मंसिर १२। (प्रदेश ब्युरो) लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका हरेक घरसम्म शुद्ध पिउने पानीको सुविधा पु¥याउने अभियानमा प्रदेश सरकार लागिपरेको बताउनुभएको छ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका सहजकर्ताहरुको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘लुम्बिनी प्रदेश सरकारले वास प्लान कार्यक्रमका माध्यमबाट एक घर एक धाराको कार्यक्रम सञ्चालन गर्दैछौं । छिट्टै हरेक घरसम्म शुद्ध पिउने पानीको सुविधा पु¥याउँछौं ।’ समाजमा नकारात्मकता बढ्दै गइरहेको भन्दै मुख्यमन्त्री पोखरेलले नागरिकलाई सकारात्मक बनाउने अभियानमा लाग्न सहजकर्ताहरुलाई निर्देशन दिनुभयो । ‘समाजमा नकारात्मकताको सीमा ह्वात्तै बढेर गएको छ । सरकारले केही गरेको छैन भनेर भ्रम फैलाउनेहरु बढ्दै गइरहेका छन् । यस्तो प्रवृत्तीलाई न्यूनीकरण गर्नतर्फ सबै लाग्नुपर्दछ’, मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘सरकारले केही गरेको छैन भनेर भ्रम फैलाउनेहरुका अगाडि समाजलाई स्वरोजगार बनाउने कार्यक्रम गरेर देखाउनुहोस् । तपाईँहरु प्रदेश सरकारका महत्वपूर्ण अंग हुनुहुन्छ ।’

यस वर्ष प्रदेश सरकारले हरेक पालिकाका केन्द्रलाई मुख्य सडकसँग जोड्ने कार्यको थालनी गरेको भन्दै मुख्यमन्त्री पोखरेलले यो कार्यलाई छिट्टै सम्पन्न गर्ने गरी सरकार लागिपरेको बताउनुभयो । आदर्श समाजको निर्माण गर्ने सरकारको अपेक्षा रहेको भन्दै मुख्यमन्त्री पोखरेलले अवसर नपाएकाहरुलाई अवसरसँग जोड्न सहजकर्ताहरुलाई निर्देशन दिनुभयो ।

योजना छनौट गर्दा दीगो परिवर्तन आओस् भन्ने पाटोलाई ध्यानमा राख्नुपर्ने भन्दै मुख्यमन्त्री पोख्रेलले मान्छेलाई सक्षम बनाउने कार्यक्रमा जुट्न सहजकर्ताहरुलाई निर्देशन दिनुभयो । लामो समयदेखि बिपन्न परिवारहरु राज्यको सुविधा लिनबाट बञ्चित भइरहेको भन्दै मुख्यमन्त्री पोख्रेलले मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको माध्यमबाट बिपन्न परिवारलाई स्वरोजगार बनाउन निर्देशन दिनुभयो ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका उपसचिव यमकान्त पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव तोयानाथ ज्ञवालीलगायतले बोल्नुभएको थियो । प्रदेशभरका १ सय ९ स्थानीय तहमा कार्यरत ४० जना सहजकर्ताहरुको सहभागीता रहेको कार्यक्रम भोलि शनिबारसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय