यस पटकको तिहार पनि त्यति रमाइलो हुन सकेन , न टीका लगाउन पाइयो त नाँच,गान देउसी भैलो सिंगारु , सोरठी नै रम्चाउन पाईयो । कोरोनाको बिगबिगीले कोठा बाहिर निस्किन पनि सकिएन । चिल्ला रोटी पनि रुघाखोकी लाग्छ कि भनेर छुदै छोइएन न त घर जान पाईयो ।न त दिदीबहिनीको हातबाट टीका लगाएको तस्विर फेसबुकमा अपलोड गर्न नै पाइयो, यो तिहार पनि खाली निधार पारेर बिना बाजै गयो ।
उसो त मलाई भाइ तिहार नआईदिए हुन्थ्यो जस्तो पनि लाग्छ, तर आम मानिसका लागि यो एउटा पबित्र पर्व हो, जसले दिदीबहिनी र दाजुभाईको बिचको सम्बन्धलाई ताजा ,निकट र सुमधुर बनाउँछ , तिक्तता भए मेटाउँछ । नौडाँडा काटेर गएकी चेलीलाई आफु जन्मेको गाउँ घर आमा बुवा दाजुभाई काका काकी छरछिमेकी साथीभाईसंग भेट हुने अवसर जुराउँछ र बालापनको याद दिलाउछ जहाँ तिनी हुर्केकी र बढेकी थिईन। ती गोरेटा, कान्ला, पधेरा, चौपारी, खोला, आफुले पढेको स्कुलसंगको सम्बन्धलाई नबिकरण गराउँछ । भैलिनी र देउसीरे झ्याउरे, सिंगारु, पैंसेरी , गरुवा , सोरठीसंग मिसिएर नाच्ने गाउने देखि लिएर बनभोज खाँदा खेरीका रमाइला क्षणहरु बिर्सनै नसकिने गरी पुनराबृत्ति गराउँछ । देश बिदेशबाट घर छोडी गएकाहरु पनि तिहार संझेर घरमा आई पारिवारिक पुनर्मिलन हुदाको अवस्था साह्रै मीठो र आनन्ददायक हुन्छ। नयाँ कपडा , घरको सरसफाई, बत्तिको झिलिमिली र सेलरोटी, फिनी, अर्सा, अनरसा फलफूलजस्ता मीठा खानेकुराले तिहारको स्वाद नै बेग्लै हुन्छ ।त्यैसैले तिहार एउटा पुनर्मिलनको पर्व हो ।
मेरी एउटी दिदी र एउटी बहिनी मेरी आमाकै कोखबाट जन्मिएकी थिईन रे तर उनीहरु यो धरतीमा रहेनन। मैले न दिदीलाई देखें न बहिनीलाई । बहिनीलाई सम्म अलि अलि याद पाउँछु , जन्मिन तर बाँचिनन् । तर मैले नदेखेका दिदी बहिनीहरुलाई भने म सँधै सम्झिने गर्छु । किन बाचिनन होला तिनीहरु ! मेरा लागि भए पनि बाँचिदिएको भए हुन्थ्यो होला जस्तो लाग्छ कहिले काहीँ । त्यसैले दशैं खास गरि तिहार अली खल्लो लाग्ने गर्छ मलाई। छोरी बैनी नभएको घर, घर जस्तो हुदैन पर्व जस्तो लाग्दैन भन्नू हुन्थ्यो आमा संधै । कर्ममै नभए पछि कस्को के लाग्छ र। अब त घरमा छोरीहरु , नाति नातिनीहरु, छोरी जस्तै बुहारीहरु छन खुशी लाग्छ । छोरीबुहारीहरु घरका गहना हुन, लक्ष्मी हुन । तिहारमा सानै दखि मामाघरका दिदीबहीनीहरुले निधार खालि हुन त दिएनन अहिले पनि बोलाउछन, कहिले काकाहरुका कहिले ठुली आमाका छोरीहरुले पनि निधार रंगाईदिन्थे । नियमित रुपमा एउटैले लाउने अवस्था पनि मिल्दो रहेनछ , आफ्ना सहोदर दाजुभाईलाई छोडेर मेरै लागि मात्रै भनेर आउन उनिहरुलाई पनि समस्यै हो। म पनि जागिरे हुनाले संधै समय मिलाउन पनि नसकिने रहेछ । मेरा लागि किन आईदिएनन भनेर पीर मानेर पनि केही हुनेवाला छैन । कति भाइ टिकाको दिनमा सुतेरै बिताएको पनि छु, साथिभाईको अगाडि रित्तो निधार देखाउन लाज लागेर । पुर्व जन्मको प्रारव्ध यस्तै रहेछ भनेर चित्त बुझाउनु बाहेक म संग कुनै बिकल्प नभएर। तर आज भोलि भने आफ्ना छोराछोरी र नातिनातिनाले टीका लगाउदा संगै बसेर रमाउने गरेको छु।
दाजुभाइको दीर्घायु र सुस्वाथ्यको कामना गर्ने दिदीबहिनीहरु साँच्चिकै ठुला हुन त्यसैले दाजुभाइहरु संधै त्यसका लागि ऋणि नै हुनुपर्छ । चेलीबेटीलाई माईतिको कुकुर पनि प्यारो लाग्छ भन्छन । चेलीबेटीहरु अरु सबै सहन्छन तर माईतिहरु प्रति नराम्रो वचन लगाएको सहन सक्दैनन ।अत:यति प्यारो गर्ने दिदीबहिनीहरुलाई दाजुभाईहरुले तिहारमा मात्रै हैन संधै नै सम्मान गर्नु पर्छ, माया गर्नु पर्छ । दिदीबहिनीहरुको आशिष लागोस , यमराजले पीडा नगरुन, कोरोनाले पनि छुन नसकोस आजको दिनको संदेश यही हो जस्तो लाग्छ।

प्रतिक्रिया

सम्बन्धित खवर