प्रेम सुनार
जेठ २०, २०७९ गुल्मी
नेपालको दलित आन्दोलनको अबस्था क्रमिक रुपमा कम्जोर हुँदै जानु वा पुराउनुमा यो देशका राजनैतिक दलहरुकै हात रहेको र दलित अगुवाहरुमा पनि दलगत स्वार्थ कारक रहेको सरोकारवालाहरुले निश्कर्ष निकालेका छन् ।
शनिवार ‘ जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस’ को अवसरमा गुल्मीको सदरमुकाम तम्घासमा नेपाल राष्ट्रिय दलित पत्रकार संघले आयोजना गरेको बिशेष सम्वाद तथा अन्तरकृया कार्यक्रममा सहभागि बक्ताहरुले यस्तो निश्कर्ष निकालेका हुन् । ‘आफुहरुले भोग्दै आएको चरम जातिय विभेद विरुद्ध आन्दोलनमा उत्रिएका दलित समुदाय मध्येका अगुवाहरुलाई विभिन्न राजनैतिक दलहरुले नेताका रुपमा उक्साएर भोट तान्ने प्रयोगकर्ता बनाउँछन् । अनि स्वयम त्यो दलितको नेताले पनि विस्तारै आफ्नो समुदायको मुद्धा र परिचय नै बिर्सन्छ र आफ्नो नयाँ परिचय कुनै राजनैतिक दल संग जोडेर बनाउँछ’– कार्यक्रममा उपप्रध्यापक तथा मानवअधिकारकर्मी गुणानिधी शर्माले भने–‘ अनि कसरी दलित आन्दोलन अगाडी बढ्न सक्छ ? ’ उनै दलित नेताहरु संग उनले फेरि अर्को प्रतिप्रश्न गरे–‘ तपाईहरुको आईडेन्टिटी के हो ? दलित समुदायको नेताको हो कि ? कुनै राजनैतिक दलको ? मलाई लाग्छ यहाँ उपस्थित अधिकांस कुनै न कुनै राजनैतिक दल संग जोडिनु भएको छ र आफ्नो परिचय आ–आफ्नो राजनैतिक दल संग जोडेर दिन चाहनु हुन्छ । यहि कारण हो दलितका मुद्धा ओझेलमा पर्नु तर दलका मुद्धा मात्रै चर्चामा आउनु । ’ उनले दलित आन्दोलनले जन्माएका नेताहरु नै राजनैतिक दलका प्रयोगकर्ता हुन पुगेकोले नेपालको दलित आन्दोलन सुस्ताउन पुगेको आफ्नो निश्कर्ष दोहराए । उनले ती वर्ग समुदायले जन्माएका नेताहरुले अब दलको होईन, आफ्नै वर्ग समुदायको समस्यालाई प्रमु्ख मुद्धाका रुपमा उठान गर्न सके मात्र दलित आन्दोलनले सार्थकता पाउने सुझाव दिए । अर्का उपप्रध्यापक तथा नागरिक समाज गुल्मीका संयोजक पदम प्रसाद पाण्डेले अधिकारकर्मीहररुको जिल्ला संयन्त्र स्थानीय तह संगै विभाजित हुँदा पनि दलित आन्दोलन लगायतका सामाजिक मुद्धाहरु विभाजित र अघोषित रुपमा दमित हुन पुगेको आफ्नो विश्लेषण सुनाए । ‘ हिजो हामी सबैलाई थाह छ , दलित लगायत लक्षित वर्ग उत्थानका लागि साविकको जिल्ला विकास समिति र गाविसहरुमा के कति रकम छुट्टिन्थ्यो भन्ने कुरा । सायद अहिले पनि स्थानीय तहले लक्षित वर्गका लागि भनेर रकम छुट्टाउँछन होला तर त्यो रकम त्यो वर्गको उत्थानका लागि प्रभावकारी बनाउनु भन्दा आफु आबद्ध दललाई बलियो बनाउने गरि खर्च हुँदै आएको पाईएकोछ’– पाण्डेले प्रतिप्रश्न गदै भने –‘ खै त्यस्ता कुराहरुमा निगरानी र खबरदारी गर्ने निकाय ?’ उनले जिल्लाका सबै क्षेत्रका अधिकारकर्मी सहितको साझा संस्था गठन गरि ‘गाउँ गाउँमा सिंहदरवार ’ भनिएको नारालाई लक्षित वर्ग समुदाय सम्म पुराउनु पर्नेमा जोड दिए । उनले स्थानीय तहका जनप्रतिनिधिहरुलाई कडा प्रश्न गर्दै भने–‘ के चिल्ला गाडी गुडाउन पाउनु नै गाउँ गाउँमा सिंहदरवार हो र ? अनि मोटरबाटो खन्नु र मठ मन्दिर बनाउनु मात्रै विकास हो र ? खै मानव विकास सुचाङ्क हेरेको ? अहिले पनि कहाँ छ हाम्रो समाज ? त्यस तर्फ ध्यान जानु पर्दैन ?
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज गुल्मीका सभापति ढुण्डिराज पोखरेलले शिक्षा र जनचेतनाको अभावमा जातिय विभेद तथा छुवाछुत प्रथाको अन्त्य हुन नसकेको भनिए पनि समाजका संभ्रान्त वर्ग बाधक बनेको चिन्ता ब्यक्त गर्दै त्यो वर्गलाई पनि मानसिक रुपमा तयार पारेर अगाढी बढ्नु पर्ने सुझाव दिए । त्यस्तै दलित साझा मञ्च गुल्मीका उपाध्यक्ष रोम बिश्वकर्माले शोषित पीडित वर्ग समुदायको प्रतिविम्व मुखारित गर्दै आजको पुस्ताले विभेदलाई स्वीकार गरेर नबस्ने बताउँदै जातिय विभेद तथा छुवाछुत मुक्त मुलक व्यवहारतः कार्यन्वयनमा नआए आन्दोलनको ज्वाराभाटमा जस्तो सुकै मुल्य चुकाउन पनि तयार हुने चेतावानी दिए । बिश्वकर्माले राज्यलाई यस्तो चुनौती दिईरहँदा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता डिएसपी माधवराज खरेलले त्यस्तो हिंसा भड्काउने खालको अभिब्यक्ति नदिन सुझाव दिए । उनले संविधान र कानुन भित्र रहेर आफ्नो अधिकार खोज्न अनुरोध गर्दै भने–‘ हामी प्रहरी–प्रशासनमा आएका जतिय विभेद संग जोडिएका मुद्धामा कुनै कम्जोरी हुन दिएका छैनौं र आगमी दिनमा पनि गम्भीर हुने नै छौं । तर खै के कारणले हो , गत तीन बर्ष यता जिल्ला प्रहरी कार्यालयमा जतिय विभेद संवन्धि मुद्धा एउटा पनि प्रहरीमा आएका छैनन । त्यस्तै दलित महिला संघकी अध्यक्ष कमला बरालले केहि सञ्चार माध्यमा पछिलो एकदशकमा प्रेम विवाह र छुवाछुत विभेद गरेका कारण ४४ जनाको निर्मम हत्या गरिएको उल्लेख गर्दै , त्यो त केवल सतहमा आएको कुरा मात्रै भएको तर त्यो भन्दा थुप्रै दलितहरुले ज्यान गुमाएको र गाउँबाटै विस्थापित भएको बताईन ।
कार्यक्रमा गुल्मीका सम्पुर्ण राजनैतिक दलहरुको तर्फबाट बोल्दै नेकपा एमालेका उपसचिव धर्म बिश्वकर्माले संवैधानिक र कानुनी रुपले अधिकार प्राप्त गरे पनि ब्यबहारिक कार्यन्वयनका लागि राजनैतिक दलहरु बाट पनि कम्जोरी रहेको स्वीकार गरे । कार्यक्रमका प्रमुख अतिथी दलित साझा मञ्च गुल्मीका अध्यक्ष गणेश बिश्वकर्माले अधिकारकर्मी बक्ताहरुले भने झैं दलित नेताहरु दलित आन्दोलनको मुद्धा उठान गर्नु भन्दा पनि आ– आफ्नै राजनैतिक दलका झण्डा पछाडी लाग्नाले दलित आन्दोलन पछाडी परेको गुनासो सुनाए । ‘हामी गतिविधि विनाका नेता भयौं , गतिविधि गरिन्छ र पो नेता भईन्छ अनि दलितको मुद्धा उठान हुन्छ बिश्वकर्माले गतिविधी गर्न नसकेको आफै स्वीकार्दै भने–‘ अब गतिविधी उठान गर्ने तर्फ लागौ ताकि उतिखेरै तात्ने र उतिखेरै सेलाउने सिल्टी जस्तै नबनौ । कार्यक्रममा नेपाली कांग्रेस निकट दलित संघका जिल्ला प्रतिनिधि टिका बिश्वकर्मा, पत्रकारऽ अधिकारकर्मी लगाएतको सहभागीता रहेको थियो ।




