गुल्मी, १२ मंसिर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मालिका गाउँपालिकाको अध्यक्षमा देविराम अर्याल सर्वसम्मत निर्वाचित भएका छन् । माओवादी केन्द्र मालिका गाउँपालिकाको शनिबार सम्पन्न दोस्रो सम्मेलनले अर्यालको अध्यक्षतामा ४९ सदस्यीय गाउँ कमिटी सर्वसम्मतिले निर्वाचित गरेको हो । कमिटीको उपाध्यक्षमा तेज बहादुर सुनार, सुर्य बुढा र प्रेम प्रसाद भट्टराई, सचिवमा सूर्य बहादुर जिसी, सह-सचिवमा महेन्द्र बिसी, कोषाध्यक्षमा दीपा गिरी महतरा लगायत अन्य सदस्यहरू रहेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेशका नेता एवम् पूर्व मन्त्री सुदर्शन बरालले पछिल्लो समय माओवादी केन्द्रप्रति जनताको आकर्षण बढ्दै गएको बताए । त्यस्तै अब आउने निर्बाचनमा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाइ विकासको लहर ल्याउन पनि उनले आग्रह गरे । त्यस्तै पार्टीका लुम्बिनी प्रदेश सदस्य बुद्धि जिसीले कम्युनिष्ट पार्टीका नाममा एमालेले राज्यको ढुकुटीबाट नारायणी नदि किनारमा भोज र सौराहामा मोज गरेको आरोप लगाए । नेता एवम् धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले राज्यको स्रोत र साधनलाई सही ढंगबाट प्रयोग गर्न सके छिटो विकास गर्न सकिने बताए ।