६ मंसिर, खुल्लाज्यूज
मनु सुनार मनसुन । गुल्मीमा उत्कृष्ट करदातालाई सम्मान गरिएको छ । आन्तरिक राजश्व कार्यालय बुटवल अन्र्तगत रहेको करदाता सेवा कार्यालय तम्घास गुल्मीले नवौँ राष्ट्रिय कर दिवसको अवसरमा यस जिल्लाबाट जयराम हार्डवयर सेन्टर तम्घास गुल्मीका व्यवस्थापक रामप्रसाद पन्थीलाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको हो ।
करदाता सेवा कार्यालयको कार्यक्षेत्र गुल्मी जिल्लाबाट आर्थिक वर्ष २०७५÷०७६ मा सबैभन्दा बढी आयकर दाखिला गर्नुभएका पन्थीलाई कदर स्वरुप प्रमाणपत्र, दोसल्ला, अबिर र खादा सहित कार्यालय प्रमुख कर अधिकृत विनोद कुमार माझी, कार्यक्रम संयोजक सरिता अर्याल घिमिरे लगायतले सम्मान गर्नुभएको हो । व्यवसायी पन्थीले त्यस आर्थिक वर्षमा १७ करोड ६६ लाख बराबरको कारोबार गरेबापत सरकारलाई रु २० लाख ४८ हजार २९९ रुपैँया राजस्व तिर्नुभएको थियो ।
२०६९ सालदेखि राष्ट्रिय कर दिवस मनाईदैँ आएको छ । सरकारले प्रत्येक वर्ष राष्ट्रिय कर दिवसको रुपमा करदातालाई प्रोत्साहन गर्न विभिन्न विद्यामा उत्कृष्ट करदातालाई सम्मान समेत गर्दै आएको छ । राष्ट्रिय कर दिवसको अवसरमा कर कार्यालय बुटवल र कर सेवा कार्यालय गुल्मी अन्र्तगत एक जना करदातालाई सम्मान गर्ने कार्यक्रम राखिएको थियो ।
जसअन्र्तगत बढी कारोबार गर्ने, बढी आयकर तिर्ने र सुर्तीजन्य पदार्थ तथा मदिराजन्य पदार्थको कारोबार नगर्ने व्यवसायीलाई छनौट गरी सम्मान गरिएको कार्यालय प्रमुख कर अधिकृत माझीले जानकारी दिनुभयो । यसबाट समाजमा असर पुर्याउने कारोबार भन्दा पनि अरु कारोबार गर्ने व्यवसायलाई सरकारले समेत बिशेष ध्यान पुर्याएको भन्ने सन्देश प्रवाह भएको माझीले बताउनुभयो ।
आन्तरिक राजश्व कार्यालय बुटवललाई कुल १० अर्ब ६४ करोड राजस्व संकलन गर्ने लक्ष्य तोकिएकोमा गुल्मी जिल्लाबाट मात्रै अहिले ४ करोड राजस्व संकलन भईसकेको समेत माझीले जानकारी दिनुभयो । अहिले घर दैलोमा नै कर कार्यालय आएकाले व्यवसायी र करदातालाई सजिलो भएकाले राजस्व संकलनमा वृद्धि भएको समेत उल्लेख गर्नुभयो । उहाँले करदातालाई थप सहज र सर्वसुलभ सेवा प्रवाहका लागि आफूहरु लागि परेको बताउनुभयो ।
त्यस अवसरमा उत्कृष्ट करदाताका रुपमा सम्मानित हुनुभएका पन्थीले करदाता सेवा कार्यालयले गरेको सम्मानप्रति धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले यस जिल्लामा करदाता सेवा कार्यालय सञ्चालनमा आएसँगै कर तिर्नकै लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । व्यवसाय सञ्चालन गरेपछि इमान्दारीका साथ राज्यलाई कर तिर्नुपर्ने उल्लेख गर्दै यस जिल्लामा कर शिक्षाको आवश्यकता रहेको बताउनुभयो । कर कार्यालय र व्यवसायी बीच नङ र मासुको सम्बन्ध रहेको समेत व्यवसायी पन्थीले उल्लेख गर्नुभयो ।
आन्तरिक राजश्व कार्यालय बुटवल अन्र्तगत रहेको करदाता सेवा कार्यालय यहाँ स्थापना भएसँगै ‘‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, विकास समृद्धि र सुशासन’’ भन्ने नाराका साथ यस जिल्लामा पहिलो पटक यो दिवस मनाईएको हो । नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग अन्तर्गत तम्घासस्थित रेसुङ्गा नगपालिका–१ क्याम्पसरोडमा कार्यालय स्थापना भएपछि यस कार्यालयबाट कर संकलन, खाता प्रमाणीत, भ्याटमा दर्ता, कारोवार परिर्वतन, अन्तशुल्क संकलन, व्यवसाय खारेज, जस्ता सेवा प्रवाह भइरहेको छ ।