खुल्ला न्यूज । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले लुम्बिनी प्रदेशको नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । सुदुरपश्चिम, कर्णाली लगायतका प्रदेशमा आन्तरिक विवाद देखिईरहेका बेला लुम्बिनीमा भने सर्वसम्म नेतृत्व चयन भएको हो । गएराति अवेर सम्पन्न लुम्बिनी प्रदेशको प्रथम सम्मेलनले घनश्याम खरेलको अध्यक्षतामा ८७ सदस्यीय लुम्बिनी प्रदेश कमिटी निर्वाचित गरेको छ । दाङको घोराहीमा सम्पन्न सम्मेलनले खरेलको नेतृत्वमा प्रदेश कमिटी घोषणा गरेको केन्द्रीय प्रतिनिधिका रुपमा सम्मेलन सफल बनाउन पुगेका उपाध्यक्ष तिलकराज भण्डारीले जानकारी दिए । सम्मेलन सफल बनाउन भण्डारीसँगै उपाध्यक्ष दिपेश पुन, कोषाध्यक्ष केशव रावल, क्रान्तिकारीका पूर्व अध्यक्ष नरेन्द्र न्यौपाने पुगेका थिए । सम्मेलनले भीमराज खरेल, रुपेन्द्र मल्ल, अम्विका परियार र सम्झना खनाललाई उपाध्यक्षमा चयन गरेको छ । क्रान्तिकारीको लुम्बिनी प्रमुख सचिवमा राजेन्द्र विष्ट चयन भएका छन् भने सचिवहरुमा सागर पन्त, मदन जिएम, सुदर्शन पुन, दिलिप शर्मा चयन भए । कोषाध्यक्षमा प्रमोद थापा चयन भएका छन् । कतिपय जिल्ला तथा प्रदेशमा विवाद देखिएपनि लुम्बिनी प्रदेशमा भने सर्वसम्म नेतृत्व चयन भएको हो । सम्मेलनबाट नयाँ नेतृत्व चयन गर्नका लागि व्यक्ति भन्दा पनि विधि पहिला तय गरेर अघि बढेका कारण विवाद हुन नपाएको उपाध्यक्ष पुनले समाचार दैनिकलाई जानकरी दिए । उनले भने, ‘कतिपय जिल्ला तथा प्रदेशहरुमा पहिला व्यक्ति अघि सार्ने र त्यसैको सेरोफेरोमा कमिटि बनाउने प्रयास गरिँदा समस्या भएको देखियो । तर लुम्बिनीमा हामीले नेतृत्व चयनका लागि सवैको सहमतिमा एउटा बैज्ञानिक विधि बनायौं । त्यो विधिमा आधारित भएर नेतृत्व गर्ने व्यक्तिबारे छलफल गर्दा कुनै समस्या भएन ।’ उपाध्यक्ष पुनले नयाँ नेतृत्वमा लुम्बिनी प्रदेशका १२ जिल्लाको प्रतिनिधित्व, प्रदेशमा नसमेटिएका नेताहरुलाई केन्द्रमा समेट्ने समझदारी बनाएको पनि जानकारी दिए । लुम्बिनीमा अखिल क्रान्तिकारीको सम्मेलन सफल बनाएर नयाँ नेतृतव चयन गर्नका लागि प्रदेशका पार्टीका नेताहरुले पनि अनावश्यक चासो नलिएको बरु सहयोग गरेकाले पनि सर्वसम्मत नेतृत्व चयन संभव भएको उनले बताएका छन् ।