काठमाडौं।
२० जेठ २०८० ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो भारत भ्रमण सफल रहेको बताएका छन्। भारतको चार दिने औपचारिक भ्रमण सम्पन्न गरेर शनिबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले दुई मुलुकबीचको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभको आधारमा थप मजबुत बताउन भारत भ्रमणले महत्त्वपूर्ण योगदान पुर्याएको बताए। उनले विगतमा थाँती रहेका विषयलाई पनि सम्बोधन हुने गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग खुलस्त कुराकानी भएको बताए।
प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपाल र भारतबीच रहेको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभको आधारमा थप मजबुत बनाउन यस भ्रमणले योगदान गरेको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग खुलस्त रुपमा कुराकानी भएर विश्वासको वातावरण सिर्जना भएको छ। थाँती रहेका विषयलाई सम्बोधन गर्न सकिने विश्वासको राम्रो आधार तयार भएको छ। नयाँ आम निर्वाचन पश्चातको पहिलो विदेश भ्रमणको रुपमा रहेको यो भारत भ्रमण मैले विगतका भ्रमणभन्दा फरक पाएको छु।’
उनले भारतलाई लिएर राजनीतिक नेतृत्व तहमा रहेको विश्वासको संकट यस पटकको भ्रमणले समाधान गरेको बताए। ‘प्रेस मिटमा तपाईंहरुले मोदीजी र मेरो मुखबाट पनि सुन्नु भयो। उहाँले नेपालसँगको सम्बन्धलाई हिमाल जतिको उच्च बनाउने भन्नुभयो,’ प्रचण्डले भने, ‘२०१४ मा नेपालको संसदमा बोल्दा जुन उत्साह थियो त्यसलाई स्मरण गर्दै त्यसलाई हिट भन्नु भएको थियो। अब सुपरहिट गर्नुपर्छ भनेर भन्नु भएको छ। त्यसले पनि विश्वासको वातावरण बन्दै छ भन्ने देखाएको छ।’
उनले नेपाल-भारत सीमा विवादको विषयमा खुलेरै छलफल भएको बताए। आफूले सीमा समस्या समाधान नभए नेपाल-भारत सम्बन्ध सहज नहुने बताएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समस्या समाधानका लागि प्रतिबद्धता जनाएको बताए।
प्रचण्डले भने, ‘सीमा विवादको विषयमा खुलेरै कुरा भयो। सीमा समस्या समाधानको उपाय खोज्न पर्यो, नभए नेपाल-भारत सम्बन्ध सहज हुन्न भनेपछि मोदीजीले हुन्छ भन्नु भयो। सीमा समस्या समाधानबारे उहाँको प्रतिबद्धता छ।’
उनले आफूले भारतीय संसद् भवनमा राखिएको नयाँ नक्साको विषयमा पनि कुराकानी गरेको बताए। ‘नक्साको कुरा पनि मैले राख्नुपर्ने ठाउँमा राखेँ। यति बुझ्नुहोला। उहाँहरूको भनाइ चाहिँ यो सांस्कृतिक नक्सा हो, राजनीतिक होइन भन्ने छ। त्यही विषयमा धेरै ठूलो बहस गरेर गइएन। त्यति मात्रै हो,’ प्रचण्डले भने।