तिलाचन पाण्डे
कात्तिक २०,२०७८ गुल्मीः इश्मा गाउँपालिकाका कर्मचारीहरुले कार्यालय समय भन्दा बाहिर काम गरेको भन्दै सरकारी सम्पतीमा रजाइँ गरेको रहस्य खुलेको छ ।
गत आर्थिक बर्षको बैशाख देखी असार मसान्त सम्म तीन महिनाको अबधिमा झण्डै ३५२ घण्टा अतिरिक्त कार्य गरेको भन्दै तत्कालिन प्रमुख प्रशासकीय अधिकृत बिष्णुबहादुर घर्ती र लेखा प्रमुख अशोक खडकाले १ लाख ५ हजार ८२५ रुपैयाँ लिएका हुन् ।

यस्तै कार्यालयमा काम गर्ने अन्य कर्मचारीहरुले पनि प्रोत्सान भत्ता पाएता पनि आफूहरुलाई कामको आधारमा नभएको भन्दै उनीहरुले गुनासो गरेका छन् ।
पहुँचको आधारमा ठूला बडाहरुले धेरै रकम लिएको र दिनरात खटिएर काम गर्ने अन्य कर्मचारीहरुलाई उपयोग मात्र गरिएको नाम नबताउने शर्तमा एक कर्मचारीले बताएका छन् ।
कतिपय कर्मचारीहरुले आफूहरुको असन्तुष्टि रहेको भन्दै प्रोत्साहन भत्ता नलिएको बताउँदै आएका छन् । फागुनामा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत र बैशाखमै आएका लेखा अधिकृतले पनि १ लाख ५ हजार ८२५ रुपैयाँ लिँदा दिनरात काममा खटिने कार्यालय सहयोगी र नगर प्रहरीले ८५० रुपैयाँ सम्म पाएका छन् ।

राजा र रैतीको जस्तो ब्यवहार भयो
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महतले कर्मचारीहरु माथि राजा र रैतीको जस्तो ब्यबहार भएको बताएका छन् ।
कामको आधारमा नभई पहुँचको आधारमा रकम लिएको जस्तो देखिएको र त्यो उपयुक्त नभएको उनी बताउँछन् । उनले पनि ८७ हजार ४६५ रुपैयाँ लिएका छन् । उनले बैशाख देखी असार मसान्त सम्म कार्यालय समय बाहेक झण्डै अधिकृत स्तरको २९२ घण्टा काम गरेको देखिन्छ ।
आफूले बुझेको रकम पनि आफैलाई धेरै लागेको उनी बताउँछन् । अन्य सबै कर्मचारीहरुलाई मिलाएर लैजाउँ भन्दा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले सबैलाई मिलाएको बताएको महतले बताए ।

सोही समय अबधिमानै कार्यालयमा कार्यरत कर्मचारीहरुले काज समेत लिएको र प्रोत्साहन भत्ता पनि लिएको नाम नबताउने शर्तमा एक कर्मचारीले बताए ।
कार्यबिधि अनुसार नै लिएका हौँ : तत्कालिन प्रमुख प्रशासकीय अधिकृत

गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत बिष्णुबहादुर घर्तीले आफूहरुले गाउँपालिकाले तयार पारेको कार्यबिधि अनुसार नै प्रात्साहन भत्ता लिएको बताएका छन् ।
काम गर्दा केही गल्ती भएको हुन सक्ने भन्दै उनले गल्तीलाई महशुस गर्ने सजाइँ भोग्न परे पनि तयार रहने बताए । उनी हाल पाल्पाको बगनासकाली गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् ।

बैशाख देखि लागु हुने गरी गाउँपालिकाले तयार पारेको कार्यबिधिमा कार्यपालिकाको कार्यालयमा काम गर्ने अधिकृत स्तरको कर्मचारीले प्रतिघण्टा ३०० लिन पाउने उल्लेख छ ।
सहायक स्तर चौथो ,पाँचौ वा सो सरह वा वडा कार्यालयमा खटिने अधिकृत स्तरलाई समेतलाई प्रतिघण्टा २००र श्रेणी बिहीन कर्मचारीलाई प्रतिघण्टा १०० रुपैयाँका दरले लिन सक्ने गरी कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता उपलब्ध गराउने कार्यबिधि तयार छ ।

वास्तविक बुझन समिति गठन : अध्यक्ष बिष्ट
यता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बिष्टले यसको बारेमा छानविन समिति गठन गरेको बताएका छन् । कर्मचारीहरुले बदमासी गरे भन्ने सूचना आफूकहाँ आएकाले वास्तविक र सत्य तथ्य बुझनका लागि समिति गठन गरिदिएको बताए ।
छानविन समितिको प्रतिवेदन आएपछि मात्रै अन्य कुरा भन्न सकिने उनले बताए ।

छानविन समिति नै अस्तायो
यता साउन २५ गते गाउँपालिकाले गठन गरेको छानविन समिति आफै अस्ताएको छ । छानविन समिति गठन गरेको झण्डै ३ महिना पुग्दा समेत समितिले अहिलेसम्म छानविन अगाडी बढाउने भन्ने बाहेक अन्य केही प्रक्रिया नै थालेको छैन ।

गाउँपालिकाको लेखा समितिका संयोजक भोला सिंह थापाको संयोजकत्वमा वडा नम्वर ३ र ४ का वडा अध्यक्षले सहजिकरण गर्ने गरी बनेको समितिले केही पनि काम नगरेको समितिका सदस्य तथा वडा नम्वर ४ का वडा अध्यक्ष गनु अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय