत जडान गर्ने र सकेसम्म अनलाईन कक्षाहरु समेत सञ्चालनमा ल्याउने ताकी विभिन्न कारणले विद्यालयमा भौतिक रुपमा उपस्थित भई कक्षा लिन नसक्ने विद्यार्थीहरुले पनि घरबाटै भर्चुअल कक्षा लिन सकुन । 
    ७) विद्यालयमा विद्यार्थी, शिक्षक, अभिभावक सबैको डिजिटल रेकर्ड राख्न उपयुक्त विद्यालय व्यवस्थापन सफ्टवेयर सञ्चालनमा ल्याउने, पारदर्शिता र छिटोछरितो सेवा प्रदान गर्न लेखा व्यवस्थापनलाई कम्प्युटराईज्ड गराउने्, साथै जिन्सी, लार्ईब्रेरी ईत्यादीलाई डिजिटलाईज्ड गर्ने । 
    ८) सम्पुर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुलाई मुलगेटबाट प्रवेश गर्दा नै हाजिरी हुने टाईपको प्रविधि जडान गर्ने र सर्बै विवरण रहने गरि Chip वाला ID Card लागु गर्ने र विद्यार्थीहरु बिद्यालयमा आगमन भएको र बर्हिगमन भएको विवरण अभिभावकको मोवाईलमा SMS वा नोटिफिकेशन मार्फत् जाने गराउने जसले गर्दा अभिभावकलाई आफ्नो बालबच्चाको अवस्था अवगत हुन्छ ।
    ९) बिद्यालयले विभिन्न बिदाहरुमा पनि घरबाटै शिक्षक तथा विद्यार्थीहरुको सम्पर्क कायम हुने खालको प्रविधि जडान गरि अनलाईन र अफलाईन दुवै माध्यमबाट जतिबेला पनि आफ्नो पाठ्यक्रम विद्यार्थीले स्वःअध्ययन गर्न मिल्ने गराउने र सम्भव भएसम्म अनलाईन परिक्षाहरु सञ्चालन गर्ने । 
    १०) समयसमयमा देखापर्ने विश्वव्यापी महामारीका समयमा भौतिकरुपमा भेटेर अध्ययन अध्यापन गराउन नमिल्ने वा नसकिने अवस्थामा नियमित अनलाईन कक्षा सञ्चालनका लागि आवश्यक प्रविधि र जनशक्ति तयार गर्ने । ईत्यादी ।

शिक्षामा सुचना प्रविधीलाई लागु गर्न, समयानुकुुल र परिवेश सुहाउदो बनाउन बिद्यालयमा सुचना तथा सञ्चार प्रविधिका उपकरण मात्र भएर हुदैन सो उपकरणहरु को उपयोग गर्नसक्ने शिक्षक तथा कर्मचारीको क्षमता विकास गरी प्रविधिमैत्री वातारणको श्रृजना पनि गर्न जरुरी छ । जसका लागि स्वयम् विद्यार्थी, अभिभावक, सिंगो विद्यालय परिबार, समाज र राष्ट्रको समेत अग्रसरता हुनु जरुरी देखिन्छ ।
✍ कृष्ण खनाल 
सञ्चालक
हाइस्पीड कम्प्युटर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय