खुल्ला न्यूज
भदौ २, २०७८ काठमाडौं । नेकपा एमाले विभाजन गरेर माधव नेपाल अध्यक्ष रहेको एमाले (समाजवादी) पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस भएको छ ।

पार्टीमा ३१ जना सांसद रहेका छन् । निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि नयाँ पार्टीका नेता राजेन्द्र पाण्डेले प्रतिनिधिसभा र राष्ट्रियसभाका ३१ जना सांसदहरु रहेको बताए । त्यस्तै उनले साविक एमालेका ५८ जना केन्द्रीय सदस्यसहित ९५ जनाको नयाँ पार्टीको केन्द्रीय समिति रहेको जानकारी दिए । नेता नेपालको अध्यक्षतामा गठन भएको नयाँ पार्टीमा नेता झलनाथ खनाल वरिष्ठ नेताका रुपमा रहेका छन् ।
चुनाव चिन्ह भने के राख्ने भन्ने अझै टुंगिएको छैन। किताव प्रस्ताव गरिएको थियो। अब कलम वा अरू केही चुनाव चिन्ह हुन सक्ने पाण्डे बताउँछन्।
एमालेबाट विभाजित भएर बनेको एमाले समाजवादी पार्टीमा वामदेव गौतम अनुपस्थित देखिएका छन् । उनले नेपाललाई साथ दिने आश्वासन दिएको भए पनि आज दर्ता भएको पार्टीको ९५ सदस्यीय केन्द्रीय कमिटीमा उनको नाम छैन ।
गौतम पार्टीमा विवाद शुरू भएसँगै कहिले यता र कहिले उता गरिरहेका थिए । नेपाल समूह नयाँ पार्टी गठनका लागि कस्सिएपछि त्यसमा आफ्नो साथ रहने उनले बताएका थिए । तर, आज दर्ता भएको एमाले समाजवादी पार्टीमा उनी अनुपस्थित देखिएका छन् ।
नेपाल एकल अध्यक्ष रहेको पार्टीमा झलनाथ खनाल वरिष्ठ नेताको हैसियतमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय