प्रेम सुनार
गुल्मी, असार ८ ।
असार महिनाको पहिलो दिन अर्थात १ गते दिउँसो जिल्ला अदालत गुल्मीको कार्यालय भित्र रहेका कर्मचारी संग झयालबाटै केहि कुरा माग्दै थिईन एक महिलाले । उनलाई चिने पछि काार्यलयकी एक महिला कर्माचारीले उनको हातमा एउटा कागज थमाउँदै माथी जिल्ला न्यायधिसकोमा जान सुझाव दिईन् ।
त्यो कागज हातमा लिन साथ ति महिलाको आँखामा आँशु धरधरी बग्न सुरु गर्यो । हेर्दा उमेर किशोरी वा बढिमा युवती भन्ने खालको थियो । किन रोएको होला भनेर ति कर्मचारी संग जिज्ञाषा राख्दा उनले भनिन्–‘ के हुन्थ्यो, उनले श्रीमान संग सम्वन्ध विच्छेद गर्दै छन् त्यही भएर रोएकी हुन् ।’
हातमा सम्वन्ध विच्छेदको कागज, आँखामा आँशु बगाउँदै माथील्लो तलामा रहेको जिल्ला न्यायधिसको कार्यकक्षमा उक्लिदै गर्दा उनका श्रीमान पनि संगै थिए । चार बर्षको छोरीलाई काँधमा बोकेका उनका श्रीमान पनि भावुक मुद्रमा थिए ।
केहि बेरपछि उनीहरु कागजको पानमा श्रीमान श्रीमतिको सम्वन्ध एकादेशको कथा जस्तै बनाएर आई सकेका थिए । उनका वकिलले सम्वन्ध विच्छेदको अन्तिम हस्ताक्षर गराउँदै थिए ।
तपाईहरुको विवाह कहिले भएको थियो रे भन्ने प्रश्नमा उनले सात बर्ष अघि भएको बताईन् । त्यही क्रममा उनले आफुहरुको मागी विवाह भएको र छोरीको उमेर चार बर्षको भएको सुनाईन् ।
पुरुषहरु संग खासै उनी बोल्न नरुचाए पछि छेवैमा रहेकी अर्की महिला संग कुरा गर्दागर्दै फेरि उनले गहभरी आँशु पारिन् । उनको उमेर भर्खर २१ बर्षको भएको रहेछ । हालको कानुन अनुसार उनको भर्खर विवाह गर्ने बेला हुँदै थियो तर त्यही उमेरमा उनको सम्वन्ध विच्छेद भएको छ गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ का उनिहरुले आफुहरुको नाम विवरण गोप्य राख्न चाहे । ‘छोरी त बाबुको काँखामा आनन्द संग सुतेकी छन् त ? भन्ने प्रश्नमा उनी मुसुक्क मुस्कुराईन अनि क्षणभरमै भावुक भईन् ।
भावुक मुद्रामै उनले छारी र पुर्व पति बकिसकेका पुरुषलाई नियाल्दै थिईन् । श्रीमति त सम्वन्ध विच्छेद गर्ने बेलामा रोहईरहनु भएको छ, किन सम्वन्ध विच्छेद हुन बाट रोक्नु भएन ? भन्ने प्रश्नमा ती युवकले भने–‘ के गर्ने मैले त खुब सम्झाएको हुँ, उनले मान्दै मानिनन्। ’
त्यस्तो जवाफ दिन साथ उनले गलाअवरुद्ध पारे । सम्मुख उनि आँशु लुकाउन अर्कोतिर फर्किए । केहि बेर पछि उनिहरु आ–आफ्नो बाटो लागे । सम्वन्ध विच्छेद गर्नै चाहेकी उनको आँखामा आँशु किन झरे होला ? यस्तो प्रश्न अरुले गर्नै परेन । जबकी उनी आफैले आफैलाइ त्यस्तो प्रश्न गर्दा पनि अनुत्तरित देखिन्थीन ।
२८ बर्षीय श्रीमान संग विगतमा सम्वन्ध राम्रै रहेको तर पछिल्लो चरण श्रीमानको मदिरा सेवन नै कारण रहेको उनिहरुको सम्वन्ध नजिकबाट बुझ्नेहरुले बताए । उता हालै श्रीमान विरुद्ध बलात्कारको जाहेरी दिएकी महिलाले पनि श्रीमानले मदिरा सेवन गरि पटक पटक कुट्ने–याताना दिने गरिको तर सुध्रिने मौका दिदा पनि त्यसरी नै निर्घात कुटपिट गरे पछि दोश्रो दिन जिवन रक्षार्था बलात्कारको जाहेरी दिएको बताएकी छन् ।
जिल्ला अदालतका श्रेस्तेदार भीम प्रसाद भुसालका अनुसार गत श्रवण महिना देखि हाल सम्म ३ सय ५६ वटा सम्वन्ध विच्छेदका मुद्धा परेकोमा २७३ जोडीको सम्वन्ध विच्छेद भई सकेको र ८३ वटा मुद्धा पछ्र्यौट गर्न बाँकी छन् । उनले भने–‘ अदालतमा अधिकांस मुद्धा सम्वन्च्छेद र बलात्कारका रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय