१६ असार
गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकामा अधिकांश वडाहरुमा बजेट बाटोमै सकिएको छ । निर्बाचित वडा समितिले स्थानिय रुपमा योजना तर्जुमा मार्फत माग गरि बिनियोजन गरेको शिर्षक मध्ये धेरै वडाले मोटरबाटो स्तरोन्नति, निर्माण, मर्मत र सफाइमै बजेट केन्द्रित गरेका छन ।
हुन त पछिल्लो केही वर्षयता पहाडी भुगोलको विकासनै घरघर टोलटोलमा मोटरबाटो बनेको छ ।
चन्द्रकोटको वडा नम्बर ७ रुपाकोटमा ५७ लाख १६ हजार बजेट ४० वटा शिर्षकमा बाँडिएको छ । ४० मध्ये १७ वटा शिर्षक सडककै छन । बजेटको ४२.४२ प्रतिशत अर्थात २४ लाख २५ हजार बजेट मोटरबाटो मर्मत र सरसफाइको लागि बिनियोजन गरिएको छ ।
वडा नम्बर १ दिब्रुङ्गमा ५३ लाख १६ हजारका २७ वटा शिर्षकमा बजेट बिनियोजन गरिएको छ । २७ मध्ये १५ वटा बजेटका शिर्षक मोटरबाटो र गोरेटो बाटोका छन । बजेटको ३८.५६ प्रतिशत अर्थात २० लाख ५० हजार सडक निर्माण र मर्मत तथा सरसफाइमा छुट्याइएको छ ।
त्यस्तै वडा नम्बर ८ तुराङ्गमा पनि धेरै बजेट मोटरबाटो मै केन्द्रित गरिएको छ । त्यहाँ बजेट निकै धेरै शिर्षकमा बाँडिएको छ । ५८ लाख १६ हजारका ५४ वटा शिर्षकमा बजेटलाई भाग लगाइएको छ । जसमध्ये १ देखि १९ नम्बरका सबै शिर्षक बाटोकै छन । २० वटा बाटोका लागि ३६.४५ प्रतिशत अर्थात २१ लाख २० हजार बजेट मर्मत र सरसफाइको लागि बिनियोजन गरिएको छ ।
वडा नम्बर ५ ग्वाघामा ५५ लाख १६ हजार बजेट ३० वटा शिर्षकमा बिनियोजन गरिएको छ । जम्मा ८ वटा शिर्षकमा सडकको लागि १९ लाख ६० हजार अर्थात ३५.५३ प्रतिशत बजेट छुट्याइएको छ । ८ लाख ५० हजार एकमुष्ट रुपमा वडा स्तरिय शाखाबाटो सरसफाइ भनेर राखिएको छ । एउटा कल्भर्ट र ३ वटा ह्युमपाइपको लागि बजेट राखिएको छ ।
वडा नम्बर ४ शान्तिपूरमा ५८ लाख १६ हजारलाई ४१ वटा शिर्षकमा बजेट बाँडिएको छ । जसमध्ये १२ वटा शिर्षक सडकका छन । बजेटको ३२.६६ प्रतिशत अर्थात १९ लाख बाटो मर्मत र सफाइमा छुट्याइएको छ ।
वडा नम्बर ६ हरेवामा ५३ लाख १६ हजार बजेटलाई २४ वटा शिर्षकमा सिमित गरिएको छ । २४ मध्ये ५ वटा शिर्षकमा ३०.०९ प्रतिशत अर्थात १६ लाख बजेट सडक मर्मत र सरसफाइमा बिनियोजन गरिएको छ ।
वडा नम्बर ३ हराचौरमा ५३ लाख १६ हजारलाई ४० वटा शिर्षकमा बाँडिएको छ । ६ वटा शिर्षकमा १३ लाख ४० हजार अर्थात २५.२० प्रतिशत बजेट मोटरबाटो मर्मत तथा सरसफाइमा राखिएको छ ।
वडा नम्बर २ बिशुखर्कमा ५४ लाख १६ हजारका ३१ वटा शिर्षकमा बजेट बिनियोजन गरिएको छ । त्यहाँ १० वटा शिर्षक बाटोका छन । २०.७७ प्रतिशत अर्थात ११ लाख २५ हजार बजेट बाटोको मर्मत र सरसफाइको लागि राखिएको छ । साथै एउटा कल्भर्टको लागि ५० हजार राखिएको छ ।
बाटोमा राखिएको बजेट अधिकांश मोटरबाटो स्तरोन्नति, निर्माण, मर्मत र सरसफाई तथा सफाई शिर्षकमा बिनियोजन गरिएको छ । केही गोरेटो बाटो मर्मत र सरसफाईको लागि छुट्याइएको हो । जनप्रतिनिधिहरुले अब पनि हरेक वर्षको बजेट बाटोमै बिछ्याउने हो भने नागरिकको जिवनस्तर जस्ताको त्यस्तै रहने देखिन्छ । कतिपय वडामा त कुनैपनि लक्षित कार्यक्रम नै छैनन । बजेटको धेरै हिस्सा मोटरबाटो र सिंचाइ कुलोमा मात्रै केन्द्रित गरेका छन ।
निकै भिरालो जमिन त्यो पनि चट्टानी पहाड सबैको घरघरमा मोटरबाटो पुग्नैपर्ने त्यति नभए पनि आफ्नो टोलमा त पुन्नैपर्ने बाध्यता । नत राम्रो ईन्जिनियरिङ्ग न त भौगर्भिक अध्यायन । डोजर र स्काभेटरको चालकले गरेको मापन त्यही भएर त हिउँदभरी मोटरबाटो बनाउनै पर्छ वर्षा सुरु भएपछी सबै बगाएर लैजान्छ । एकातिर पहिरोको जोखिम अर्कोतिर यातायात पुरै ठप्प यो कहिलेसम्म यस्तै रहन्छ ।
हरेक वर्ष बजेटको सबैभन्दा ठूलो हिस्सा त्यही बाटोको मर्मत र सफाइको लागि छुट्याउनै पर्छ । जब बर्षात लाग्छ माटोसङ्गै बगेर जान्छ जनताको करबाट जम्मा भएको झण्डै आधा हाराहारीको बजेट ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs