२९ मंसिर,खुल्लान्यूज
मनु सुनार मनसुन । नेपाली काँग्रेसका केन्द्रिय सदस्य जीवन परियारले काँग्रेस अब चुप लागेर नबस्ने बताएका छन । सोमबार गुल्मीको सदरमुकाम तम्घासमा वर्तमान सरकारको विरुद्ध नेपाली काँग्रेस गुल्मीले आयोजना गरेको विरोध प्रर्दशन तथा सभालाई सम्बोधन गर्न गुल्मी आएका संविधान सभा सदस्य समेत रहेका परियारले सर्वसक्तावाद विरुद्ध काँग्रेसले जस्तोसुकै कडा कदम चाल्ने बताएका हुन ।
काँग्रेसले शाही शासनलाई ढलाउँदै राजालाई परास्त गरेर गणतन्त्र स्थापना गरि दुई–दुई जना राष्ट्रपति बनाए पनि फेरी राजावादी सलबलाउनुले काँग्रेसलाई लाज लागेको बताए । यो अवस्था वर्तमान सरकारले सिर्जना गरेको भन्दै यसको जिम्मा पनि सरकारलेनै लिनुपर्ने उनको भनाई थियो ।
सरकार केबल आफ्ना कार्यकर्ता भर्ती गर्ने केन्द्रको रुपमा मात्र केन्द्रित रहेको आरोप लगाउँदै सम्पूर्ण नेपालीहरुको प्रतिनिधिमूलक सरकार बन्न समेत सुझाव दिदैँ नेता परियारले सरकार विचौलिया र दलालहरुको चौघेरामा फसेको समेत आरोप लगाए ।
नेता परियारले प्रतिपक्ष कहाँ छ ? भन्नेहरुका लागि पनि काँग्रेसले ७७ वटै जिल्लाबाट सडकमा उत्रिएर सरकारको खबरदारी गरेको भन्दै तनहुँमा पुल उद्घाटन गर्न पुग्नुभएका वरिष्ठ नेता रामचन्द्र पौडल माथि भएको प्रहरी दमन र दुव्र्यवहारको घोर भत्र्सना समेत गरे ।
कार्यक्रममा नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले नेपाली जनताको ठुलो बलिदानीबाट प्राप्त भएको प्रजातन्त्रलाई सरकारले रक्षा गर्न नसकेको बताए । अहिले सरकारका विकृतिपूर्ण गतिविधिहरुले मुलूकमा प्रजातन्त्र आएको छैन की ? भन्ने अनुभूति गराएको आरोप समेत लगाए ।
सभापति श्रेष्ठले भने ‘‘काँग्रेस सिहंदरबारको अधिकार तलसम्म ल्याउन चाहान्थ्यो तर अहिले सिहंदरबारको अधिकार तल्लोतहसम्म विकेन्द्रित भएको छैन् । बरु सिहँदरबारको भ्रष्ट्राचार गाउँतहसम्म आएको छ ।’’ जनता कोभिड–१९ ले भोकमरीसँग लडिरहेका बेला सरकार अभिभावक बन्न नसकेको जिकिर गरे । सरकारले भ्रष्ट्राचारी, दलाली र माफीयाहरुलाई संक्षरण गरेको उनकोे भनाई थियो ।
विरोध सभामा काँग्रेस जिल्ला उपसभापति विष्णु प्रसाद बलाल, नेपाल विद्यार्थीका कार्यवाहक सभापति राम्जी पन्थी, महिला संघ अध्यक्ष लक्ष्मी पन्त पाण्डे लगायतले मन्तब्य राखेका थिए ।
नेपाली कांग्रेस रेसुंगा नगर सभापति छवि पाण्डे, प्रदेश सभापति पारिश्वर ढकाल, क्षेत्रिय सभापति भगतसिंह खड्काले सरकारले कोभिडलाई समातेर कमाउने मौका छोपेको बताउँदै सत्तापक्षको आन्तरिक किचलोले विकास निमार्णका कार्यमा बाधा पुगेको उल्लेख गरे ।
केन्द्रिय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य छन्द बहादुर पहराईले सरकारले गरेका बदमासीहरु विरुद्ध सरकारलाई खबरदारी र जनतालाई खबर गर्न कार्यकर्ताहरुलाई आग्रह गर्दै सरकारको गलत कार्यहरुलाई पानी पधेरा देखि खरबारिसम्म खबर पुर्याउन समेत आग्रह गरे । महासमिति सदस्य शालिक पन्थिले सरकार सामन्ति प्रवृत्तिमा अघि बढेको बताए ।
सरकारको सर्वसत्तावादी प्रवृत्ति, दमन, भ्रष्टाचार, कोभिड–१९ नियन्त्रणमा असफलता, चर्को मूल्य वृद्धि, र तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल माथि भएको अभद्र व्यवहारको विरुद्धमा काँग्रेस गुल्मीले विरोध प्रदर्शन गरेको जिल्ला सचिव खिलध्वज पन्थीले बताए ।




