खुल्ला न्यूज । पेरुको शासक फुजीमोरीले सन् १९९२ मा गिरफ्तार गरेर २९ वर्षसम्म बन्दी बनाइएका गोञ्जालोको जेलमै मृत्यु भएको छ। पेरु कम्युनिस्ट पार्टी (साइनिङपाथ) का नेता गोञ्जालोको शनिबार साँझ पेरुको जेलमा ८६ वर्षको उमेरमा निधन भएको हो।
सन् १९८० बाट पेरुमा सुरु भएको जनयुद्ध केन्द्रीय सत्ता कब्जाको नजिकै पुग्दा गोञ्जालो गिरफ्तार परेका थिए। सन् १९९२ मा उनलाई लिमा शहरको एउटा घरबाट गिरफ्तार गरिएको थियो। त्यसपछि पेरुको अदालतले उनलाई आजीवन काराबासको सजाय सुनाएको थियो।
गोञ्जालो विश्वभरिका कम्युनिस्ट एवं क्रान्तिकारीहरूबिच निकै लोकप्रिय थिए। सन् १९७६ मा माओको निधनपछि मुर्झाएको माओवादी आन्दोलनलाई उठाउन गोञ्जालोले नै निर्णायक भूमिका खेलेका थिए। चीनको हुनानमा भएको किसान विद्रोह, नयाँ जनवादी क्रान्ति, महान अग्रगामी छलाङ, सर्वहारा सांस्कृतिक क्रान्ति, अर्थसामन्ती र अर्धऔपनिवेशिक समाजको विश्लेषण, दीर्घकालीन जनयुद्धको कार्यदिशा लगायतका माओका योगदानलाई माओवादका रूपमा संश्लेषण गर्नुमा गोञ्जालोको महत्वपूर्ण भूमिका थियो।
पेरुको सरकारले गोञ्जालोलाई सशस्त्र क्रान्तिका दौरानमा भएको भौतिक र मानवीय क्षतिमा दोषी करार गर्दै गिरफ्तार गरेको थियो। पछिल्लो समय छालाको क्यान्सरबाट पीडित उनी बरु जेलभित्रै मर्ने तर नझुक्ने प्रण गरेका थिए। गोञ्जालोको स्वास्थ्य कमजोर बन्दै गएपछि विश्वभरिका कम्युनिस्टहरूले उनको रिहाइको माग गर्दै आएका थिए।
अन्ततः विश्वभरिका कम्युनिस्टहरूका प्रेरणाका स्रोत गोञ्जालो शनिबार साँझ सरकारी जेलभित्रै अस्ताएका छन्। उनलाई उपचारका क्रममा पेरुको सैनिक अस्पतालमा राखिएको र त्यही निधन भएको सरकारी अधिकारीले बताएका छन्। सम्भवतः गोञ्जालो नेल्सन मण्डेलाभन्दा २ वर्ष बढी र राजनीतिक क्रान्तिको नेतृत्व गरेको अभियोगमा सबैभन्दा लामो जेलजीवन बिताउने नेता हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय