हुमाकान्त पोखरेल
गुल्मी : गुल्मीको धुर्कोट गाउँपालिका -४ जैसिथोक लाहाटाका ३५ बर्षिया तुल्सिराम कुँवर सात बर्ष विदेश बस्नुभयो । काजकिस्तान, दुवै लगायतका देशमा खाना बनाउने काम गर्नुहुन्थ्यो । विदेशमा आम्दानी पनि राम्रै हुन्थ्यो । तर चार बर्ष पहिले गाउँ आएका उहाँको मन फेरियो । त्यसपछि घर नजिकै जग्गा किनेर व्यवसायीक गाईपालन सुरु गर्नुभयो । धनन्जय कृषि तथा पशुपंक्षी फर्ममार्फत चार बर्षअघि चारवटा गाईबाट व्यवसाय सुरु गरेका उहाँको गोठमा अहिले १३ वटा गाई छन् । जसमध्ये १० वटा ठुला र तीनओटा साना छन् । त्योमध्ये पनि चारवटा दुहुने र तीनओटा व्याउने गाई छन् । उनले दुईवटा जर्सी र ११ वटा होलिस्टिन क्रस गाई पालेका छन् । गाईपालनको लागि उन्नत जातका घाँस समेत उहाँले लगाउनुभएको छ ।
एउटा गाईले औषतमा दैनिक कम्तिमा १५ लिटरभन्दा बढी दुध दिने कुँवर बताउनुहुन्छ । सबै गाईको दैनिक ६० लिटरभन्दा बढी दुध उत्पादन गर्ने उहाँले दैनिक ३० लिटरजति स्थानीय बजारमा खपत गर्ने र बाँकी ३० लिटर तम्घास पठाउनुहुन्छ । स्थानीय बजारमा प्रतिलिटर ७० रुपैँयामा बिक्रि हुने दुध तम्घास पठाउँदा प्रतिलिटर ५४ रुपैँया पर्छ । ‘मासिक करिब डेढदेखि दुईलाखसम्मको कारोबार हुन्छ, जसमा खर्च कटाउदा पनि ४० हजार बचत हुन्छ ।’ कुँवरले भन्नुभयो, ‘विदेशमा भन्दा कम बचत भएपनि सन्तुष्टि बढी छ ।’ विदेशमा कमाएको रकम स्वदेशमा लगानी गर्नुभएका उहाँले व्यवसायमा सन्तुष्टि मिलेको बताउनुभयो ।
व्यवसायीक गाईपालन गरेबापत गाउँपालिकाले प्रदान गर्ने उत्पादनमा आधारित अनुदान प्रतिलिटर तीन रुपैँयाका दरले प्राप्त गर्नुहुन्छ । त्यस्तै ०७५/७६ मा कृषि, पशुपंक्षी तथा मक्ष विकास निर्देशनालयबाट चार लाख पनि प्राप्त गर्नुभयो ।
सोही ठाउँकै ४० बर्षिया कमल पोखरेलले पनि १८ बर्ष रोजगारीकै लागि विदेशमा कटाउनुभयो । १८ बर्षको हुँदा भारत जानुभएका उहाँ दुवै पनि पुग्नुभयो । त्यहाँ उहाँले खाना बनाउने र सफा गर्ने काम गर्नुहुन्थ्र्यो । विदेशमा मासिक ८० कमाउने पोखरेलको ६० हजार बचत हुन्थ्यो । तर दुईबर्षअघि गाउँ आउनुभएका पोखरेलले गाउँमै भविष्य खोज्नुभयो र गाईपालन व्यवसाय सुरु गर्नुभयो । करिब पाँच लाखको लागतमा १८ वटा गाई अट्ने संरचना बनाउनुभयो । त्यसपछि बसन्त पशु फर्म खोलेर छ वटा ठुला गाई किनेर व्यवसाय सुरु गर्नुभएका पोखरेलसँग अहिले सात वटा ठुला गाई एवम् तीनओटा साना बाच्छा छन् । जसमध्ये पनि दुईवटा दुहुने र पाँचवटा व्याउने छन् । अहिले दैनिक २० लिटर दुध उत्पादन भएको र सबै व्याउँदा ८० लिटरसम्म दुध उत्पादन हुने उहाँको भनाई छ । अहिलेसम्म दैनिक ५५ लिटरसम्म दुध बिक्रि गरेको र भविष्यमा दैनिक सय लिटरसम्म दुध बिक्रि गर्नेगरी योजना बनाएको पोखरेलले सुनाउनुभयो । गाईपालनबाट बार्षिक २४ लाखको कारोबार हुने कमलको भनाई छ । ‘सबै जग्गा आफ्नै भएकोले व्यवसायमा सहजता मिल्यो ।’ उहाँले भने, ‘विदेशको भिसा त्यागेर गाईपालनमा लागेको हुँ, सोचेभन्दा बढी सन्तुष्टि मिलेको छ ।’ विदेशमा अरुको अन्डरमा काम गर्नुपर्दा अलि नमिठो हुने तर आफ्नै व्यवसायमा मालिक बन्न पाउँदा खुसि लागेको उहाँ बताउनुहुन्छ ।
सडक, नियमित बिजुली र पानीको असुविधा
तुल्सिराम र कमलले उत्पादन गरेको दुध गाउँपालिकाको केन्द्र बर्बोटमा रहेको देविस्थान उन्नत दुग्ध सहकारी संस्था लिमिटेडमार्फत बिक्रि हुन्छ । उक्त संस्थाको व्यवस्थापकको जिम्मा तुल्सिरामले पाउनुभएको छ । उक्त केन्द्रमा अन्य व्यक्तिले आफ्नो चाहानाअनुसार दुध बेच्न र किन्न सक्ने तुल्सिरामको भनाई छ ।
गाईलाई दानाको लागि सहज ढुवानी एवम् दुध बजारसम्म लैजानको लागि मोटरबाटो सहज सहज बनाइदिन तुल्सिरामले आग्रह गर्नुभयो । सडकमा नाली नहुँदा एकपटक पानी आए बिग्रिने र त्यसपछि दुध लैजान तथा दाना ल्याउन अप्ठ्यारो पर्ने उहाँले बताउनुभयो । गत जेठ र असारमा सडक बिग्रदा २५ दिनजति दुध बेच्न नपाएको र त्यसबाट एक लाख २० हजार घाटा लागेको उहाँको भनाई छ । ‘बाटो बिग्रेको पालिकालाई जानकारी गराउँदा पालिकाले सकेसम्म छिटै समाधान गर्ने प्रयास त गर्छ ।’ उहाँले भन्नुभयो, ‘तर नालि नहुँदा थप समस्या छ ।’ त्यसका साथै स्थानीय बजारमै दुध खपतको व्यवस्था, नियमित बिजुली, सिँचाईको लागि पानी एवम् नगद अनुदानको सट्टा दाना, मल र बीउमा अनुदान दिएमा दुध उत्पादनमा बृद्धि गर्न सकिने कुँवरको भनाई छ ।
अर्का कृषक कमल पोखरेलले पालिकाको तर्फबाट नियमित अनुगमन भएमा पनि आफुजस्ता कृषकलाई हौसला मिल्ने बताउनुभयो । ‘फर्मवरीपरि जालिको आवश्यकता छ, पालिकामा निवेदन पनि दिएको छु, तर प्रतिक्रिया आएको छैन ।’ उहाँले भन्नुभयो, ‘पालिकाका जनप्रतिनिधि र कर्मचारी फर्ममा आई सल्लाह सुझाव दिएपनि हौसला मिल्ने थियो ।’ गत लकडाउनमा आफुहरुको दुध बिक्रि नभएजस्तो समस्या आगामी दिनमा आउन नदिको लागि पनि पालिकाले पहल गर्न उहाँले आग्रह गर्नुभयो ।
पालिकाले आवश्यक सहयोग गर्छ ः अध्यक्ष पोखरेल
धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले विदेशको आम्दानी स्वदेशमै लगानी गरेकोमा आफु खुसि भएको बताउनुभयो । त्यसका साथै सडक, सिँँचाई, बिजुली लगायतका बिषयमा आफु गम्भिर भएको र त्यसको समाधान छिट्टै निस्कने उहाँको भनाई छ । ‘पालिकामा विभिन्न व्यवसायीक फर्महरु थपिएका छन्, जुन खुसिको कुरा हो ।’ उहाँले भन्नुभयो, ‘सबै फर्मको व्यवसायीक सुनिश्चितताका लागि गाउँपालिकाले योजना बनाउछ ।’
९८५७०४९३३३
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs