२७ कार्तिक, जिल्ला ब्यूराे ।
गुल्मीमा देउसी भैलो खेल्न निषेध गरिएको छ । चाडपर्वको समयमा मानिसहरुको आवतजावत र चहलपहल बढ्न जाँदा संक्रमण झनै फैलन सक्ने भएकाले तिहारको समयमा समूहमा खेलिने देउसी भैलो जस्ता नाचगान नगर्न र नगराउन एक सुचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले आग्रह गरे । अहिले जिल्लाभर कोभिड–१९ सङ्क्रमणको दर बढ्दै गईरहेको भन्दै भेला भई गरिने अन्य मेला, जात्रा, समूहमा खेलिने खेल, सभा, समारोह, जमघट जस्ता क्रियाकलाप समेत नगर्न र नगराउन प्रजिअ शर्माले आग्रह गरे ।
मादकपदार्थको सेवन गरि होहल्ला गर्ने, शान्ति सुरक्षामा खलल पुर्याउने खालका गतिविधि नगर्न र नगराउन, आतिसबाजी, पटका, झिरझरे, भुइचप्पा लगायतका विष्फोटकजन्य पदार्थहरुको ओसारपसार, विक्री–वितरण एवं प्रयोग नगर्न र नगराउन, दियो, मैनबत्ती, पाला एवं विद्युतीय उपकरणहरु बाली दिपावली मनाउँदा आगलागी जस्ता विपद्का घटनाहरु हुन नदिन सतर्कता अपनाउन समेत आग्रह गरिएको छ ।
जुवातास नखेल्न आफ्नो टोल छिमेकमा कहि कतै जुवातास खेलेको पाइमा तत्कालै नजिकैको स्थानीय प्रहरी कार्यालय र चौकीलाई जानकारी गराउन समेत आग्रह गरिएको छ । घरपरिवारका सदस्यहरुसँग बसी, जो जहाँ छ त्यही रही चाडपर्व मनाउन आग्रह गर्दै प्रजिअ शर्माले घर बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्न, भौतिक दुरी कायम गर्न, नियमित साबुन पानी र स्यानीटाइजरले हात धुन, व्यक्तिगत सरसफाईमा ध्यान दिन प्रजि शर्माले आग्रह गरेका छन् ।
विद्यालय सिकाइ सहजीकरण निर्देशिका, २०७७ बमोजिम वैकल्पिक सिकाइका माध्यमबाट विद्यालयहरु सञ्चालन गर्न, सार्वजनिक यातायात सञ्चालन गर्दा स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्डको पालना गरेर सिट क्षमता भन्दा बढी यात्रु नरहने गरी मात्र सञ्चालन गर्न, कोभिड–१९ सङ्क्रमणको कुनै लक्षण देखिएमा नजिकको अस्पताल र स्वास्थ्य चौकीमा सम्पर्क गरी स्वास्थ्यकर्मीको सल्लाहबमोजिम गर्न समेत आग्रह गरिएको छ । यदि उक्त सुचनालाई अवज्ञा गर्ने र गराउने जोसुकैलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही हुने प्रजिअ शर्माले उल्लेख गरे ।