काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी/पहिरोबाट विस्थापित नागरिकको पुनःस्थापनाका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ ।

आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले यस वर्ष रसुवा, नुवाकोट र गोरखालगायतका ठाउँमा भएका विनाशकारी घटनाको शोक ताजै रहेका बेला दशैँ आएको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री शाहले विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना तथा शोकमा रहेका परिवार र आफन्तमा समवेदना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री शाहले विभिन्न विपत्ति र सङ्कटपूर्ण परिस्थितिका बाबजुद धार्मिक, सांस्कृतिक तथा सामाजिक मूल्यमान्यताको जगेर्ना गर्दै चाडपर्व मनाउँदै आएको उल्लेख गर्नुभएको छ ।

नेपाली समाजमा सदियौँदेखिको एकता, आत्मीयता र पारिवारिक मिलन महत्वपूर्ण सङ्गम रहेको भन्दै उहाँले दशैँको शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

चाडपर्वका बेला पनि बाध्यताले विदेशमा रहनुपर्ने नेपालीको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उहाँले आर्थिक समृद्धि र नागरिकको सुखद जीविकाका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

स्रोत ः उज्यालो अनलाइन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय